बिर्तामोड, साउन ३२ । झापाको बिर्तामोडमा रहेको पूर्वाञ्चल क्यान्सर अस्पतालले १० हजार महिलाको पाठेघर क्यान्सरको निशुल्क परीक्षण गरिदिने लक्ष्य लिएको छ ।

पहिलो चरणमा एक हजार महिलाको परीक्षण गरिने भएको हो ।अस्पतालका सिइओ डा. निराजन प्रसाईले सोमबार आयोजित पत्रकार भेटघाटमा उक्त जानकारी गराउँदै निशूल्क परीक्षणसँगै १ लाखबराबरको उपचार खर्च पनि व्यहोर्ने बताए । महिलाको पाठेघरमा क्यान्सर रोगको जोखिम अत्यधिक भएको भन्दै स्वास्थ्यको पहुँच नपुगेका महिलाको चेतना बढाउन पनि अस्पतालले निशूल्क परीक्षण गर्न लागेको बताए ।सोही अस्पतालले १ हजार गरिब परिवारको स्वास्थ्य बिमा गराउने योजना पनि अघि सारेको उनले बताए ।

दुवै योजनालाई कोरोना संक्रमणको महामारीलाई मध्यनजर गर्दै सुरुवाती क्रममा थोरैबाट सुरु गरिने भएको छ ।महिलामा पाठेघर क्यान्सर, स्तन क्यान्सर र अण्डादानी क्यान्सरको स्थिति भयावह बन्दै गएको उल्लेख गर्दै डा. प्रसाईले अस्पतालको सामाजिक उत्तरदायित्वअन्तर्गत दुवै योजना अघि सारिएको बताए ।उनले क्यान्सर रोगबारे पश्चिम दार्चुला, रुकुमबाट सेवाग्राही आउने गरेको तर स्थानीयले वास्ता नगरेकोप्रति चिन्ता व्यक्त गरे । समस्या सिर्जना भएपछि मात्र अस्पताल जाने परम्पराको अन्त्य गर्न चेतनाको स्तर बढाउन जरुरी देखिएको उनको भनाइ थियो ।उनले भदौ ६ गतेदेखि निशुल्क ओपीडी सञ्चालनसँगै २५ प्रतिशत छुटमा स्वास्थ्य सेवा उपलब्ध गराउने पनि जानकारी गराए । क्यान्सर पीडितलाई मध्यनजर गर्दै आउँदो सातादेखि अन्को फुड सर्भिस सुरु गर्ने योजना पनि सुनाए ।

यसैबीच, अस्पतालले क्यान्सर रोग उपचारका लागि दुई जना सर्जन चिकित्सक थप गरेको जनाएको छ । भरतपुर क्यान्सर अस्पतालमा १२ वर्षदेखि सर्जनका रुपमा कार्यरत डा. मुक्ति देवकोटा र क्यान्सर रोगकै नाक, कान र घाँटीका सर्जन डा. बजरंग शाह पूर्वाञ्चल क्यान्सर अस्पतालमा जोडिएका हुन् ।अब सबै प्रकारको क्यान्सरको सर्जरी यहीबाट हुने डा. देवकोटाले बताए । उनले भने, ‘छातीदेखि पेटसम्मको यही अप्रेसन हुन्छ, भरतपुर जानु पर्दैन ।’यसैगरी डा. शाहले नाक, कान र घाँटी सम्वेदनशील अंग भएकाले यसलाई छुट्टै विभागको रुपमा छुट्याएर उपचार सुरु गरिएको सुनाए । यहाँ नेपालमै पहिलोपटक फ्रिफ्लाप्स सर्जरी हुने दाबी पनि उनको छ ।अस्पतालका मेडिकल डाइरेक्टर डा. वीरेन्द्र यादवले पूर्वाञ्चल क्यान्सर अस्पतालको नारा मुस्कुराउँछ नयाँ जीवन भनेझैँ अब टिमले काम गरिरहेको भन्दै खुसी व्यक्त गरे ।बर्षेनि ३० देखि ४० हजार क्यान्सरका बिरामी बढेको भन्दै पाठेघर र स्तन क्यान्सर बढी भएको सुनाए । केही अस्पतालले बिना सिटीस्क्यान नै क्यान्सरको अप्रेसन गरिरहेको सुनाउँदै क्यान्सरको उपचार क्यान्सरकै हस्पिटलमा हुनुपर्नेमा जोड दिए ।उनले भने, ‘कि छुँदै नछुनु, छोएपछि अप्रेसन गर्नु भन्ने भनाइलाई अस्पतालले आत्मसात गरेको छ ।’विपन्न नागरिक कोष सञ्चालन गरिसकेको अस्पतालले ५४० जनालाई सेवा दिइसकेको अस्पतालका जनसम्पर्क अधिकारी प्रमिश गिरीले जानकारी दिए ।यसअघि ३०० जनाको स्वास्थ्य बिमा गरिएको बताउँदै उनले पहिलोपल्ट अर्जुनधाराबाट छनोट गरिएका ५० जना विपन्नलाई सेवा दिन लागिएको जानकारी दिए ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्