झापा , भदौ ११ । नेपाली कांग्रेसका उपसभापति विमलेन्द्र निधिले आगामी निर्वाचनपछि नेपाली कांग्रेसलाई पहिलो पार्टी बनाउन १४ औँ महाधिवेशनमा सभापतिको उम्मेद्वारी दिने बताएका छन् ।

सभापति पदका लागि उम्मेदवारी घोषणा गरेका उपसभापति निधिले शुक्रबार नयाँ बानेश्वरस्थित बानेश्वर बैंक्वेटमा सम्पर्क कार्यालयको उद्घाटन गर्दै आगामी निर्वाचनमा तीनवटै तहमा नेपाली कांग्रेसलाई बहुमत प्राप्त गराउन आफूले सभापतिमा उम्मेदवारी दिन लागेको स्पस्ट पारेका हुन् ।
उनले आफूले कसैलाई पराजित गर्न र कसैलाई असक्षम घोषित गर्नका लागि सभापतिको उम्मेदवार बन्न नखोजेको पनि स्पष्ट पारे । आफू कसैलाई रिटायर्ड गराउनका लागि सभापतिको उम्मेदवार नभएको उल्लेख गर्दै उनले कांग्रेसलाई मजबुत बनाउँदै रुख छापलाई हिमाल, पहाड, मधेशमा स्थापित गराउन र मतदाता र जनतासँग जोड्न आफ्नो उम्मेदवारी रहेको बताए।
उनले भने,‘मलाई विश्वास छ, नेपाली कांग्रेसलाई आगामी एक, डेढ वर्षपछि हुने आम चुनावमा, देशको सबै तहको चुनावमा रुख छापलाई जिताउन हामी सफल हुनेछौँ। मेरो सम्पूर्ण ध्यान नेपाली कांग्रेसको सभापति हुनेमा छन्।’
निधिले नेपाली कांग्रेसको दूरदर्शिताका कारण देशमा संघीय लोकतान्त्रिक गणतन्त्र स्थापना भएको उल्लेख गर्दै वर्तमान प्रणाली र संविधानको स्वामित्व नेपाली कांग्रेसले लिनुपर्ने बताए। आफूहरु संघीयता र संविधानको सफल कार्यान्वयनको पक्षमा रहेको कुरा जनतालाई बुझाउनु आवश्यक रहेको भन्दै उनले १४ औँ महाधिवेशनबाट कांग्रेसलाई ताजा बनाएर वैचारिक रुपमा प्रष्ट र वैचारिक रुपमा प्रतिवद्ध बनाएर लैजानुपर्ने बताए।
उपसभापति निधिले कांग्रेस गुटभन्दा माथि उठ्नुपर्ने जनता तथा कार्यकर्ताको चाहना रहेको बताए ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्