झापा , साउन ३२ । जिल्ला कोभिड व्यवस्थापन समितिले (डीसीसीएमसी) ले उद्योगी र व्यवसायीको दबाबपछि जिल्लामा लगाइएको निषेधाज्ञा भदौ १ गतेदेखि खुकुलो बनाउने निर्णय गरेको छ ।
जिल्ला प्रशासन कार्यालय झापामा सोमबार बसेको डीसीसीएमसी बैठकले भदौ १० गते राति १२ बजेसम्मका लागि निषेधाज्ञा लम्ब्याउने निर्णय गरेको हो । निषेधाज्ञा लम्बाइए पनि जिल्लाका सबै पसल तथा बजार दुई चरणमा खुलाउने निर्णय गरेको छ ।
पहिलो चरणमा बिहान ६ बजेदेखि बिहान १० बजेसम्म खाद्यान्न, फलफूल, तरकारी, बीउविजन, दुग्धजन्य पदार्थ बिक्री वितरण गर्न पाउने र दोस्रो चरणमा कपडा, हार्डवेयर, होटेल लगायतका अन्य सबै प्रकारका पसलहरू बिहान १० बजेदेखि बेलुका ६ बजेसम्म खुला गर्न पाउने निर्णय गरिएको झापाका प्रमुख जिल्ला अधिकारी श्रवणकुमार तिमिल्सिनाले जानकारी दिए ।
पसलहरूले स्वास्थ्य सुरक्षाको मापदण्ड अपनाएर मात्र पसल खोल्नु पर्ने हुन्छ । अनुगमनमा जाँदा मापदण्ड फेला नपरेको खण्डमा कारबाही गरिने उनले बताए । त्यस्तै सवारी साधनको हकमा सबै यातायात खुलाउने निर्णय गरिएको जनाइएको छ ।