बिर्तामोड ,भदौ २ । नेपाल प्रेस युनियन झापा शाखाले रमादेवी–टंकप्रसाद पाठक स्मृति पत्रकारिता पुरस्कार स्थापना गरेको छ ।

झापा बिर्तामोड–४ निवासी रमादेवी–टंकप्रसाद पाठकको स्मृतिमा उनका छोरी–ज्वाई टीकादेवी–कृष्णप्रसाद संग्रौलाले पुरस्कार स्थापनाका लागि एकलाख रुपैयाँको अक्षयकोष स्थापना गरिदिएका हुन् । यसअघि पाठक दम्पतीका छोराबुहारी यज्ञप्रसाद–सकुन्तला पाठकले एकलाखको अक्षयकोष स्थापना गरेका थिए ।
बिर्तामोडमा आयोजित एक समारोहका बीच अक्षयकोषको रकम हस्तान्तरण गर्दै दाता कृष्णप्रसाद संग्रौलाले आफ्ना सासु–ससुरासँग जीवनभर अत्यन्तै नजिक रहेको स्मरण गर्दै हरेक सामाजिक तथा पारिवारिक काममा सहकार्य हुने गरेको स्मरण गरे । कार्यक्रममा नेपाल प्रेस युनियनका पूर्व केन्द्रीय सदस्य कृष्ण हुमागाई, नेपाल पत्रकार महासंघ झापा शाखाका उपाध्यक्ष केशव भट्टराईलगायतले शुभकामना मन्तब्य राखेका थिए । वक्ताहरुले पाठक परिवार नेपाली पत्रकारितामा परिचित नाम भएको उल्लेख गर्दै पुरस्कारले पत्रकारहरुलाई प्रोत्साहन मिल्ने बताए ।
जीवनभर गरेको सामाजिक योगदानका आधारमा मृत्युपछि पनि मानिस स्मरणीय रहने उल्लेख गर्दै वक्ताहरुले पाठक दम्पत्तीलाई सदास्मरणीय राख्न उनका सन्ततीहरुले गरेको योगदानको चर्चा गरे ।
नेपाल प्रेस युनियन झापा अध्यक्ष इन्दु पूर्वेलीको अध्यक्षतामा सम्पन्न कार्यक्रमको सञ्चालन ओमप्रकाश भट्टराईले गरेका थिए । कार्यक्रममा नेपाल पत्रकार महासंघ झापा शाखा महिला उपाध्यक्ष सुशिला संग्रौला, रिपोर्टर्स क्लब नेपालका अध्यक्ष शेखर सेढाई, पत्रकारहरु लक्ष्मी लुइटेल, रेजिना गौतमलगायतको उपस्थिति रहेको थियो ।
अक्षयकोषको ब्याजबाट प्राप्त रकमबाट प्रत्येक बर्ष एकजना पत्रकारलाई पुरस्कृत गरिने प्रेस युनियन झापाका उपाध्यक्ष गिरिराज भट्टराईले जानकारी दिए । अक्षयकोष सञ्चालन कार्यविधि तयार भइसकेको र सोही कार्यविधि अनुसार पुरस्कार छनौट समितिले प्रतिभा छनौट गर्ने एवं प्रत्येक वर्ष प्रेस युनियनको स्थापना दिवसको सन्दर्भ पारेर उक्त पुरस्कार प्रदान गरिने युनियनका सचिव डिल्लीराम घोर्साईले बताए ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्