भद्रपुर, भदौ ३ । प्रस्तावित बाह्रदशी जेसीजले बन्दाबन्दीका कारण अभावमा परेका अपाङ्गता भएका बाह्रदशीका अतिविपन्न नागरिकलाई १० बोरा चामल र २ बोरा दाल सहयोग गरेको छ ।

बन्दाबन्दीले भोकमरीमा परेका ५० जना अपाङ्गता भएका व्यक्तिको तत्काल गाँस जुटाउन जेसीजले हाम्रो बाह्रदशी अपाङ्गता अभियानका संयोजक सन्तोष सुवेदीलाई दाल र चामल हस्तान्तरण गरेको हो ।
प्रस्तावित बाह्रदशी जेसीजका अध्यक्ष विगम श्रेष्ठको अध्यक्षता तथा बाह्रदशी गाउँपालिकाका वडा नं ६ का सदस्य पुण्यप्रसाद पाठकको प्रमुख आतिथ्यमा खाद्यान्न हस्तान्तरण गरिएको थियो ।
करिव ५ सय हाराहारीमा अपाङ्गता भएका नागरिक रहेको बाह्रदशीमा अतिविपन्नता भएका ५० जना जति रहेको बताउँदै हाम्रो बाह्रदशी अपाङ्गता अभियानका संयोजक सुवेदीले खाद्यान्नसँगै स्वास्थ्य सुरक्षा जोखिम व्यहोरिरहेको जानकारी दिए । कार्यक्रम संयोजक लक्ष्मीप्रसाद उप्रेतीले धन्यवाद दिएको कार्यक्रमको औचित्यमाथि कार्यकारी उपाध्यक्ष टंकबहादुर कार्कीले प्रकाश पारेका थिए भने कार्यक्रममा स्वागत कार्यकारी उपाध्यक्ष पुष्पलाल धमला र सञ्चालन महासचिव तीर्थराज काफ्लेले गरेका थिए ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्