सपना आचार्य ,
माई । नेकपा एमालेका केन्द्रीय सदस्य तथा १ नम्बर प्रदेशका अध्यक्ष देवराज घिमिरेले नेकपा एकीकृत समाजवादीलाई जनताले नपत्याउने दावी गरेका छन् ।

उनले माधव नेपाल र झलनाथ खनाललाई एमालेका जनताले वितृष्णा गरेकाले पार्टी विभाजन गरेको आरोप लगाए । ईलामको माई नगरपालिकामा नगरस्तरीय बृहत अगुवा कार्यकर्ता भेलालाई सम्बोधन गर्दै उनले झलनाथ र माधवलाई एमाले कार्यकर्तालगायत आम नेपालीले पत्याउन छोडेकोले पार्टीलाई टुक्र्याएको आरोपसमेत लगाए ।
पाँच सयभन्दा बढी अगुवा कार्यकर्ता भेला रहेको कार्यक्रममा प्रमुख अतिथि घिमिरेले माई नगरपालिकामा २०२८ सालदेखि नै कम्युनिस्टहरुले सेल्टर लिई काम गरेको भन्दै कम्युनिस्टको रगत र पसिना जोडिएको क्षेत्रको विकास, समृद्धि र स्थायित्वका लागि निरन्तर लागिपर्ने प्रतिबद्धता समेत जनाए ।

माधब नेपालप्रति लक्षित गर्दै घिमिरेले १६ बर्ष कम्युनिस्ट पार्टीको प्रमुख भएर कम्युनिस्ट पार्टी फुटाई कमजोर बनाउने नेतालाई जनताले चिनेको र आगामी दिनमा जवाफ दिने चेतावनी दिए । केन्द्रीय सदस्य घिमिरेले देउवा सरकारले जनघाती कार्य गरिरहेको भन्दै त्यसको गोटी नेपाल र खनाल भएको आक्रोश पोखे । ७२ प्रतिशत नागरिक अब्यवस्थित र भूमिहीन रहेको माई नगरपालिकाका लगायत देशभरका सुकुम्बासीले देउवा, माधब र झलनाथको कर्तुत थाहा पाईसकेको उनले बताए ।

नेकपा एमाले प्रदेश कमिटी सदस्य ध्रुब श्रेष्ठले हिजो फरक मत राखिएको भएपनि फुटमा पार्टीलाई लानु ठूलो कमजोरी भएको बताए । त्यस्तै जिल्ला कमिटी सचिवालय सदस्य बुद्धि खनालले २६ बर्ष शासन गरेको काग्रेस र ४ बर्ष सत्ता चलाएको एमालेको विकासलाई जनताले नजिकबाट नियालेको बताए । जिल्ला कमिटी सदस्य तथा माईका उपमेयर बिष्णुमाया आचार्यले माईमा पार्टी विभाजनको कुनै असर नरहेको बताइन् । उनले एमाले नीति कार्यक्रममा रही एकताबद्ध हुने र माई नगरपालिकामा ठूलो पार्टी नै बनिरहने दावी गरिन् ।

त्यस्तै माई नगर सचिवालय सदस्य तथा माईका मेयर दिपककुमार थेवेले माई नगरपालिका संघीय संरचनामा प्रवेश गर्दा ऋणमा रहेकोमा स्थानीय तहबाट हालसम्म गरेको विकास प्रगतिलाई समीक्षा गर्दै हालको विकास, स्थायित्व र लोकतन्त्रका लागि नेकपा एमालेको नेतृत्वमा ल्याएको विकासको बारेमा जानकारी दिए ।
माई नगर कमिटीका संयोजक मुखराज आङ्देम्बेको अध्यक्षता, सहसंयोजक मेघनाथ गिरीको स्वागत तथा सचिव हेमबहादुर लायोको संचालनमा भएको बृहत अगुवा कार्यकता भेलामा बिभिन्न पार्टी परित्याग गरी एक दर्जनभन्दा बढी ब्यक्ति एमालेमा प्रबेश गरेका थिए। नवप्रवेशीलाई प्रमुख अतिथि प्रदेश अध्यक्ष घिमिरेले टीका र खदा लगाइदिएर स्वागत गरेका थिए ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्