झापा ,भदौ १९ । नेपाली कांग्रेसको १४ औं महाधिवेशनअन्तरगत जारी झापा जिल्लाको वडा अधिवेशनमा ५० बढी वडाहरुमा सर्वसम्मत नेतृत्व चयन भएको छ ।

थुप्रै वडाहरुमा वडा समिति र क्षेत्रीय प्रतिनिधि निर्विरोध भएपनि केही वडामा भने क्षेत्रीय प्रतिनिधि र केहीमा वडा समितिको निर्वाचन हुने देखिएको छ ।
अहिलेसम्म प्राप्त जानकारी अनुसार झापाको मेचीनगरका ८ वटा वडा, बुद्धशान्तिका–४ वटा वडा, बिर्तामोडका ६ वटा वडा अर्जुनधाराका ५ वटा वडा, कनकाईका–४ वटा वडा, झापाका ७ वटा वडा, शिवसतासीका ३ वटा वडा, कमलको एउटा वडा, गौरादहको २, गौरीगञ्जको २, भद्रपुरका–३ र बाह्रदशीका ४ वटा वडामा निर्विरोध नेतृत्व चयन भइसकेको छ ।

क्षेत्र नं–१ को मेचीनगरमा ६, ७, ८, ९, १०, ११, १२ र १५ नं वडामा वडा कार्यसमिति र क्षेत्रीय प्रतिनिधि सर्वसम्मत चयन भएका छन् । यसैगरी बुद्धशान्तिको ६ र ७ नं वडामा पनि सर्वसम्मत रुपमा वडा समिति र क्षेत्रीय प्रतिनिधि चयन भएका छन् भने अन्य वडामा समेत सहमतिको प्रयास भइरहेको १ नं क्षेत्रीय सभापति मणि उप्रेतीले जानकारी दिए ।
यसैगरी झापा क्षेत्र नं–२ को बुद्धशान्ति १ र २ मा सर्वसम्मत रुपमा नेतृत्व चयन भएको छ । अर्जुनधारा नगरपालिका वडा नं ४, ५, ८, १० र ११ मा सर्वसम्मत वडाको नेतृत्व एवं क्षेत्रीय प्रतिनिधि चयन भएको २ नं क्षेत्रीय सभापति खगेन्द्र मैनालीले जानकारी दिए ।
उनका अनुसार क्षेत्र नं–२ कै बिर्तामोड नगरपालिकामा १, २, ६, ८ र ९ का सबै पदमा निर्विरोध नेतृत्व चयन भएको छ । वडा नं–४ मा राजकुमार प्रसाईको नेतृत्वमा कार्यसमिति निर्विरोध चयन भइसकेको मतदान अधिकृत रेजिना गौतमले जानकारी दिइन् । क्षेत्रीय प्रतिनिधिका लागि भने बिर्तामोड –४ मा निर्वाचन हुने संभावना देखिएको छ । बिर्तामोड–१ मा रघुनाथ सापकोटा, १० मा मदन गुरुङ र ६ मा आशिष बनको नेतृत्वमा वडा समिति चयन भएको हो ।
यसैगरी कनकाई नगरपालिकाको २, ६, ८ र ९ मा पनि निर्विरोध नेतृत्व चयन भएको छ भने १ को वडा कार्यसमिति निर्विरोध चयन भएको छ । १ नं मा मनोज बस्नेतको नेतृत्वमा वडा समिति चयन भएको हो ।

झापा क्षेत्र नं–४ अन्तर्गत झापा गाउँपालिकाका सातवटै वडामा सर्वसम्मत नेतृत्व चयन भएको ४ नं क्षेत्रीय सभापति जयनारायण शाहले जानकारी दिए । उनका अनुसार शिवसतासी नगरपालिकाको वडा नं ३, ६ र १० मा पनि निर्विरोध नेतृत्व चयन भइसकेको छ ।
यसैगरी झापा क्षेत्र नं–३ अन्तर्गत भद्रपुर नगरपालिका–१ मा दधिराम मिश्र, ३ मा समशेर तामाङ र ४ मा स्वराज लिम्बूको नेतृत्वमा वडा समिति निर्विरोध निर्वाचित भएको ३ नं क्षेत्रीय सभापति गणेश पोखरेलले जानकारी दिए । उनका अनुसार ती वडाहरुमा क्षेत्रीय प्रतिनिधि पनि निर्विरोध चयन भएका छन् । यसैगरी बाह्रदशी गाउँपालिकाको वडा नं १, २, ४ र ५ नं वडामा निर्विरोध नेतृत्व चयन भइसकेको गाउँ सभापति ओमप्रकाश गौतमले जानकारी दिए ।
झापा क्षेत्र नं–५ अन्तर्गत गौरादह–४ मा नेत्र ढुङ्गाना, दमक–३, ४, ५ र ६ मा सर्वसम्मत रुपमा चैतन्य बराल, ६ मा मणि बुढाथोकीको नेतृत्वमा वडा कार्यसमिति एवं क्षेत्रीय प्रतिनिधि चयन भएका छन् । यसैगरी गौरीगञ्ज गाउँपालिकाको ५ र ६ नं वडामा निर्विरोध नेतृत्व चयन भएको क्षेत्रीय सभापति ढुण्डी भण्डारीले जानकारी दिए । उनले कमल–२ मा पनि निर्विरोध समिति चयन भइसकेको बताए ।

वडामा जारी निर्वाचन प्रक्रियामा उम्मेद्वारी दर्ता सकिएको छ भने उम्मेद्वारी फिर्ताको समय बाँकी रहेकाले अरु वडाहरुमा पनि सर्वसम्मत नेतृत्व चयन हुने सम्भावना रहेको स्थानीय मतदान अधिकृतहरुले जनाएका छन् । बाँकी रहेका धेरै वडाहरुमा कार्यसमिति निर्विरोध चयन भएपनि क्षेत्रीय प्रतिनिधिमा भने सहमति जुट्न बाँकी छ । गाउँ÷नगरको सभापतिमा समेत क्षेत्रीय प्रतिनिधिले मात्रै भोट हाल्न पाउने भएपछि खुल्ला तथा आरक्षण कोटामा पनि प्रत्यासीहरु बढेका हुन् । झापामा ३३ हजार बढी क्रियाशील सदस्य छन् । वडामा हुने निर्वाचनमा क्रियाशील सदस्यहरुले मतदान गर्न पाउनेछन् ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्