झापानेपाली काँग्रेसको चौधौ महाधिवेशन शुरु भइसकेको छ । पालिकाका वडाहरुमा वडा अधिवेशन जारी छ । झापाका १३१ वटा वडामध्ये धेरै वडामा सर्वसम्मत नेतृत्व चयन भएको छ भने केहीमा निर्वाचन हुँदैछ । नेपाली काँग्रेस झापाको जिल्ला सभापतिमा देउमान थेबे र राम कट्टेलले उम्मेद्वारी दिने घोषणा गरेका छन् । दुवैजना सिटौला पक्षबाट उठ्ने भएका हुन् । थेबेले २०३६ सालमा नेपाल विद्यार्थी संघबाट राजनीति थालेका थिए । ताप्लेजुङको सिनाम माविमा अध्ययनरत हुँदैगर्दा स्कूले जीवनमा राजनीति थालेका उनी २०३९ सालमा तराई झरे । त्यसपछि २०४२ सालदेखि पार्टी संगठनमा रहेर उनले सक्रिय राजनीति गरेको देखिन्छ । उनी २०४६ सालमा झापा गाउँपालिकाको पार्टी उपसभापति भए ।

त्यसपछि दुई कार्यकाल झापा गाउँपालिकाको गाविस अध्यक्ष भए । नवौ महाधिवेशनदेखि लगातार तीन कार्यकाल क्षेत्रीय सभापति भएका थेबे बाह्रौ महाधिवेशनमा जिल्ला उपसभापति र तेह्रौ महाधिवेशनमा भातृ संगठन विभाग प्रमुख भएका थिए । स्पष्ट र हठी स्वभावका थेबेसँग गरिएको कुराकानीको सारसंक्षिप्त प्रस्तुत गरेका छौं ।

बाह्रौ महाधिवेशनमा जिल्ला उपसभापतिको जिम्मेवारीमा रहेको व्यक्ति तपाईले तेह्रौ महाधिवेशनमा सभापतिमा उठ्ने मनस्थिति बनाइरहँदा अन्तिममा आएर छोड्नु भयो । यसपटक पनि सभापतिमा उठ्ने कुरा गर्दै हुनुहुन्छ । अन्तिममा आएर पक्कै छोड्नु हुन्छ होला ?

स्वाभाविक रुपमा के हुँदो रहेछ भने एकचोटी उपसभापति भइसकेपछि सभापति हुन पाए हुन्थ्यो भन्ने चाहिँ सबैलाई चाहना आउँदो रहेछ । र, मलाई पनि बाह्रौ महाधिवेशनमा जिल्ला उपसभापति भएपछि त्यस्तै चाहना जाग्यो । आदरणीय सभापति उद्धव थापाले मलाई उपसभापति बनाउनु भयो । सभापति भइसकेपछि उहाँले दोस्रो संविधानसभाको निर्वाचन पनि लड्नु भयो । निर्वाचन लड्दै गर्दा केही कुरा हामीबीचमा थिए । तथापि फेरि तेह्रौ महाधिवेशन हुँदै गर्दा सभापतिले स्वाभाविक रुपमा झापाको परम्पराअन्तर्गत सबैले दुई–दुई कार्यकाल दोहो¥याउँदै गएको अबस्थामा उहाँले पनि इच्छा व्यक्त गर्नुभयो । मैले पनि इच्छा राखेँ । म पनि उपसभापतिबाट सभापति हुन पाए हुन्थ्यो भन्ने मनसायमा थिएँ । तर, सभापतिज्यूले पनि परम्परालाई अगाडि बढाउनका लागि फेरि एकचोटी सभापति भएर जाँदाखेरि मैले गर्दै गरेका हरेक योजनाहरु , पार्टीभित्रका संगठनका हरेक योजनाहरु,संरचनाहरु , गतिविधिहरु पूरा गर्न पाए हुन्थ्यो भन्ने सभापतिले जुन इच्छा जाहेर गर्नुभयो , मैले अन्तिममा आएर वास्तवमा सभापतिज्यूको इच्छा , सबै झापाली नेताहरुको भावना , कार्यकर्ताहरुको भावनालाई शिरोधार्य गरेर कमसेकम मैले सर्वसम्मत गर्दाखेरि पूर्वबाट नेपाली काँग्रेसको जिल्ला अधिवेशन सर्वसम्मत हुन्छ भन्ने सन्देश जान्छ भने मैले किन नगर्ने ? फेरि पनि चौधौ महाधिवेशन आउँछ । यसैलाई मैले शिरोधार्य गरेर गएको तेह्रौ महाधिवेशनमा सर्वसम्मतको ढोका खोलिदिएको हुँ । यसैकारणबाट झन्डै ५ वर्ष फेरि म जिल्ला सदस्य रहेर, भातृ संगठन विभाग प्रमुख रहेर सिंगो जिल्ला समितिले दिएको जिम्मेवारीलाई यहाँसम्म ल्याइ पु¥याइसकेपछि यो चौधौ महाधिवेशनमा मेरो उम्मेद्वारी उचित छ भनेर ठानेको छु । पक्कै पनि सबै नेताहरुको सहयोग र सद्भाव रहन्छ । कार्यकर्ताहरुको मूल्यांकन , कार्यकर्ताहरुको सहयोग, सद्भाव पनि साझा रुपमा पाउँछु भन्ने आकांक्षाका साथ मैले उम्मेद्वारी दिने मनस्थितिमा पुगेर म अहिले सबै कार्यकर्ताहरुको बीचमा , मतदाताहरुको बीचमा अगाडि बढ्दै गरेको अबस्था छ ।
जिल्ला सभापति उद्धव थापाको लागि तपाईले ठूलो त्याग गरेको देखिन्छ । जुन गुण तपाईले लगाउनु भयो नि अहिले उहाँले तिर्नुहुन्छ नि ?

