धुलाबारी , भदौ १२ । मेचीनगर–९ का एक दम्पत्तिले शनिबार विभिन्न १७ वटा धार्मिक संस्थालाई करिब २ सयवटा प्लाष्टिकका कुर्सी हस्तान्तरण गरेको छ ।

धुलाबारी घर भई हाल अमेरिकाको टेक्सासमा बसोबास गर्दै आएका बालकृष्ण र सीता उप्रेतीले मेचीनगर–९ र १० मा रहेका धार्मिक संस्थाहरुलाई कुर्सी प्रदान गरेको कार्यक्रम संयोजक शान्ता सिटौलाले बताइन् ।
उनीहरुले आफ्ना स्वर्गीय बुवा तथा ससुराबुवा कृष्णप्रसाद उप्रेतीको ३२ औं र स्वर्गीय आमा तथा सासुआमा देवका उप्रेतीको १७ औं पुण्य तिथिको सन्दर्भ पारेर कुर्सी सहयोग गरेका हुन् ।
धुलाबारीस्थित निवासमा आयोजित कार्यक्रममा प्रमुख अतिथि त्रिफला राष्ट्रिय पुस्तकालयका संस्थापक अध्यक्ष प्रेमप्रकाश फलाहारीले एक संस्था बराबर ११ वटा कुर्सी प्रदान गरे । कार्यक्रममा स्वबोध साधना केन्द्र तथा बालआश्रम, सरस्वती कीर्तन मण्डली, सिद्धदेवी मन्दिर, बौद्ध धर्म एकीकृत गुम्बा बिहार, किराँतेश्वर माङ्हिम, दुर्गा मन्दिर, सत्यनारायण मन्दिर, सनातन धर्म सेवा समिति, काली मन्दिर, शिवालय मन्दिरलगायतले कुर्सी ग्रहण गरेका थिए ।
मेचीनगर लेडी जेसीजकी कार्यकारिणी उपाध्यक्ष सुभद्रा नेपाल, निवर्तमान अध्यक्ष तुलसा दंगाललगायतको कार्यक्रममा आतिथ्यता रहेको थियो । यसैबीच, सोही कार्यक्रममा उप्रेती दम्पत्तिबाट धुलाबारीस्थित त्रिफला राष्ट्रिय पुस्तकालयको निर्माणाधिन भवनका लागि ११ हजार १ सय ११ रुपैयाँ पुस्तकालयका संस्थापक अध्यक्ष फलाहारीलाई हस्तान्तरण गरियो ।
कार्यक्रममा प्रमुख अतिथि फलाहारी, स्वबोध साधना केन्द्र तथा सिद्धदेवी मन्दिरका अध्यक्ष बालकृष्ण थपलिया, किराँतेश्वर माङ्हिमका अध्यक्ष कविन्द्रविक्रम नेम्बाङलगायतले उप्रेती दम्पत्तिले सामाजिक तथा धार्मिक क्षेत्रमा पुर्याउँदै आएको योगदानको चर्चा गरेका थिए ।
गीता उप्रेतीको अध्यक्षतामा सम्पन्न कार्यक्रमको सञ्चालन लक्ष्मीप्रसाद उप्रेतीले गरेका थिए ।