अर्जुनधारा , भदौ ४ । बिर्तामोडको बिएन्डसी हस्पिटलले अर्जुनधारा १ सिस्नेस्थित सिंहदेवी माध्यमिक विद्यालयमा २ करोड रुपैयाँको भवन बनाइदिने भएको छ ।

सो भवनको शुक्रबार विद्यालय परिसरमा शिलान्यास गरिएको छ ।अस्पतालका अध्यक्ष इन्दिरा गिरी र कार्यकारी निर्देशक दुर्गा प्रसाईंले संयुक्तरुपमा भूमिपूजन गरेर भवनको शिलान्यास गरे । सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर विकास गर्ने उद्देश्यले बिएन्डसीले सामाजिक उत्तरदायित्वलाई वहन गर्दै उक्त कार्य गर्न लागेको अस्पतालका कार्यकारी निर्देशक प्रसाईंले बताए ।
दुई करोड रुपैयाँको लागतमा दुईतले भवनसँगै सुविधायुक्त खानेपानी ट्याङकी पनि निर्माण हुने विद्यालयका प्रधानाध्यापक लक्ष्मी रिजालले जानकारी दिए । भवनमा ८ वटा कक्षा कोठा रहनेछ भने विद्यालयको तर्फबाट माथिल्लो तलामा साइन्स ल्यावका लागि प्रस्ताव गरिएको प्रअ रिजालले बताए । विद्यालय भवन निर्माणको योजना सात महिनाभित्र सम्पन्न गरी विद्यालयलाई हस्तान्तरण गर्ने लक्ष्य रहेको अस्पतालका जनसम्पर्क अधिकृत प्रमिश गिरीले जानकारी दिए । कार्यक्रममा विद्यालयको तर्फबाट अस्पतालका अध्यक्ष गिरी र कार्यकारी निर्देशक प्रसाईं तथा भवन निर्माणका लागि थप जग्गा निःशुल्क उपलब्ध गराउने जग्गादाता रानीशोभा राईलाई सम्मान गरिएको थियो ।
केही समय जग्गादाता राईको प्रशंसामा खर्च गरेका कार्यकारी निर्देशक प्रसाईंले उनको स्वास्थ्योपचार आजीवन निःशुल्क गर्ने घोषणा पनि गरे ।
सुगम नगरपालिकाको दुर्गम क्षेत्रको रुपमा परिचित सिस्नेमा निजी क्षेत्रबाट गरिएको सो हालसम्मकै ठूलो सहयोग भन्दै वडाध्यक्ष गजाधर खतिवडा, शंकराचार्य पीठ साधुटारका व्यासाचार्य लक्ष्मीप्रसाद खतिवडा, हचुमासा सामुदायिक वन उपभोक्ता समूहका अध्यक्ष युवराज लोहारलगायतले दाताको प्रशंसा गरेका थिए ।विद्यालय व्यवस्थापन समितिका अध्यक्ष विष्णुलाल ढकालको अध्यक्षतामा आयोजित कार्यक्रममा स्वागत प्रधानाध्यापक रिजालले गरेका थिए भने सञ्चालन शिक्षक भेषराज खनालले गरेका थिए ।
२०१६ सालमा स्थापना भएको उक्त विद्यालयमा अर्जुनधारा–१ सँगै छिमेकी जिल्ला इलामको दक्षिणी क्षेत्रमा रहेको रोङ गाँउपालिकाका केही वडाका विद्यार्थीहरु अध्ययनका लागि आउने गरेका छन् । विद्यालयको तथ्याङ्क अनुसार हाल कक्षा १ देखि कक्षा १२ सम्म ८८५ जना विद्यार्थी अध्ययनरत् छन् ।गत वर्ष बिएन्डसीकै सहयोगमा बिर्तामोडको मोहनमाया माविमा निर्माण शुरु गरिएको ३ करोडबराबरको भवन अन्तिम चरणमा पुगेको छ ।