तिर्न मात्र हैन मज्जाले तिर्नु हुन्छ । उहाँले मलाई लाग्छ त्यो साँवा मात्र होइन , बुढापाकाहरुले भन्छन् नि ब्याजै लगाएर तिर्नुहुन्छ । त्यसमा धर्म छ उहाँको । अत्यधिक तिर्नुहुन्छ । त्यसमा कुनै दुविधा छैन ।
तपाईलाई जिताउन उहाँले हरसंभव प्रयास गर्नुहुन्छ ?

गर्नुहुन्छ । यसमा बिश्वस्त छु । मलाई जिताउन उहाँले कुनै कसर बाँकी राख्नु हुने छैन ।

काँग्रेसमा विभिन्न गुटहरु छन् । अनि सिटौला गुटलाई तपाई अनि राम कट्टेल दुवैजनाले किन रोज्नु भयो ?

यो वास्तवमा स्वाभाविक रुपमा लोकतन्त्रको विधि पद्धतिअन्तर्गत रहेर हेर्दा हरेक पार्टीहरुमा गुट छन् । गुट नभएको पार्टी नै छैन । काँग्रेसमा गुट नहुनु , नेकपा एमालेमा गुट नहुनु त्यो त अचम्मको कुरा । अहिले सानोभन्दा सानो हिजो जन्मेको नेकपा समाजवादी पार्टीमा पनि , जातीय पार्टीहरुमा पनि गुट छ भने यति लामो इतिहास बोकेको नेपाली काँग्रेसमा गुट विचार फरक हुनु कुनै ठूलो कुरा होइन । तर पनि अहिले झापाको सन्दर्भमा चाहिँ सिधै भन्दाखेरि सिंगो झापाको राजनीति र राष्ट्रिय राजनीतिमा आदरणीय कृष्ण सिटौलाले प्रभाव पार्नु भएको छ । म २०४६–०४७ सालमा पार्टीको झापा गाउँपालिकाको उपसभापति हुँदै गर्दा उहाँ जिल्लाको उपसभापति हुनुहुन्थ्यो । आठौ महाधिवेशनदेखि झापाको दुई कार्यकाल सभापति सम्हालेर राष्ट्रिय राजनीतिमा आदरणीय कृष्ण सिटौलाले प्रभाव पार्नु भएको छ । त्यसकारणले गर्दाखेरि पनि झापामा एउटा नेतृत्वको विकास भएको छ । अब अहिले आएर मलाई आदरणीय कृष्ण सिटौलाको पूर्ण रुपमा समर्थन छ । कृष्ण सिटौलासँगै झापाका जो जो नेताहरु हुनुहुन्छ , उहाँहरु सबैको समर्थन छ ।
अघिल्लो महाधिवेशनको बेलामा तपाई देउवा गुटको हुनुहुन्थ्यो । अनि एकाएक किन गुट परिवर्तन गर्नुभयो ?

