बिर्तामोड , भदौ ४ । मेची आँखा अस्पताल अगाडिको एक होटलमा व्यक्तिगत गोपनियता भंग हुनेगरी र चरित्र हत्या गर्नेगरी आतंक सिर्जना गर्ने युटुबरसहित ६ जनामाथि उजुरी परेको छ ।

उजुरी पर्नेमा प्रहरी र युटुबर बोलाएर आतंक गर्ने होटल जंगल भ्यू चारआलीका संचालक हेमराज भट्टराई , सोही ठाउँका स्नुकर पूल संचालक सुवास कार्की , अनलाइन टेलिभिजन संघ झापाका अध्यक्ष खगेन्द्र घिमिरे , क्यामेरामेन भाष्कर श्रेष्ठ , टीकटकमा हाल्ने कल्पना थापा बस्नेत र चन्दा प्रसाई पोखरेल रहेका छन् ।

मंगलबार साँझ दुई महिला र एक पुरुषले होटलमा खाजा खाइरहेका बेला भिडियो खिचेर ती युटुबरले आतंक गरेका थिए । चारआलीका ती महिलाहरुले अरु कुनै अनैतिक काम नगरी आफ्ना मानिससँग खाजा खाइरहेको आग्रह गरेपनि दादागिरी शैलीमा ती युटुबरले भिडियो खिचेर युटुबमा हालेका थिए । आफ्नो चरित्र हत्या गरेको भन्दै पीडित दुई महिला र ती पुरुषले संयुक्तरुपमा उजुरी दिएका हुन् । अभद्र व्यवहार सम्बन्धी उजुरी परेको र उजुरी परेकालाई पक्राउ गर्न प्रहरी खटाइएको इलाका प्रहरी कार्यालय बिर्तामोडका प्रमुख प्रहरी नायव उपरीक्षक सन्तोष आचार्यले बताए ।

पीडितहरुले निवेदनमा आफूहरुको इज्जत प्रतिष्ठा हनन् हुनेगरी आफूहरुलाई गालीगलौज र अपशब्द बोल्दै हातपात गरी जवर्जस्ती भिडियो खिची आफूहरुको इच्छाविपरित गलत मनसायले उक्त भिडियो सामाजिक संजालमार्फत युटुबमा लाइभ प्रसारण गराइ टीकटक प्रयोगकर्ता कल्पना थापा बस्नेत र चन्दा प्रसाई पोखरेलसमेतले सामाजिक संजालमा राखेर व्यक्तिगत जीवनमा आँच आउने गरी चरित्र हत्या गरेकाले २०७४ को दफा ११८ बमोजिम हदैसम्मको कार्वाहीको माग गरेका छन् ।
त्यस घटनाको सर्बत्र बिरोध भएको छ । पत्रकारको खोल ओढेर त्यस्ता युटुबरहरुले केही दिनदेखि झापामा पनि आतंक सिर्जना गर्न खोजेका छन् ।
ती युटुबरलाई कार्वाही गराउनका लागि आफूहरु पनि सहयोग गर्न तयार रहेको राष्ट्रिय प्रजातन्त्र पार्टीकी बिर्तामोड अध्यक्ष रन्जु प्याकुरेलले बताइन् । उनले भनिन्– त्यस्ता युटुबरलाई कार्वाही हुनैपर्छ ।

मानव अधिकार संजाल झापाका महासचिव रुपक खनालले झापामा युटुवेहरुलाई पत्रकार महासंघले कारवाही नगरे पत्रकार महासंघको भोलिका दिनमा अस्तित्व खोज्नु पर्ने अबस्था आउने बताएका छन् ।

१ प्रतिक्रिया

  1. मिडियालाई यस्तो अधिकार कस्ले दियो ? कसैको निजी जीवनलाई हस्तक्षेप गरेर अनुमती बिना सामाजिक संजालमा ल्याउनेलाई कडा कारबाही गर्नुपर्छ । नियमकानुन मिचेर कसैको व्यक्तिगत जीवनलाई सामाजिक सन्जालमा ल्याउने अपराधीलाई कडा भन्दा कडा कारवाही होस् ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्