बिर्तामोड , भदौ २१ । नेपाली काँग्रेसको बिर्तामोडमा भएको वडा अधिवेशनको परिणामबाट नगर सभापति भोजराज सिटौलाले दोस्रो कार्यकाल दोहोर्याउने माहौल देखिएको छ ।

बिर्तामोड वडा नं ३ का वडाध्यक्षसमेत रहेका सिटौलाले पुनः बिर्तामोड नगर सभापतिमा उठ्ने आकांक्षा व्यक्त गरिरहेका बेला त्यस्तो माहौल देखिएको हो । कार्यकाल दोहो¥याउन लागेका सिटौलाको पक्षमा अधिकांश कार्य समितिका पदाधिकारी , सदस्य र क्षेत्रीय प्रतिनिधि वडा अधिवेशनबाट निर्वाचित भएका छन् । बिर्तामोडका १० वटा वडामा वडा अधिवेशन सम्पन्न भएको छ । नगरका तीनवटा वडाबाहेक अन्यमा सर्वसम्मत चयन भएको छ । आइतबार बिर्तामोड ३ , ४ र ५ मा निर्वाचन भएको हो । निर्वाचित १० जना वडा सभापतिमध्ये ८ जना सिटौला पक्षको भएको बताइएको छ । बाँकी दुईजना मात्र अर्को पक्षका हुन् ।

बिर्तामोड १ मा जगन्नाथ सापकोटा , २ मा देवीप्रसाद खरेल , ३ मा प्रेमप्रसाद उप्रेती , ४ मा राजकुमार प्रसाई , ५ मा दीपक मेन्याङ्वो , ६ मा आशिष बन , ७ मा प्रमोद सिटौला , ८ मा उत्तम कटुवाल , ९ मा वासु अधिकारी र १० मा मदनकुमार गुरुङ निर्वाचित भएका छन् । त्यसमध्ये वडा नं ४ का राजकुमार प्रसाई र ५ का दीपक मेन्याङ्वो मात्र अर्को पक्षको भएको बताइन्छ । त्यस्तै नगरभरि २८० जना क्षेत्रीय प्रतिनिधि निर्वाचित भएका छन् । नगर अधिवेशनमा भाग लिने ती क्षेत्रीय प्रतिनिधिहरुलाई हेर्दा अधिकांश भोजराज समर्थक रहेका छन् । निर्वाचित क्षेत्रीय प्रतिनिधिहरुमा सिटौलाको पक्षमा वडा नं १ मा ८० प्रतिशत , २ मा ८० प्रतिशत , ३ मा ८० प्रतिशत , ४ मा २० प्रतिशत , ५ मा ५० प्रतिशत , ६ मा ७० प्रतिशत , ७ मा ७० प्रतिशत , ८ मा ६० प्रतिशत , ९ मा ७० प्रतिशत र १० मा ८० प्रतिशत रहेका छन् ।

जारी १४ औं महाधिवेशनमा काँग्रेसभित्र विभिन्न खेमाहरु देखिएका छन् । झापामा कृष्णप्रसाद सिटौला खेमाको बलियो पकड रहेको बताइए पनि अर्को खेमा पनि उत्तिकै सशक्त देखिएको छ । जुन बिर्तामोड नगरपालिकाको वडा अधिवेशनको परिणामले देखाएको छ । सिटौला पक्षलाई बिर्तामोड ४ र ५ मा भएको वडा अधिवेशनमा अर्को पक्षले कडा टक्कर दिएको छ । जिल्ला सदस्य जलकुमार गुरुङको नेतृत्व सिटौला पक्षसँगको प्रतिष्पर्धामा उत्रिएको हो । त्यस पक्षबाट बिर्तामोड ४ का वडाध्यक्ष समेत रहेका कुलप्रसाद संग्रौलालाई नगर सभापति उठाउने तयारी गरिएको छ । यद्यपि सर्वसम्मतको प्रयास जारी रहेको नगर सभापति सिटौलाले बताए । यो र त्यो खेमा नभनी सर्वसम्मत नेतृत्व चयन गर्ने पहल भइरहेको उनले जानकारी दिए ।

उता अर्को पक्षका तर्फबाट युवराज प्रसाईले काँग्रेसभित्र अवसरबाट बंचित रहेकाहरुले अभियान संचालन गरिरहेको बताउँदै त्यस अभियानले सार्थकता पाउँदै गएको बताएका छन् । बिर्तामोडको नगर अधिवेशन भदौ २७ गते हुने भएको छ । त्यस अधिवेशनमा वडा सभापतिहरु र क्षेत्रीय प्रतिनिधिहरुले भाग लिने छन् । बिर्तामोडमा ३ हजार ६ सयभन्दा बढी क्रियाशील सदस्य रहेका छन् ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्