स्वाभाविक रुपले त्यतिखेर सभापतिमा उद्धव थापा उठ्दै गर्दा मैले फरक विचार राखेर मेरो पनि उम्मेद्वारी छ भनेर अलिकति अगाडि बढेको थिएँ । स्वाभाविक रुपमा त्यो देउवा गुटबाट सहमति लिएर देउमान थेबे उम्मेद्वार बनेको कुरा बजारमा नआएको पनि होइन । स्वाभाविक कुरा चाहिँ मैले उहाँहरुको सहयोग र सद्भाव लिएरै चुनाव लड्छु भन्ने मनस्थिति बनाएको थिएँ । वास्तवमा त्यो हो । तर अब मैले राजनीतिक जीवनयात्रालाई अगाडि बढाउने कुरामा आदरणीय कृष्ण सिटौला मेरो जिल्लाको नेतृत्व हुनुहुन्छ । जसले राष्ट्रिय राजनीतिमा प्रभाव पार्नुभएको छ । भोलि नेपाली काँग्रेसको सभापति हुने कुरादेखि लिएर भोलि नेपाली काँग्रेसको तर्फबाट प्रधानमन्त्री हुने कुरासम्म एउटा राष्ट्रिय राजनीतिमा प्रभाव पार्नसक्ने आदरणीय नेता कृष्ण सिटौला हाम्रो जिल्लामा हुँदाहुँदै अब उहाँकै एउटा कार्यकर्ताको हैसियतले उहाँकै एकल विचारबाट अगाडि बढ्न उचित हुन्छ भन्ने मैले ठानेको छु । त्यसकारण म आदरणीय कृष्ण सिटौलाको बिशेष सहयोग र समर्थनबाट उम्मेद्वारी दिएको छु । झापाका सबै शीर्षस्थ नेताहरु हुनुहुन्छ । सबै नेताहरुको मलाई सहयोग र सद्भाव छ । मेरा समकालीन, लामो यात्रामा हिड्ने साथीहरुको पनि सहयोग पाएको छु । त्यसैलाई शिरोधार्य गरेर म अहिले सबै मतदाता सामुन्ने मेरो पनि उम्मेद्वारी छ है भन्ने कुरा राख्दै अगाडि बढिरहेको छु ।
झापा जिल्लामा सिटौला पक्षको वर्चस्व देखिएपनि देउवा , पौडेल समूहको पनि उपस्थिति रहेको छ । उहाँहरुको मत त तपाईलाई आउँदैन होला ?

मलाई सबैको मत आउँछ । मैले आफ्नो राजनीतिक जीवन यात्रा झापामा २०३९ सालदेखि शुरु गरेँ । जतिबेला म एउटा अल्लारे ठिटो थिएँ । २०४२ सालदेखि नेपाली काँग्रेसको तहगत ठाउँहरुमा मैले सम्पर्क राखेर काम गर्दै आएको छु । २०४६ साल र त्यसपश्चात मैले गाउँपालिकाको उपसभापतिदेखि तीन कार्यकाल पार्टीको क्षेत्रीय सभापति , बाह्रौ महाधिवेशनमा उपसभापति , त्यसपछि अहिले पनि जिम्मेवारीमा बसेको छु । र , म झापा गाउँपालिकाको २०४८ साल , २०५४ सालको निर्वाचित गाविस अध्यक्ष हुँदै यहाँसम्म आइपुग्दा झापा जिल्लाका सबै पालिकाहरुमा पुगेको छु । अहिले सँख्या कम भएको छ । अहिले १५ वटा मात्र पालिका छ । ४७ गाविस र ३ वटा नगरपालिका हुँदाखरिको अबस्था होस् चाहे अहिले १५ वटा पालिका मात्र हुँदाको अबस्था होस् सबैको सम्पर्कमा जाने परिस्थितिको निर्माण गरेको छु । चाहे बीचको जनप्रतिनिधिविहीन अबस्थामा जिल्ला विकास समितिको संयन्त्रमा बसेर सभापतिज्यूहरुसँग काम गर्ने कुराहरु हुन् , चाहे संगठनमा बसेर झापा जिल्लाको चौतर्फी काम गर्ने कुराहरु हुन् । यी सबै कुरालाई मध्यनजर गरी सबै कार्यकर्ताहरुको भावनासँग जोडिने काम मैले गरेको छु । त्यसले गर्दा मलाई लाग्छ माथि को कहाँ हुनुहुन्छ थाहा छैन । कोही आदरणीय शेरबहादुर देउवासँग हुनुहुन्छ होला , कोही रामचन्द्र पौडेलसँग हुनुहुन्छ होला ,कोही शेखर कोइरालासँग हुनुहुन्छ होला । कोही कोसँग होला । तर, झापाको सन्दर्भमा मलाई लाग्छ सबै झापा जिल्लाका आउनु हुने क्षेत्रीय प्रतिनिधिहरुले , महिलाले , दलितले , मधेसीले , मुस्लिमले , पिछडा वर्गले , खस आर्यले , आदिवासी जनजातिले र अन्य प्रतिनिधिले पनि सबैले मलाई मतदान गरेर विजयी गराउनु हुन्छ होला । सर्वसम्मत ढंगले झापाको अधिवेशन सम्पन्न गर्नको लागि सबैको सहयोग र सद्भाव रहन्छ । झापा जिल्लालाई सर्वसम्मत गराउँदै यो अधिवेशन सम्पन्न गराउनका लागि सबै आदरणीय नेताहरुको पनि सहयोग रहन्छ भन्ने लाग्छ ।
देउमान थेबेको बारेमा भन्नुपर्दा तपाईलाई राम्रो भाषण गर्न आउँदैन, लेख लेख्न आउँदैन । यद्यपि देउमान थेबे एकजना विकासे नेता हुनुहुन्छ । विकासका कामले मात्र मतदाताको मत आकर्षित गर्न सकिन्छ र ?

