सुरेश आले ‘सर्जु’
बिर्तामोड । बिर्तामोड नगरपालिका वडा नं.९ अन्तर्गतका अधिकांश टोल विकास संस्थाहरुको नामाकरण अग्रज राजवंशीका नामबाट गरिएकोे छ ।

स्थानीय निर्बाचनपछि बिर्तामोड नगरपालिकाको टोल विकास संचालन कार्यविधि २०७५ अनुसार टोल विकास संस्थाहरु गठन भएर संचालनमा छन् ।
बिर्तामोड नगरपालिका वडा नं.९ का वडा सचिव सुवास बिकले नगर र वडाका गतिबिधि व्यक्ति–व्यक्तिबीच पुगोस् भन्ने उद्धेश्यले टोल विकास संचालन कार्यविधि अनुसार टोल विकास संस्थाहरु गठन गरिएको बताए । जसअन्तरगत अहिले वडामा १६ वटा टोल विकास संस्था रहेका छन् । तीमध्ये अग्रज राजवंशीका नाममा ९ वटा टोल विकास संस्था रहेको देखिन्छ । साविकको श्रेस्ता र पुराना चलनचल्तीका भाषाको आधारमा ती टोलहरु गठन गरिएको सोही वडामा गठित धनबिरकामत पूर्व कोलाटोली टोल विकास संस्थाका अध्यक्ष गोपाल खरेलले बताए ।

वडा न.९ अन्तरगत रहेका टोल विकास संस्थामध्ये धनवीरकामत पूर्व कोलाटोली टोल विकास संस्था, टाँगाबारी टोल विकास संस्था, लखिबारी टोल विकास संस्था, तल्लो लखिबारी टोल विकास संस्था, नडियाबाडी टोल विकास संस्था, बद्रीबाडी टोल विकास संस्था, मेथीबारी केरकेरुबारी टोल विकास संस्था, सतालसिंहबारी टोल विकास संस्था र पटुबारी टोल विकास संस्था राजवंशी समुदायका अग्रज देउनियाहरुको नामबाट नामाकरण गरिएको पाईएको छ ।

धनवीरकामत पूर्व कोलाटोली धनवीर राजवंशीको नाममा नामकरण गरिएको संस्थाका अध्यक्ष गोपाल खरेलले बताए । संस्थाले नाम परिवर्तन गरी त्रिवेणी टोल राख्नको लागि बोर्ड तयार गरेता पनि श्रेस्ता हटाएर पहिचान दिलाउन नयाँ नामले सम्भव नभएपछि सोही नाम राख्नु परेको खरेलले बताए । धनवीर राजवंशीका छोरा कृष्णदेव राजवंशीका अनुसार धनवीर राजवंशी सो ठाउँका ७० विगाहा जमिनका मालिक थिए । धनवीर र अर्जुन गरी दुई दाजुभाइ सो ठाउँका ७० बिगाहा जमिनका जमिन्दार रहेको पाईएको छ ।
अन्य ८ वटा टोल विकास संस्था क्रमश ः टाँगाबारी टाँगालाल राजवंशीको नामबाट, लखिबारी र तल्लो लखिबारी लखि राजवंशीको नामबाट, नडियाबारी नडियालाल राजवंशीको नामबाट, बद्रीबारी बद्रीलाल राजवंशीको नामबाट, मेथीबारी केरकेरुबारी केरकेरु राजवंशीको नामबाट, सतालसिंहबारी सतालसिंह राजवंशीको नामबाट र पटुबारी पटु राजवंशी नामबाट राखिएको सो टोल विकास संस्थाका अध्यक्षहरुले जनाएका छन् । तत्कालीन झापा, मोरङ, सुनसरीमा राजवंशी, धिमाल र सन्थाल जातिको वर्चस्व थियो । यसैअनुरुप गाउँटोलका ती नामहरु तत्कालीन प्रख्यात व्यक्तिका नामबाट राखिएका हुन् । अग्रज राजवंशीहरुको झापा जिल्लामा सय बर्षभन्दा लामो ईतिहास छ ।
सरोकारवालाहरु के भन्छन् ?

प्रदिप राजवंशी ( सतालसिंह राजवंशीका कान्छा छोरा) – उनको बुझाईमा ईतिहास मेट्ने काम भएको छ । नयाँ विचार जन्मिनु राम्रो हो तर ईतिहास मेट्नु राम्रो होइन । समाजसेवी सतालसिंहको एउटा फोटोसम्म कतै नदेखिनु राम्रो मानिदैन । तथापि टोल विकास संस्थामा उहाँको नाम आउनु सम्मान नै हो । तत्कालिन ७०० बिगाहा जग्गाका जमिन्दार सतालसिंह हात्ती पालक पनि थिए । उनको ७० बर्षको उमेरमा निधन भएको थियो ।
युवराज पराजुली (बद्रीबारी टोल विकास संस्थाका अध्यक्ष )–हामीले हाम्रो तर्फबाट ईतिहासलाई नमेटिने गरी टोल विकास संस्थामा उहाँको नाम राख्यौं । अब के गर्नु पर्ने हो उहाँको सन्तानहरुले थप पहल गर्नु पर्न हुन्छ ।
उदिप राजबंशी( पटुबारी टोल बिकास संस्थाका अध्यक्ष) –पटु राजवंशीकै ईतिहास समेट्न हामीले यो नाम राखेका हौं । यसको जगेर्ना गर्छौं ।
बिष्णु राजबंशी (सतालसिंहबारी टोल विकास संस्थाका अध्यक्ष)– ईतिहास मेट्ने काम भैरहेको छ । एउटाले अर्काको अस्तित्व र पहिचानमाथि धावा बोल्नु राम्रो होइन ।
टंकप्रसाद आचार्य( टाँगाबारी टोल विकास संस्थाका अध्यक्ष )– पहिले त झापा, मोरंङ, सुनसरी राजवंशी, धिमाल र सन्थालहरुकै क्षेत्र त हो नि । अहिले उनीहरु लोप हुँदै गए ।
अमृत राजबंशी( नडियालाल राजवंशीका भतिज )– नडियालालको फोटो पाए मूर्ति राख्ने ईच्छा छ । यसमा अरुको पनि सहयोग चाहिन्छ ।
तुलसी खनाल ( मेथीबारी केरकेरुबारी टोल विकास संस्था अध्यक्ष ) – मेथी राजवंशी र केरकेरु राजवंशीको नामबाट टोलको नाम राखिएको हो । दुवैको ठूलो योगदान रहेको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्