झापा , भदौ १३ । काँकडभिट्टा नाका खुलाउने पहल भइरहँदा भद्रपुर नाका पनि खोल्नुपर्ने त्यस क्षेत्रका उद्योगी व्यवसायीहरुले माग गरेका छन् ।

कोरोना संक्रमण नियन्त्रणमा आएर सबै क्षेत्र सहज बन्दै गएका बेला अरु सीमा नाकासँगै भद्रपुर नाका पनि खोलिनु पर्ने उनीहरुको माग छ । कोरोना संक्रमणको पहिलो लहरदेखि नै भद्रपुर नाका बन्द छ । विगत १७ महिनादेखि आवतजावत समेत ठप्प बनेको भद्रपुर नाका खुलाउने विषयमा पहल नहुँदा यहाँका उद्योगी व्यवसायीले गुनासो गरेका छन् । भद्रपुरको मेची पुलबाट स्वास्थ्य सुरक्षाको मापदण्ड अपनाएर आवतजावत गर्न दिने व्यवस्था मिलाइनुपर्ने उनीहरुको माग हो ।

काँकडभिट्टा नाका खोलिनु राम्रो कुरा भएको भन्दै झापा उद्योग वाणिज्य संघका अध्यक्ष यामबहादुर श्रेष्ठले भद्रपुर नाका पनि खोलिनु पर्ने बताए । स्वास्थ्य सुरक्षाको मापदण्ड अपनाएर काँकडभिट्टा नाका खोल्ने पहल भइरहेको छ ।‘काँकडभिट्टा नाका घुमाउरो छ , आवतजावतमा खर्च बढ्छ ’उनले भने,‘काँकडभिट्टासँगै भद्रपुरको मेची पुलको नाका पनि खोलिनु पर्छ । भद्रपुर नाका बन्द हुँदा भद्रपुर क्षेत्रमा व्यापार व्यवसाय ठप्प रहेको उनले बताए ।त्यस नाकाबाट ठूलो मात्रामा कोइला आयात हुने गरेकोमा बन्द हुँदा समस्या भएको अध्यक्ष श्रेष्ठको भनाइ छ ।
त्यसैगरी कालिका टी इस्टेटका संचालक विनय गोयलले हजारौ भारतीय सवारीहरु नेपाल भित्रिरहँदा कोरोनाको खोप लगाएका व्यक्तिहरुलाई भद्रपुर नाकाबाट आवतजावत गर्ने व्यवस्था मिलाइनु पर्ने बताए । ‘नेपालका अरु सीमा नाका सहज बन्दै गएका छन् ’उनले प्रश्न गरे ,‘भद्रपुर नाका चाहिँ किन बन्दको बन्द ?’ सिमावर्ती क्षेत्रका बासिन्दाहरुले भारत जानैपर्ने बाध्यता रहेको र पुरै भारतमा सहज भइसकेकाले अब सीमा नाका खोल्दा गाह्रो नहुने गोयलको धारणा छ ।

काँकडभिट्टा नाका खोल्नुपर्ने भन्दै त्यस क्षेत्रका उद्योगी व्यवसायी, नागरिक समाज, राजनीतिक दलहरू लागिपरेका छन् । प्रमुख जिल्ला अधिकारीमार्फत उनीहरुले नाका खुलाउन केन्द्रमा ज्ञापनपत्र पठाएका छन् । नेपाल सरकारको मन्त्रिपरिषदबाट निर्णय गराएर काँकडभिट्टा नाका खोल्ने सहजीकरण भइरहेको प्रमुख जिल्ला अधिकारी श्रवणकुमार तिमिल्सिनाले बताए । उनले भद्रपुर नाका खोल्ने विषयमा भने माग नभएको र पहल पनि नभएको जानकारी दिए । सरकारले काँकडभिट्टासहित देशका ८ वटा सीमा नाका खोल्न दिने अनुमति दिएको छ । अब भद्रपुर नाका खोल्नुपर्ने माग भएमा त्यसलाई केन्द्रमा पठाउनुपर्ने प्रजिअ तिमिल्सिनाको भनाइ छ । तर, भद्रपुर क्षेत्रका व्यवसायीहरुले गत वर्षदेखि नै आफूहरुले भद्रपुर नाका खोल्नुपर्ने माग गर्दै आएको बताएका छन् ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्