अब मलाई लेख लेख्न आउँदैन भन्ने कुरा उठाउदै गर्दा म कुनै कवि होइन । र, कुनै गायककार पनि होइन । त्यसले गर्दा मैले लेख लेखेर विचार अभिव्यक्त गर्नसक्ने भए म राजनीतिमा आउने पनि थिइनँ होला । अब भाषण नै गर्न आउँदैन भन्ने कुरामा अब कस्तो खालको भाषण गर्नुपर्ने हो । अब त्यो कसैले पनि नबुझ्ने भाषण गर्नुपर्ने हो कि । त्यो मलाई आउँदैन । तर , मैले बोल्दै गर्दा मलाई लाग्छ एउटा गाउँमा गएर एउटा सामान्य जनताले, सामान्य किसानले ,मजदुरले , बाटो हिड्ने बटुवाले बुझ्नेगरी, सबैले बुझ्ने गरी आफ्ना कुराहरु, अभिव्यक्तिहरु चाहिँ राख्न सक्छुु जस्तो लाग्छ । यहाँ त भाषण नै नाथे मैले देखेको छु भर्खर झापा आउँदै गर्दा तपाईहरुलाई कति थाहा छ कि छैन यो बिर्तामोडमा एकजना रिमाल हुनुुहुन्थ्यो । दबाई बेच्नु हुन्थ्यो । यही बिर्तामोडमा त्यो रिमालले एकचोटी सिटी बजाएर उसले बोल्न थाल्यो भने त्यतिखेरको उपस्थितिमा त उसले ४–५ सय मान्छे भेला गथ्र्यो । अहिलेको यो बिर्तामोडको उपस्थितिमा उसले अहिले बाँचेको भए , दबाइ बेच्न पाएको भए मलाई लाग्छ एकैछिनमा ३ हजार मान्छे भेला गथ्र्यो होला । सडकजाम गराइदिन्थ्यो होला । यहाँको ट्राफिकलाई समस्या पारिदिन्थ्यो होला । यहाँको पुलिसलाई समस्या पारिदिन्थ्यो होला । त्यसले गर्दा मलाई त्यो खालको मन पर्दैन । बिर्तामोडमा भाषण गर्दा एकखालको गर्ने मान्छेलाई भेला गर्ने , दमकमा जाँदा अर्को भाषण गर्ने , काँकरभिट्टामा जाँदा अर्को भाषण गर्ने त्यो खालको चाटुकार भाषण गर्न चाहिँ मलाई वास्तवमा आउँदैन । म जे देख्छु , जे देखेको छु ,जे म गर्छु , त्यो कुरा जहाँ गएर पनि बोल्छु । म नहुने कुरा एकदम तिललाई पहाड बनाएर यो गर्छु , त्यो गर्छु , यसो गर्छु , त्यसो गर्छु त्यो वास्तवमा मबाट हुँदैन । बनाएर भन्ने कुरा मलाई आउँदैन । तर , बुझ्नेगरी अभिव्यक्ति चाहिँ राख्छु जस्तो लाग्छ ।
आफूलाई विकासे नेता भन्नुहुन्छ साँच्ची हो त?

