मेचीनगर, भदौ १४ । काँकडभिट्टा नाकाबाट भारतीय नागरिकहरुलाई नेपाल प्रवेशमा सहज बनाइएको छ ।

भारतीय नागरिकलाई सोमबारदेखि काँकडभिट्टा नाकाबाट नेपाल प्रवेश गर्न दिन थालिएको हो । भारतीय नागरिकलाई कोरोनाविरुद्वको खोप कार्ड र पीसीआर गरेको रिपोर्टको आधारमा नेपाल प्रवेश गर्न दिन थालिएको हो ।

देशका अरु नाकाहरु सहज बन्दै गएका बेला गृह मन्त्रालयसँगको समन्वयमा काँकडभिट्टा नाकामा पनि सोमबारदेखि सहजीकरण गरिएको प्रमुख जिल्ला अधिकारी श्रवणकुमार तिमिल्सिनाले बताए । उनले काम विशेषले आउने भारतीयहरुलाई कोरोनाविरुद्धको खोप कार्ड र पीसीआर गरेको रिपोर्टको आधारमा नेपाल प्रवेश गर्न दिइएको जानकारी दिए । त्यस नाकाबाट खासगरी आँखा अस्पतालमा उपचारका लागि आउने भारतीयहरु बढी छन् ।‘पहिला पनि बिशेष कामले भारतीयहरु आउने गरेका थिए’ उनले भने ,‘ त्यसलाई आजदेखि अझ सहज बनाएका छौं ।’ आफूहरुले मागेको कागजात देखाएमा आबश्यकता अनुसार भारतीयलाई आउन दिएको उनले जानकारी दिए । कोरोना संक्रमणको अबस्थालाई हेरेर आगामी दिनमा सीमा नाका खोल्ने र अझ सहजीकरण गरिने उनको भनाई छ ।

इलाका प्रहरी कार्यालय काँकडभिट्टाका प्रमुख डीएसपी सुनिलसिंह दाहालका अनुसार सोमबारदेखि भारतीय नागरिकलाई कोरोनाविरुद्वको खोप कार्ड र पीसीआर गरेको रिपोर्ट हेरेर नेपाल प्रवेश गर्न दिन थालिएको हो ।
‘माथिबाट लिखित आदेश त आएको छैन’, डीएसपी दाहालले भने–‘तर मौखिक आदेशका कारण व्यवहारिकता हेरिदिने भनेकोले भारतीय नागरिकलाई खोप र पीसीआर गरेको कार्डको आधारमा नेपाल प्रवेश गर्न दिन थालिएको छ ।’ काँकडभिट्टा नाकामा नेपाल प्रहरी र सशस्त्र प्रहरीले आउनेजानेलाई चेकजाँच गर्ने गरेको छ ।
कोरोनाका कारण भारतीय नागरिकहरुलाई नेपाल प्रवेशमा रोक लगाईएको थियो । करिव ४ महिनापछि व्यवहारिकताका आधारमा भारतीय नागरिकहरुलाई नेपाल प्रवेशमा खुल्ला गरिएको हो ।
कोरोनाका कारण सुरुमा काँकडभिट्टा नाका पुरै ठप्प थियो । यसअघि भारतबाट आउने नेपाली र नेपालबाट भारत जाने भारतीय नागरिकहरुलाई खोप र पीसीआरका आधारमा काँकरभिट्टा नाकामा आवतजावत गर्न दिइएको थियो ।
पश्चिम बंगाल सरकारले अझै पनि नेपाली नागरिकहरुलाई भारत प्रवेशमा रोक लगाएको छ । भारतमा जागिर गर्ने नेपालीलाई मात्र प्रवेश गर्न दिएको छ ।

यसअघि मेचीनगरका अगुवा व्यवसायीहरुले पूर्वको मुख्य काँकडभिट्टा नाकालाई सहज बनाउन आग्रह गर्दै जिल्ला प्रशासन कार्यालयमार्फत प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाएका थिए ।
काँकडभिट्टा नाका सहजीकरण तथा व्यवस्थापन समितिले प्रमुख जिल्ला अधिकारी श्रवणकुमार तिमिल्सिनामार्फत प्रधानमन्त्री शेरबहादुर देउवालाई ज्ञापनपत्र बुझाएको थियो ।समितिका संयोजक एवम् होटल व्यवसायी संघ मेचीनगरका अध्यक्ष सुरेशकुमार श्रेष्ठ (गोपाल)को नेतृत्वमा गएको टोलीले प्रमुख जिल्ला अधिकारी तिमिल्सिनालाई ज्ञापनपत्र बुझाएको थियो ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्