दमक, भदौ १२ । दमक ६ मा मुख्य कार्यालय रहेको मेची बहुउद्देश्यीय सहकारी संस्थाले शनिबार एकैसाथ दर्जनौ व्यक्तिलाई सम्मान तथा पुरस्कृत गरेको छ ।

संस्थाले २५ औं वार्षिकोत्सव तथा २७ औं साधारणसभाका अवसर पारेर पत्रकार,सहकारी अभियन्ता,सहकारी संस्थामा योगदान पुर्याउने २१ जना अग्रजसहित एकैसाथ २५ जनालाई पुरस्कार तथा सम्मान प्रदान गरेको हो ।
कार्यक्रममा प्रेस काउन्सिलका सदस्य समेत रहेका बिर्तामोडस्थित रेडियो भिजनका सञ्चालक गणेश पोख्रेललाई सहकारी पत्रकारिता पुरस्कार प्रदान गरिएको छ । संस्थाका पूर्व स्व.गणेशप्रसाद बस्नेतको स्मृतिमा स्थापित ‘ गणेशप्रसाद बस्नेत उत्कृष्ट पत्रकारिता पुरस्कार’ बाट यस वर्ष पत्रकार पोख्रेललाई पुरस्कृत गरिएको हो । पुरस्कारको राशी रु १० हजार र सम्मानपत्र रहेको छ ।
त्यस्तै, यस वर्षको ‘गणेशप्रसाद बस्नेत उत्कृष्ट सहकारी अभियन्ता पुरस्कार’ राष्ट्रिय सहकारी बंैकका अध्यक्ष केवी उप्रेतीलाई प्रदान गरिएको छ । सहकारी क्षेत्रलाई अगुवाई गर्दैआएका उप्रेतीलाई रु ३० हजार राशीको पुरस्कार प्रदान गरिएको हो ।
यस्तै, संस्थाले सहकारी क्षेत्रमा कलम चलाउने पत्रकार मध्येबाट मोरङ पथरीका पत्रकार सन्तोष राई र सञ्चार गृहतर्फ दमकको हिमशिखर टेलिभिजनलाई समेत नगद, प्रमाणपत्रसहित पुरस्कृत गरिएको सहकारीका व्यवस्थापक खोमप्रसाद बगालेले बताए ।
संस्थाका अध्यक्ष नारायण भट्टराईको अध्यक्षता तथा प्रदेश सांसद अर्जुन राईको प्रमुख आतिथ्यमा एक कार्यक्रम गरी साधारणसभा सम्पन्न गरिएको थियो ।
नगरप्रमुख ओलीसहित २१ जनालाई सम्मान
त्यसैगरी सहकारी संस्थामा योगदान पुर्याएवापत दमक नगरपालिकाका प्रमुख रोमनाथ ओलीसहित २१ जनालाई जनही नगद १० हजार,सम्मानपत्रसहित सम्मान गरिएको थियो । यसरी सम्मानित हुनेमा लोकबहादुर अधिकारी,भवानीप्रसाद दाहाल, सिताराम खतिवडा,हरि चापागाई, गंगाप्रसाद ढकाल,झमनारायण पौडेल, ऋषिकेश चापागाई, कोमलप्रसाद प्रसाई, बालकृष्ण खनाल,रुद्रप्रसाद सुवेदी, बेदन्त ठकुरी, चुडामणि आचार्य,होमनाथ गुरागाई, पदम थापा, खगेन्द्रप्रसाद अधिकारी, काशीनाथ थपलिया, नेत्रप्रसाद खनाल, कुन्ता पौडेल, कमलप्रसाद सुवेदी,खोमप्रसाद बगाले ,टिकाकुमारी भट्टराई र दुर्गाप्रसाद भण्डारी रहेका छन् ।
तीन कर्मचारी पुरस्कृत
सहकारीमा उत्कृष्ट काम गरेवापत यस वर्ष तीनजना कर्मचारी पुरस्कृत भएका छन् । पुरस्कृत हुनेमा भेषराज थापा, शिवप्रसाद निरौला र सृजना नेपाली रहेका छन् । उनीहरुलाई जनही ५ हजार र प्रमाणपत्रसहित पुरस्कृत गरिएको थियो ।