अब मलाई भन्नुहुन्छ भने त्यति घमण्ड गर्दिनँ । जम्माजम्मी २०४६ सालपश्चात् दुई कार्यकाल झापा गाउँपालिकाको अध्यक्ष भएँ । मलाई विकास निर्माण गर्ने कुराको ज्ञान र अनुभव त्यो १० वर्षमा प्राप्त गरेँ । म विकासँग जोडिएकै मान्छे हुँ । विकास गर्नुपर्छ भन्ने नै मान्छे हुँ । मैले यो अवसर पाएँ । चाहे आदरणीय सुधिर दाई सभापति हुँदाखेरि होस् वा चाहे आदरणीय उद्धव थापा सभापति हुँदाखेरि होस् अलिकति समय पनि मैले निकाल्न सकेको हुनाले जिल्ला विकास समितिको संयन्त्रमा बसेर जुन अनुभव बटुल्न सकेँ त्यसले गर्दा झापा जिल्लाको त्यतिखेर ३ नगरपालिका र ४७ गाविस किन नहोस् ती सबै गाउँ नगरहरुमा हरेक त्यहाँका पुल पुलेसा , बाटोघाटो चाहे शिक्षा , स्वास्थ्यका कुराहरु किन नहोस्, चाहे नदीनाला , बाढीले क्षति गरेको ठाउँहरुमा नदी नियन्त्रण गर्ने कुराहरु , चाहे बाँध पैनीका कुरा यी सबै कुराहरुमा जिल्लाभरिमा मैले स्थलगत रुपले घुम्ने अवसर पाएँ । सबै साथीहरुसँग सम्पर्कमा रहेर मैले सकेसम्म सिंगो पार्टीको तर्फबाट नेताहरुको सहयोग लिई नेताहरुको बिश्वासले काम गरेँ । त्यसले गर्दा मलाई लाग्छ झापा जिल्लाका अहिलेका १३१ वटा वडा कुनै त्यस्तो छैन म नपुगेको । म एकै ठाउँ बसेको छुइनँ । चाहे त्यो कोरोबारी किन नहोस् , चाहे गौरीगञ्ज किन नहोस् , चाहे केचना किन नहोस् , चाहे बनियानी बालुबाडी किन नहोस् त्यहाँका पार्टीका हाम्रा साथीहरुको घर कतापट्टी फर्केको छ त्यो पनि भन्न सक्छु । एकै ठाउँमा बसेर लेख लेखेर मोबाइलमा फोटो हालेर लाइक शेयर गरेर मैले त्यस्तो राजनीति गरेको छैन । हरेक ठाउँमा पुुगेर मेरो उपस्थिति जनाएको छुु ।
नेकपा आफै फुट्यो, एमालेलाई तपाईहरुले फुटाउनु भयो ।तपाई जिल्ला सभापति हुनु भयो भने काँग्रेसले गुमाएकोे साख उठाउन सक्नुहुन्छ?

नेकपा एमाले पार्टी फुट्यो अथवा माओवादी माओवादीले नेकपा फुटायो । नेपाली काँग्रेसले जितिहाल्छ भने भन्ने होइन । पहिलो कुरा नेपाली काँग्रेसले आफैमा मजबुद हुनुपर्छ । हामीले गएको निर्वाचनमा विभिन्न कारणले हार्नुप¥यो । हामी विपक्षीले मत नदिएका कारण हार्नुपरेको होइन । दोधारमा रहेका मतदाताहरुले नेपाली काँग्रेसलाई भोट दिएनन् । हरेक ठाउँमा घात अन्तरघात भयो । काँग्रेसलाई मिलाउँदा मिलाउँदै आधी निर्वाचन कार्र्र्र्यक्रम सकिसकेको थियोे । आफ्नै कारणले हामीले निर्वाचन हार्नु प¥यो । तर अहिले आएर हामीलाई काँग्रेसले हार्दा काँग्रेसलाई कस्तो हुँदो रहेछ भन्ने महसुस भएको छ । सबैलाई दुखेको छ । यो अधिवेशनलाई हामीले एकता अधिवेशन मानेका छौं । यो अधिवेशन गरेर फेरि आउँदै गरेको आम निर्वाचनमा, स्थानीय निर्वाचनमा नेपाली काँग्रेसले जित्नु पर्छ भन्ने भावना कार्यकर्ताहरुमाझ आएको छ । यसले गर्दा पनि आउने निर्वाचनमा नेपाली काँग्रेसले झापाका १५ वटा क्लस्टरमध्ये १० देखि ११ वटा क्लस्टर जित्न सक्नुपर्छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्