भद्रपुर, भदौ ४ । एक दशकयता निर्माण थालनी भएर बाह्रदशी ६ स्थित हाम्रो बाह्रदशी अपाङ्गता अभियानको सामुदायिक भवन आर्थिक अभावले आधामा रोकिएको छ ।

बाह्रदशी गाउँपालिका क्षेत्रका पाँच सय अपाङ्गता भएका नागरिकहरूको चौतर्फी विकासका लागि कार्यक्रम सञ्चालन गर्न देउसी भैलो खेलेर रकम जुटाउँदै २०६८ सालबाट निर्माण थालिएको थियो । आवश्यक रकम जुटाउन नसकेपछि आधा काममा सो भवन अलपत्र परेको हो ।

हाम्रो बाह्रदशी अपाङ्गता अभियानका अध्यक्ष सन्तोष सुवेदीका अनुसार संस्थाका सदस्यहरूको पहलमा करिव ८ लाख खर्चेर जग उठाउन र चारैतिर पर्खाल लगाउन सकिएको भए पनि छत ढलान गरी प्रयोजनमा ल्याउन सक्ने वातावरण निर्माण हुन नसक्दा पर्खालमा झार र लेउले भरिएको अवस्था छ । अधुरो भवन निर्माण सम्पन्न गर्न अब सात लाख रुपैयाँ खर्च हुने जानकारी दिँदै अध्यक्ष सुवेदीले रकमको श्रोत नभएको दुखेसो पोखे ।

बाह्रदशी क्षेत्रमा अपाङ्गता भएका व्यक्तिका लागि सहज हुने कुनै सामुदायिक भवन नहुँदा क्षमता विकास कार्यक्रम गर्न सकिएको छैन । स्थानीय सरकारदेखि संघीय सरकारसम्म सहयोगको याचना गरिए पनि भवन निर्माणका लागि रकम जुटाउन नसकिएको भन्दै सुवेदीले सहयोगी दाताको खोजी गरिरहेको सुनाए । एउटा सचिवालयको कोठा र एक अपाङ्गतामैत्री सभाहल रहने भवन निर्माणका क्रममा तत्कालीन घैलाडुब्बा गाविसबाट ५० हजार र शान्ति तथा पुनर्निर्माण मन्त्रालयबाट एक लाख गरी एक लाख ५० हजार सरकारी सहयोग पाएपनि त्यसयता भवन निर्माणलाई सहयोग पुग्ने रकम नपाएको हाम्रो बाह्रदशी अपाङ्गता अभियानका सदस्यहरूको भनाइ छ । हरेक वर्ष देउसी खेलेर आधा काम भए पनि दश वर्षमा पनि पूरा गर्न नसकिएको उनीहरूको भनाइ छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्