झापा , भदौ ५ । झापाको बिर्तामोडमा निर्माणाधीन बहुजाति बहुभाषिक बहुसाँस्कृतिक संग्रहालयसहितको झापा नाटकघर निर्माणका लागि झापाली समाज युएईले सहयोग गरेको छ ।

झापा नाटकघरका लागि आवश्यक जमिन खरिद गर्न संस्थाले सञ्चालन गरेको एक धुर जमिन खरिद अभियानका लागि झापाली समाज युएईले एक लाख एक हजार रुपैयाँ सहयोग गरेको हो । झापाली समाज युएई नेपाल सम्पर्क समितिका अध्यक्ष दुर्गाप्रसाद सापकोटाको अध्यक्षता तथा कनकाई नगरपालिकाका नगर प्रमुख राजेन्द्रकुमार पोखरेलको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा नेपाल सम्पर्क समितिका प्रवक्ता गोपी रिजालले स्वागत गरेका थिए ।
कार्यक्रममा झापाली समाज युएईका अध्यक्ष दुर्योधन कार्की र नेपाल सम्पर्क समितिका अध्यक्ष सापकोटाले झापा नाटकघर निर्माण व्यवस्थापन समितिका सचिव माधव कल्पित, वरिष्ठ उपाध्यक्ष हरिप्रसाद भण्डारी, ध्रवकुमार शिवाकोटीलगायतलाई उक्त रकम हस्तान्तरण गरेका थिए । एक धुर जमिन खरिद गर्न सहयोग संकलन अभियान शुरु गरी रकम संकलन गरेको अभियानका सचिव, झापाली समाज युएईका संख्यापक परिकल्पनाकार तथा अन्तर्राष्ट्रिय झापाली समाजका सचिव रामप्रसाद ढुङ्गेलले बताए ।
कल्पितले झापाको बिर्तामोड नगरपालिका– १ मा निर्माणाधीन बहुजातीय संग्रहालय तथा झापाली नाटकघर प्रदेश नम्बर १ कै ऐतिहासिक तथा साँस्कृतिक धरोहरको रूपमा रहेको र कला साहित्यको संरक्षण सम्बद्र्धन गर्नु हामी सबैको सामाजिक दायित्व भएकाले झापाली समाज युएईले गरेको कार्यको प्रशंसा गरेका थिए ।
सोही कार्यक्रममा माया भण्डारी भट्टराई, भूमि अधिकारी, माइनसप्लस संग्रौला, देवेन्द्र निरौला, दिवाकर भट्टराईलगायतले नाटकघरलाई आर्थिक सहयोग गरेका थिए । त्यस्तै नाटकघरका लागि सहयोग गर्ने दातालाई प्रशंसापत्र प्रदान गरिएको कार्यक्रमको सञ्चालन नेपाल सम्पर्क समितिका सचिव मणि सुवेदीले गरेका थिए ।



