झापा , भदौ २७ । पेरुका क्रान्तिकारी नेता अबिमाइल गुजम्यानको निधन भएको छ ।

दर्शनशास्त्रका पूर्वप्राध्यापक समेत रहेका गुजम्यानको ८६ वर्षको उमेरमा निधन भएको हो । उनलाई गोञ्जालो नामले चिनिन्छ ।
उनले सन् १९९२ देखि आतंकवाद र देशद्रोहको अभियोगमा आजीवन कारावास भोगिरहेका थिए । उनी पेरुको क्रान्तिकारी समूह साइनिङ्ग पाथका नेता तथा संस्थापक थिए । गएको जुलाईमा उनलाई स्वास्थ्य समस्या देखिएपछि जेलबाट अस्पताल लगिएको थियो ।
पेरुमा एक दशकभन्दा लामो समय माओवादी गुरिल्ला समूह र पेरुको सुरक्षाकर्मीबीच चलेको युद्धको क्रममा झण्डै ७० हजार मानिस मारिएका वा बेपत्ता भएका थिए । गुजम्यान पक्राउ परेपछि साइनिङ्ग पाथलाई गम्भीर धक्का लागेको थियो । तर अझै पनि त्यस समूहका केही सदस्यहरु सक्रिय छन् । गुजम्यान पेरुको दक्षिणी तटीय क्षेत्रमा रहेको मोलेन्दो बजार नजिकै सन् १९३४ को डिसेम्बरमा जन्मिएका थिए । दार्शनिक नेता मानिने गुजम्यान विश्वभरका कम्युनिस्ट क्रान्तिकारीका प्रेरणाका स्रोत मानिन्छन् ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्