झापा , भदौ ६ । झापाका स्थानीय तहमा सबैभन्दा बढी बेरुजु कचनकवल गाउँपालिका र सबैभन्दा कम बेरुजु शिवसताक्षी नगरपालिकामा देखिएको छ ।
महालेखा परीक्षकको कार्यालय काठमाडौंले सार्वजनिक गरेको ५८ औं वार्षिक प्रतिवेदन अनुसार कचनकवल गाउँपालिकामा ६ दशमलव ०६ प्रतिशत वेरूजु देखिएको छ ।
कचनकवलको कुल लेखा परीक्षण १ अर्ब १९ करोड ४३ लाख ९५ हजार रुपैयाँको ६ दशमलव ०६ प्रतिशत रकम अर्थात ७ करोड २३ लाख २१ हजार रूपैयाँ बेरुजु देखिएको छ ।
त्यसैगरी शिवसताक्षी नगरपालिकाको सबैभन्दा कम बेरुजु देखिएको छ । प्रतिवेदनले शिवसताक्षीको ०.०६ प्रतिशत अर्थात ११ लाख ७७ हजार रुपैयाँ मात्र बेरुजु देखिएको छ ।
लेखा परीक्षण गरिएको कुल रकम १ अर्ब ९० करोड ५३ लाख ६८ हजारमध्ये ०.०६ प्रतिशत बेरुजु देखिएको छ ।

गौरीगञ्ज गाउँपालिकाको १ करोड १५ लाख ६ हजार रुपैयाँ बेरुजु देखिएको छ । लेखा परीक्षण गरिएको कुल रकम ९९ करोड ४३ लाख १ हजारको १.१६ प्रतिशत रकम बेरुजु देखिएको हो । गत आर्थिक वर्षमा गौरीगञ्जको बेरुजु २.०९ प्रतिशत अर्थात १ करोड ७८ लाख ६६ हजार रूपैयाँ थियो ।
त्यस्तै मेचीनगर नगरपालिकाको बेरूजु प्रतिशत २ दशमलव २७ प्रतिशत, भद्रपुर नगरपालिकाको ४ दशमलव २३ प्रतिशत, दमक नगरपालिकाको १ दशमलव ०९ प्रतिशत, कनकाईको १ दशमलव ३४ प्रतिशत, अर्जुनधाराको २ दशमलव ९० प्रतिशत, गौरादहको १ दशमलव ४६ प्रतिशत, झापाको शून्य दशमलव ६० प्रतिशत, हल्दीबारीको २ दशमलव ५९ प्रतिशत, बाह्रदशीको १ दशमलव ६६ प्रतिशत, बुद्धशान्तिको २ दशमलव २० प्रतिशत, कमल गाउँपालिकाको ० दशमलव ०८ प्रतिशत रहेको छ ।