बिर्तामोड, भदौ १७ । राजनीतिक र निर्णायक प्रक्रियामा अर्थपूर्ण सहभागिता गराउन निर्वाचित महिला जनप्रतिनिधिका लागि शी लिड्स महिला नेतृत्व परियोजना प्रभावकारी देखिएको छ ।

आइएफइएस नेपालद्वारा झापाको ६ वटा पालिकामा संचालन भइरहेको शी लिड्स महिला नेतृत्व कार्यक्रम आफूहरुको लागि प्रभावकारी रहेको लक्षित समूहले बताएका छन् । झापाको बिर्तामोड , बुद्धशान्ति , अर्जुनधारा , शिवसताक्षी , कमल र दमकमा सो कार्यक्रम संचालन भइरहेको छ । प्रदेश १ का ५ जिल्लाका २६ पालिकामा सो कार्यक्रम संचालन भइरहेको आयोजकले जनाएको छ । जुन कार्यक्रम नेपालसहित ७ वटा देशमा संचालित छ ।

परियोजनाअन्तर्गत पहिलो मोडेलको कार्यक्रम सम्पन्न भएको छ । पहिलो मोडेलको तालिम अत्यन्त उपलब्धिमूलक लागेको सहभागीहरुले बताएका छन् । बिहीबार आयोजित भर्चुअल बैठकमा बोल्दै बिर्तामोड नगरपालिकाकी कार्यपालिका सदस्य निता घतानीले तीन दिनको नेतृत्व विकास कार्यक्रमले आफ्नो व्यक्तित्व निखार्न ठूलो मद्धत पुगेको बताइन् । उनले स्थानीय तहको कार्यकाल सिद्धिने बेलामा भन्दा कार्यकालको शुरुमै त्यस किसिमको तालिम आबश्यक भएको धारणा राखिन् । अर्का जनप्रतिनिधि पवित्रा ढुंगानाले आफ्नो लागि पनि सो तालिम फलदायी सावित भएको धारणा राखिन् । ‘अगाडि गएर बोल्नसक्ने अभ्यासको विकास भएको छ ’उनले भनिन् ,‘ फेरि पनि यस किसिमको कार्यक्रम आबश्यक छ ।’ अर्का जनप्रतिनिधि तारा भट्टराईले बोल्दाबोल्दै धकाउने आफ्नो बानी त्यस कार्यक्रममा सहभागी भएपछि हटेको अनुभव सुनाइन् । बिर्तामोडमा २० जना महिला जनप्रतिनिधिहरुले सो तालिम लिएका छन् । त्यस्तै बुद्धशान्तिका १४ , अर्जुनधाराका १९ , शिवसताक्षीका १८, कमलका १३ र दमकका २३ जना महिला जनप्रतिनिधिहरुले सो तालिम लिएका थिए । तालिमसँगै सहभागीहरुलाई असाइनमेन्ट पनि गराइएको थियो । बैठकमा दमककी टीका ठटाल र संखुवासभाकी स्वस्तिका भुजेलले आफ्ना लिखित अनुभव पठाएका थिए ।

बैठकमा शी लिड्स महिला नेतृत्व परियोजनाका कार्यक्रम अधिकृत मीना भट्टले आइएफइएस नेपालको भूमिका र शी लिड्स महिला नेतृत्व परियोजनाको उद्धेश्य , गतिविधि , सहयोग, मोडालिटीलगायतका बिषयमा जानकारी दिएकी थिइन् । त्यस्तै शी लिड्स परियोजनाका प्रशिक्षक नविना सापकोटाले परियोजनाको गतिविधिअन्तर्गत तालिम , प्रशिक्षण , बैठकका बारेमा प्रकाश पारेकी थिइन् । त्यस्तै दलित महिला केन्द्र नेपालका अध्यक्ष गौरा नेपालीले कार्यक्रमको औचित्यबारे प्रकाश पारेकी थिइन् ।

बिर्तामोड नगरपालिकाका उपप्रमुख पवित्रा महतारा प्रसाईको अध्यक्षतामा भएको कार्यक्रममा राप्रपा बिर्तामोडकी अध्यक्ष रन्जु प्याकुरेल , गैरसरकारी संस्था महासंघका अध्यक्ष हरिप्रसाद गौतम , बिर्तामोड नगरपालिकाका वरिष्ठ कार्यक्रम अधिकृत जय तिम्सिना , शी लिड्स महिला नेतृत्व परियोजनाका तराई क्लस्टर एमएनई अफिसर तेजीलाल लामालगायतले बोलेका थिए । कार्यक्रमको संचालन परियोजनाका प्रशिक्षक सोमराज ढकालले गरेका थिए ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्