झापा , भदौ ७ । मनसुन थप सक्रिय भएकाले यो हप्ता देशका धेरै ठाउँमा बाढी पहिरोको जोखिम रहेको मौसमविद्ले बताएका छन् ।

यसपालिको मनसुनमा औसतभन्दा धेरै वर्षा भइसकेको छ । यसअघि नै धेरै ठाउँमा जमिन गल्नेगरी पानी परिसकेकाले अब हुने वर्षाले थप जोखिम निम्त्याउने मौसमविद् वरुण पौडेलले जानकारी दिए । उनका अनुसार यो हप्ताभरि नै बाढी पहिरोको जोखिम उच्च छ ।
गएरातिदेखि नै काठमाण्डौ उपत्यकासहित वाग्मती प्रदेशका धेरै ठाउँमा पानी परिरहेको छ । यस्तै, प्रदेश–१, प्रदेश–२, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका तराई क्षेत्रमा पानी परिरहेको मौसमविद् पौडेलले जानकारी दिए । उनका अनुसार दिउँसो केहीबेर पानी पर्न रोकिने छ । तर, बेलुकापखदेखि फेरि पानी पर्ने सम्भावना छ ।
भोलि पनि मौसम यस्तै रहने छ । पर्सि र बिहीवार भने देशभर नै लगातारजसो झरी पर्ने सम्भावना रहेको मौसमविद् वरुण पौडेलले बताए । पहाडी क्षेत्रमा भूक्षय, पहिरो तथा गेग्रानसहितको बहावको जोखिम रहेकाले नदीनाला र खहरे खोलामा पानीको सतह बढ्न सक्ने भएकाले आवश्यक सतर्कता अपनाउन अनुरोध गरिएको छ । बङ्गालको खाडीबाट आएको जलवाष्पयुक्त हावाको प्रभावका कारण मनसुनी गतिविधि थप सक्रिय भएको मौसमविद्ले बताएका छन् ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्