कमल, भदौ ७ । दमक नगरपालिकाले छिमेकी कमल गाउँपालिकालाई समेटेर उपमहानगरपालिका बनाउन गरेको प्रस्तावप्रति कमलका सातदलीय गठबन्धनले आपत्ति जनाएको छ ।

गठबन्धनले कमलले आफै नगरपालिका बन्नका लागि आवश्यक मापदण्ड पूरा गरिसकेकाले आफ्नै अस्तित्वमा नगरपालिका निर्माण गरिनु पर्ने जनाएको छ ।
दमक नगरपालिकाको एकपक्षीय निर्णय भ्रमपूर्ण ,जालसाजीपूर्ण भएको ठहर गर्दै सातदलीय गठबन्धनले त्यस्तो निर्णय कार्यान्वयन नगर्न गाउँपालिकालाई अनुरोध गरेको छ । गठबन्धनका दलहरुको बैठकपछि सोमबार जारी संयुक्त विज्ञप्तिमा भनिएको छ, –‘कमल आफै नगरपालिका स्तरोन्नतिका लागि सामथ्र्य रहेकाले त्यसैअनुसार अघि बढ्न गाउँपालिकासहित सबै राजनीतिक दल ,आमनागरिक समाजसंग अनुरोध गर्दछौं ’ कमलमा सत्तारुढ नेकपा एमालेबाहेकका नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र,जनता समाजवादी पार्टी,संघीय लोकतान्त्रिक राष्ट्रिय लिम्बूवान परिषद,नेकपा एकीकृत (समाजवादी ) ,राष्ट्रिय जनमुक्ति पार्टी र नेकपा (क्रान्तिकारी माओवादी ) लगायतले स्थानीय दलीय नेतृत्वको गठबन्धन निर्माण गर्दै आएका छन् ।
गठबन्धनले यसअघि नगरपालिकाले उपमहानगरपालिकाको प्रस्तावित निर्णय खारेजी गर्न गाउँपालिकासहित प्रदेश तथा संघीय सरकारसंग अनुरोध गर्ने समेत निर्णय गरेको कांग्रेस कमलका सभापति खगेन भण्डारीले बताए ।
यसअघि नेकपा एमाले र राष्ट्रिय प्रजातन्त्र पार्टीले पनि उपमहानगरपालिकाको प्रस्ताव थाहै नदिई सहअस्तित्वमा रहेको स्थानीय सरकारलाई बेवास्ता गरेको भन्दै उक्त प्रस्तावप्रति असहमति जनाएका थिए ।

यसैबीच कमल गाउँपालिकालाई नगरपालिका बनाउन गाउँँपालिकाले आवश्यक प्रक्रिया अघि बढाएको छ ।
नगरपालिकाका लागि आवश्यक मापदण्ड पुगेको भन्दैं नगरपालिका स्तरोन्नति गर्नका लागि १ नम्बर प्रदेश सरकारसमक्ष सिफारिसका लागि पत्राचार गरिएको गाउँपालिकाले जनाएको छ ।
कमललाई दमकमा समावेश गरी दमक उपमहानगरपालिका बनाउने प्रस्ताव अघि सारिएपछि पालिकाले भने आपैm नगरपालिका बनाउनका लागि प्रक्रिया अघि बढाएको हो ।
गाउँपालिकाकी अध्यक्ष मेनुका काफ्लेले २०७८ असार ११ गते सम्पन्न गाउँपालिकाको बैठकले यसअघि नै सरकारले नगरपालिका घोषणा भई पुनः गाउँपालिका कायम भएको र अहिले नगरपालिकाका लागि आवश्यक मापदण्ड पूरा भएकाले त्यसैअनुसार नगरपालिका स्तरोन्नतिका लागि माग गर्ने निर्णय गरिएको बताईन् । स्थानीय सरकार सञ्चालन ऐन २०७४ को ८ दफा (१ ) बमोजिम यस पालिकालाई नगरपालिका स्तरोन्नतिका लागि गाउँसभाको निर्णय अनुसार प्रदेश सरकारसंग सिफारिसका लागि अनुरोध गरिएको उनले बताईन् ।
गाउँपालिकाले नगरपालिका निर्माणका लागि प्रदेश सरकारसंग सोमबार गरिएको सिफारिस पत्रमा भनिएको छ,–‘ यो गाउँँपालिका यस अगावै नगरपालिका घोषणा भई पुनः गाउँपालिका कायम भएको र गाउँपालिका स्वयं नगरपालिका बन्नका लागि जनसंख्यासहितका अन्य पूर्वाधार पर्याप्त भएकाले नगरपालिका स्तरोन्नतिका लागि प्रदेश सरकारमार्फत संघीय सरकारसंग अनुरोध गर्दछौं ।’
यसअघि दमक नगरपालिकाले गत साउन २८ गते सम्पन्न ९६ औ बैठकले नगरपालिकासंग जोडिएको कमललाई दमकमा नै समावेश गरी दमक उपमहानगरपालिका बनाउने निर्णय गरेको थियो ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्