झापा, भदौ २७ । बिर्तामोड नगरपालिकाभित्र रहेका विद्यालयहरुले आगामी असोज ४ गतेदेखि भौतिकरुपमा प्रत्यक्ष शिक्षण सिकाई क्रियाकलाप गर्न पाउने भएका छन् ।

बिर्तामोड नगरपालिकाका नगरप्रमुख ध्रुवकुमार शिवाकोटीको अध्यक्षतामा आइतबार बसेको नगर शिक्षा समितिको बैठकले सबै विद्यालयहरुलाई सरकारले जारी गरेको स्वास्थ्य मापदण्ड,विद्यार्थी सिकाई सहजीकरण कार्यढाँचा २०७७ र शिक्षा,विज्ञान तथा प्रविधि मन्त्रालयले तयार गरेको निर्देशिका पूर्णरुपमा पालना गरी विद्यालयहरुको भौतिकरुपमा प्रत्यक्ष पठनपाठन गराउन निर्देशन दिने निर्णय गरेको हो ।

बैठकले सामुदायिक विद्यालयहरुले शिक्षण सिकाई क्रियाकलाप सञ्चालन गर्न अभिभावक भेलाबाट स्वीकृत भएको अभिभावक सहयोगबाहेकका अन्य कुनै पनि प्रकारको शुल्क नउठाउन निर्देशन दिने निर्णय गरेको छ ।यस्तै संस्थागत विद्यालयहरुले आफूले लिने शुल्क र अन्य आम्दानी र खर्चको सम्पूर्ण लेखा श्रेस्ता राखी खर्च र आम्दानीको विवरण तयार गरी सम्बन्धित संस्थाहरुसंग छलफल गर्ने गराउने निर्णय गरेको छ ।बैठकले सबै विद्यालयहरुलाई पाठ्यक्रम विकास केन्द्र सानो ठिमी भक्तपुरबाट स्वीकृत पाठ्यपुस्तक,सन्दर्भ सामग्री बाहेकका कुनै पनि सामग्रीहरु पठनपाठन नगराउन निर्देशन दिने पनि निर्णय गरेको छ ।

यस्तै आइतबारको बैठकले आचरण सचेतना शिक्षाको कक्षा १–२को पाठ्यक्रम र पाठ्यपुस्तकको सम्वन्धमा गत वर्ष २०७७मा निर्माण गरिएको समितिलाई निरन्तरता दिने र उक्त समितिले आवश्यकता अनुसार विज्ञ सदस्य थप गरी कार्य गर्ने र कक्षा १ र २को पाठ्यक्रम र पाठ्यपुस्तक निर्माण साथै कक्षा ३ देखि ८ सम्मको पुनरावलोकनको कार्य समेत गर्ने गरी जिम्मेवारी दिने निर्णय गरेको छ ।नगर शिक्षा समितिको बैठकले विद्यालयहरुमा प्रत्यक्ष सिकाई सञ्चालन शुरु भएपछि शिक्षा,यूवा तथा खेलकुद शाखाबाट अनुगमन गरी प्रतिवेदन पेश गर्ने समेत निर्णय गरेको हो ।

विद्यालयहरुमा कोभिड –१९को महामारीको कारण लामो समयदेखि प्रत्यक्षरुपमा हुने पठनपाठन ठप्प रहेको छ ।पछिल्ला दिनहरुमा संक्रमितको संख्या घट्दै गएका कारण स्वास्थ्य मापदण्ड अपनाएर विद्यालय खुलाउन लागिएको बिर्तामोडका शिक्षा शाखा प्रमुख तिलचन भण्डारीले जानकारी दिए ।
बैठकमा नगरप्रमुख शिवाकोटी,उपप्रमुख पवित्रा महतरा प्रसाई,प्रमुख प्रशासकीय अधिकृत गणेशप्रसाद दाहाल,शिक्षा शाखा प्रमुख तथा उपसचिव तिलचन भण्डारी,समितिका सदस्य गुरुभक्त न्यौपाने,कृष्णप्रसाद पाठक,युवराज कट्टेल,निता घतानी,द्रौपदी गणेश,संगीता सिवा,शाखा अधिकृत देवराज कार्की,दिनेशप्रसाद आचार्य र कर्मचारी मित्रलाल ओलीको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्