झापा , भदौ २१ । विभिन्न माग राख्दै झापाका विद्यार्थी संगठनहरु आन्दोलित भएका छन् ।

सामुदायिक विद्यालयहरुले लिइरहेको शुल्क गैरकानुनी देखिएकाले तत्काल दश कक्षासम्मको शिक्षालाई पूर्ण निशुल्क बनाइनु पर्ने , सामुदायिक विद्यालयमा दिवा खाजाअन्तर्गत २०७७–०७८ मा आएको बजेटको छानबिन गरी प्रतिवेदन सार्वजनिक गरिनु पर्ने , सामुदायिक विद्यालयका संचालक समितिहरु तुरुन्त गठन गरिनु पर्ने , अंग्रेजी माध्यमको बहानामा सामुदायिक विद्यालयहरुमा पुस्तक किन्नवापत आएको रकमको अनियमितता देखिएकाले तत्काल छानबिन गरी दोषी उपर कार्वाही गरिनु पर्ने , संस्थागत विद्यालयले लिँदै आएको अनलाइन कक्षावापत मासिक शुल्क ५० प्रतिशतभन्दा बढी नलिन सम्पूर्ण संस्थागत विद्यालयहरुलाई निर्देशन दिनुपर्ने , पाठ्यक्रम विकास केन्द्रद्वारा स्वीकृत गरिएका प्रकाशनका पुस्तकहरु तत्काल बन्देज गरिनु पर्नेलगायतका मागहरु विद्यार्थी संगठनहरुले अगाडि सारेका छन् ।

नेपाल विद्यार्थी संघ , अखिल क्रान्तिकारी र समाजवादी विधार्थी युनियनले झापामा रहेका उच्च शिक्षा हासिल गर्ने शैक्षिक संस्था क्याम्पसहरुमा भौतिक उपस्थिति नभइ कक्षा संचालन गरिरहेको यो अबस्थामा विद्यार्थीहरुलाई भौतिक रुपमा उपस्थित हुँदा पढाइएको सरह शुल्क लिइरहेको भन्दै आपत्ति जनाएका छन् । अनलाइन कक्षाको शुल्क ५० प्रतिशतभन्दा बढी नलिन उनीहरुले भदौ १४ गते एक विज्ञप्ति जारी गरी चेतावनी दिएका थिए । तर , त्यो क्रम नरोकिएपछि बाध्य भएर आन्दोलनमा जानु परेको अखिल क्रान्तिकारी झापाका अध्यक्ष अनिल सुवेदीले बताए । अभिभावकको ढाड सेक्नेगरी अनलाइन कक्षाको नाममा लिने गरिएको शुल्कको विरोधमा सरोकार राख्ने अभिभावक , विद्यार्थीलगायत सबैसँग समन्वय गरी आन्दोलनमा जाने नेपाल विद्यार्थी संघ झापाका सभापति राजेन्द्र उप्रेतीले जानकारी दिए ।

उनीहरुले आन्दोलनका कार्यक्रम सार्वजनिक समेत गरेका छन् । भदौ २२ देखि २४ गतेसम्म स्थानीय शिक्षा शाखामा माग पेश गर्ने , २३ गते जिल्ला शिक्षाा समन्वय इकाइ , जिल्ला प्रशासन कार्यालय , प्याब्सन , एन प्याब्सनलाई ध्यानाकर्षण गराउने र माग पूरा नगरिए भदौ २६ गते शैक्षिक संस्थाहरुको लेखा शाखामा तालाबन्दी गर्ने कार्यक्रम रहेको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्