भद्रपुर, भदौ १६ । विगत १७ महिनादेखि बन्द रहेको भद्रपुर सीमा नाका खोल्न माग गर्दै झापाका उद्योगी व्यवसायीले प्रधानमन्त्री शेरबहादुर देउवासमक्ष ज्ञापनपत्र पठाएका छन्।

कोभिड–१९ को संक्रमण शुरू भएदेखि नै बन्द रहेको भद्रपुर सीमा नाका खुला गर्नुपर्ने माग लिएर झापा उद्योग संघको टोलीले बुधबार जिल्ला प्रशासन कार्यालयमा प्रमुख जिल्ला अधिकारीमार्फत प्रधानमन्त्री देउवालाई ज्ञापनपत्र पठाएको हो।
झापा उद्योग संघका अध्यक्ष यमबहादुर श्रेष्ठको नेतृत्वमा गएको टोलीमा उद्योग वाणिज्य संघ प्रदेश १ का अध्यक्ष टिकाराज ढकाल, उद्योग संघका झापा उपाध्यक्ष दिपेश ढकाल, सचिव प्रदिपमणि रेग्मी र सदस्य विनय गोयल सहभागी थिए ।
ज्ञापनपत्र बुझ्दै झापाका प्रमुख जिल्ला अधिकारी श्रवणकुमार तिमिल्सिनाले माग सम्बोधनका लागि यथाशीघ्र प्रधानमन्त्री कार्यालय पठाउने बताए ।
ज्ञापनपत्रमा लामोे समयदेखि जारी नाकाबन्दीले भद्रपुर र यस आसपासको व्यापार व्यवसाय र उद्योगधन्दा ठप्प भएकोप्रति सरकारको ध्यानाकर्षण गराउँदै नाका खोल्न माग गरिएको उद्योग संघ झापाका अध्यक्ष श्रेष्ठले बताए ।