बरतलाल राजवंशी,
कुमरखोद , भदौं १० । वत्तीमुनिको अँध्यारो भनेझैँ झापा गाउँपालिकामा एनसेल कम्पनीले पाँचवटा ठूल्ठूला टावरहरु राखेको छ तर, कामै नलाग्ने ।

फोन लाग्छ हेलो हेलो भनेपछि आफै एकछिनमा काटिन्छ । फेरि फोन लगायो, एकजनाले बोलेको अर्को व्यक्तिले आवाज नै सुन्दैनन् । आवाज पनि भ्यागुताले कराएझैँ ट्यारटुर मात्रै सुनिन्छ । एस्जिटा कम्पनी एनसेलले दावी गर्छ– ‘हामीले ग्रामीण भेगमा थ्रिजी र फोरजी सेवाहरु उपलब्ध गराएका छौं ।’ तर, झापा गाउँपालिकाको अधिकांश भूभागमा इन्टरनेटको ‘ई’ र ‘एच’ चिन्ह देखाएपनि ईन्टरनेट चल्दैन । आफैआफै डाटा कट्ने गर्छ भने टावर भएको छेउछाउको घरमा मात्र नेटवर्कले काम गर्ने र ईन्टरनेट चल्ने गर्छ । एनसेलले झापा गाउँपालिकामा राखेका पाँचवटा टावरहरु वडा नं १ को सितुमारी, वडा नं २ को झापा बजार , वडा नं ५ को पंथापाडा , वडा नं ६ को शरणामती र वडा नं ७ को मदरगाछीमा रहेका छन् । टावर भएर पनि नेटवर्क नआउने भएपछि अधिकाँश सेवाग्राहीले गुनासो पोख्ने गरेका छन् ।
वडा नं २ कुवाडीका ज्ञाननाथ उप्रेती एनसेलप्रति ठूलो गुनासो पोख्छन् । उनका अनुसार घरदेखि साढे ३ किलोमिटर टाढा रहेको एनसेल टावरले नेटवर्क नै देखाउँदैन । ‘कहिलेकाहीँ गाउँमा कोही विरामी पर्यो भने एम्वुलेन्स बोलाउनु पर्दा नेटवर्क नै आउँदैन’उनले भने,‘कहिलेकाहीँ ठूलो समस्या नै आईपर्छ ।’ त्यसैगरी वडा नं १ लसुनाका घनश्याम राजवंशी भन्छन् – ‘आप्mनै वडामा ३ किमी टाढा एनसेलको टावर छ तर नेटवर्क राम्ररी आउँदैन फोन गर्नलाई यताउती खोज्नु पर्छ। इन्टरनेटको कुरै नगरौं ।’ त्यसैगरी वडा नं ४ नयाँवस्तीका समसाद आलम प्रश्न गर्छन् – ‘झापा बजारको एनसेलको टावरदेखि हाम्रो गाउँ २ किमी टाढा छ तर फोन नै राम्ररी लाग्दैन, कस्तो खालको एनसेलको टावर हो ?’ झापा गाउँपालिकाको सदरमुकाम रहेको कामाटोली बजारमा पनि एनसेलको टावरले राम्ररी काम नगरेको वडाध्यक्ष मोतीलाल गणेशले बताए ।
वडा नं १,२, ३ र ४ अधिकाँश मानिसहरु सीम बेच्नेसँग गुनासो पोख्ने गर्दछन् । झापा गाउँपालिकामा ८० प्रतिशत मानिसहरु एनसेलको सीम प्रयोग गरेको पाइन्छ । शुरुको अवस्थामा एनसेलको नेटवर्कले राम्रो काम गरेपछि अधिकाँश मानिसहरु एनसेलको ग्राहक बनेका थिए । ईन्टरनेट सुविधा नभएपछि अधिकाश विधार्थीहरुले अनलाईन कक्षा पढ्न पाएका छैनन् ।