झापामा कोरोना संक्रमण बढेको भन्दै जिल्ला प्रशासन कार्यालयले १५ वटै पालिकामा निषेधाज्ञा लगायो । त्यसको तीब्र विरोध गर्दै व्यवसायीहरुले निषेधाज्ञा खुलाए । पसल बजारसँगै यातायात पनि सुचारु भइसकेको छ । कोरोना संक्रमण नियन्त्रण नभएपनि भीडभाड रोकिएको छैन । क्रमशः उद्योग कलकारखाना, पर्यटन, बजार पसल खुले पनि दीर्घकालीन योजना नहुँदा पुनः कहिले बन्द हुन्छ, टुंगो छैन । अझै शैक्षिक क्षेत्र त डामाडोल नै छ ।

नेपालको तुलनामा निकै ठूलो असर परेको अमेरिका, बेलायतलगायत युरोप र अन्य सम्पन्न मुलुकमा गत वर्षबाटै पढाइ सुचारु छ । वैकल्पिक माध्यमबाट पढाइ, परीक्षालगायत सबै प्रकारका शैक्षिक गतिविधि रोकिएका छैनन् । नेपालमा भने केहीले अनलाइन कक्षा चलाए पनि सबैमा कसरी सञ्चालन गर्ने बहस मात्रै छ ।

२०७६ चैत ११ गते लकडाउन हुनुभन्दा अघिदेखि नै शैक्षिक क्षेत्र बन्द छन् । साढे ३५ हजार विद्यालयमा भौतिक रूपमा उपस्थित भएर पठन–पाठन ठप्पप्रायः छ । विद्यालय स्तरमा ८१ लाख र विश्वविद्यालयमा पाँच लाखभन्दा बढी अध्ययनरत छन् । केही प्रतिशत विद्यार्थी अनलाइन कक्षामा आवद्ध छन् भने यसको पहुँचमा नपुगेका लाखौं छन् । विद्यालय र विश्वविद्यालय बन्द हुँदा ८६ लाखभन्दा बढी विद्यार्थीको भविष्य अन्योलग्रस्त छ । मुलुकभर ३५ हजार पाँच सय २० विद्यालय छन् । तीमध्ये २८ हजार ८ सय ३३ सामुदायिक र ६ हजार ६ सय ८७ संस्थागत छन् । सामुदायिकमा ५५ लाख ८७ हजार ८ सय ८४ र २५ लाख ४४ हजार ५ सय ५१ गरी ८१ लाख ३२ हजार ४ सय ३५ विद्यार्थी छन् । सबै विद्यार्थी घरमै छन् । घरमै बसेर पढ्न र सिक्ने वातावरण उनीहरूलाई छैन ।

तोकिएका परीक्षा पनि स्थगित भए । विद्यार्थीले कसरी पढ्ने र परीक्षाको तयारी गर्ने सबै नियम हराए । लक्ष्य राखेर उच्च शिक्षा हाँसिल गर्न खोज्ने विद्यार्थीको योजना डामाडोल बन्यो । विद्यालय बन्द हुँदा भौतिक संरचनामा पनि असर परेको छ । कति विद्यालय त अब फेरि खोल्नु परे पुनः मर्मत गर्नुपर्ने अवस्थामा पुगेका छन् । शैक्षिक क्षेत्रभित्रको समस्या धेरै भए पनि हालसम्म यसका समाधानमा सरकारका तर्फबाट कुनै प्रयास भएको छैन । स्वास्थ्य सुरक्षाका मापदण्ड अपनाएर अब विद्यालय खोल्नुको विकल्प छैन ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्