बिर्तामोड , भदौ १६ । बिर्तामोड ३ को आदर्श चौकदेखि हल्दिबारी जाने क्षेत्रीय मार्ग १४ फुटमा साँघुरिएको छ ।

शहीद चन्द्र मार्ग नामकरण गरिएको त्यस बाटोलाई विस्तार गरिनुको साटो मिच्दै लगिएको हो । ३२ फुटको कालोपत्रे बाटो स्थानीयले मिचेर अहिले १४ फुटमा पु¥याएका छन् । अति ब्यस्त त्यस सडकमा पिचको भागमा मात्र आवतजावत गर्न सकिन्छ । पिचको भागबाहेक दुवैपट्टी स्थानीयले मिचेका हुन् । स्थानीयले बाटोको दुवैपट्टी घाँस , मास र बोटबिरुवा रोपेर आवतजावतमा समस्या खडा गरेका छन् । त्यसरी अति ब्यस्त बाटोलाई मिचेपछि दुर्घटना बढेको छ । त्यस बाटोमा लगातार दुर्घटना हुँदै गएको छ । दुई वर्षअघि काली मन्दिर उत्तरपट्टी मोटरसाइकल दुर्घटना हुँदा एकजनाको घटनास्थलमै मृत्यु भएको थियो भने दुईजना घाइते भएका थिए ।
बिर्तामोड ३ को आदर्श चौकदेखि बिर्तामोडको ९ हुँदै हल्दिबारी जोड्ने सो क्षेत्रीय मार्ग स्थानीय तहको बेवास्ताले ओझेलमा परेको छ । एक अर्काको मुख ताकेर दुवै पालिकाले चासो नलिएपछि स्थानीयको मनोमानी बढेको हो । स्थानीय उपभोक्ता जागरुक र सहयोगी नहुँदा बाटोलाई विस्तार गर्न नसकिएको बिर्तामोड ९ की वडाध्यक्ष पवित्रा पाठकले बताइन् । उनले त्यस बाटोलाई पहिला साविकको ३२ फुट कायम गरी त्यसपछि ४० फुट विस्तार गर्ने विषयमा दुई–तीन पटक छलफल गर्दा कुनै सहमति हुन नसकेको जानकारी दिईन् । आफूले विगत तीन वर्षदेखि त्यस बाटो विस्तारका लागि पहल गरिरहेको उनको भनाइ छ । बिर्तामोड नगर क्षेत्रभित्रका अधिकांश बाटो ४० फुटको फराकिलो बनाइएपनि त्यो मापदण्डले त्यस बाटोलाई छोएको देखिदैन । बिर्तामोड र हल्दिबारीको भूभागलाई छोएको करीब ८ किलोमिटर लामो त्यस बाटोको लागि दुवै स्थानीय तहले खासै वास्ता गरेका छैनन् । त्यही बाटो भएर बिर्तामोडसँगै हल्दिबारी , कचनकवलका बासिन्दाहरु आवतजावत गर्ने गर्छन् । विगतका दुई वर्षमा बिर्तामोड नगरपालिकाले सडक बोर्डको सहयोगमा मर्मतका लागि मात्र केही बजेट उपलब्ध गराएको थियो । त्यसबाहेक अरु योजना ल्याएको छैन र ल्याउने छाँटकाट पनि देखिदैन ।
उता हल्दिबारी गाउँपालिकाले पनि अहिलेसम्म त्यस बाटोमा कुनै बजेट छुट्याएको छैन । आफूहरुले त्यस बाटोको लागि अहिलेसम्म बजेट नछुट्याएको हल्दिबारी गाउँपालिकाका अध्यक्ष रविन्द्र लिङ्देनले बताए । बिर्तामोड नगरपालिका आयोजक बनेको खण्डमा आफ्नो गाउँपालिकाका तर्फबाट पनि सहयोग हुने उनले बताए । बाटो अत्यन्त अप्ठ्यारो , साँघुरो र जीर्ण भइसकेकाले ठूलै योजना ल्याउनका लागि दुवै पालिकाका तर्फबाट संयुक्त डेलिकेशन जान आबश्यक भएको उनको भनाई छ ।
सो बाटोलाई देशकै होचो भूभाग कचनकवलदेखि संसारकै अग्लो टाकुरा सगरमाथासम्म जोड्ने सोच छ । त्यस सोचलाई कार्यान्वयन गर्नु परको कुरा अहिले बाटो नाजुक बनिसकेको स्थानीय बमबहादुर चौधरी बताउँछन् । राजनीतिक अन्यौलतासँगै अग्रसरताको कमीले सो बाटो निर्माण हुन समय लाग्ने देखिएको प्रदेश साँसद एकराज कार्कीले बताए । बाटोको रेखांकन मात्र गर्न पाए बजेटको व्यवस्था गर्नका लागि पहल गर्न सजिलो हुने भन्दै उनले त्यसमा स्थानीय उपभोक्ताहरु लाग्नुपर्नेमा जोड दिए । हल्दिबारीको खर्साङ चौकसम्म प्रदेश सरकारको सहयोगमा बाटो निर्माण भइसकेको छ । त्यसको उत्तरपट्टी भने सो बाटो जीर्ण बनेको हो ।