बिर्तामोड, भदौ २९ । कोरोना भाइरस संक्रमणको जोखिम अझै कायमै रहेको तथा चाडपर्व नजिकिएसंगै हुने भीडभाडलाई मध्यनजर गरी बिर्तामोड उद्योग वाणिज्य संघले आवद्ध ब्यवसायीहरुलाई कोरोनाविरुद्धको खोप लगाउने भएको छ ।

संघको पहलमा भेरोसिल खोपको पहिलो मात्रा लगाउन लागिएको हो । बिर्तामोडका ब्यवसायीहरुलाई आगामी असोज २ र ३ गते दुई दिन कोरोनाविरुद्धको खोप लगाउने निर्णय गरिएको बिर्तामोड उद्योग वाणिज्य संघका अध्यक्ष प्रकाश शिवाकोटीले जानकारी दिए । दुई चरणमा एक हजार ९५० जना ब्यवसायीलाई खोप लगाउने कार्यक्रम रहेको छ ।

खोप लगाउनका लागि आर्थिक वर्ष २०७७  ̷ ०७८ र आर्थिक वर्ष २०७८  ̷ ०७९ मा दर्ता वा नवीकरण भएका उद्योगी व्यवसायीलाई नेपाल सरकारले जारी गरेको परिचय पत्र र पानको फोटोकपी लिएर आएमा संघको रेकर्डमा दर्ता भएकालाई खोप लगाउने निर्णय भएको संघका प्रवक्ता संजीव घिमिरेले बताए । उनले भने–खोप लगाउन पहिला आउनेलाई पहिलो प्राथमिकता दिइन्छ । पहिलो दिन एक हजार र दोस्रो दिन ९५० जनालाई मात्र खोप लगाइन्छ । उनले कसैले अगाडी नै खोप लगाएको र दोस्रो डोजका लागि आए नपाउने स्पष्ट पारे । पहिलो चरणको खोप कार्यक्रम भएकाले नलगाउनेहरुलाई मात्रै यो खोप लगाइने उनले बताए ।
खोप बिर्तामोड नगरपालिकाका स्वास्थ्यकर्मीले लगाइदिने जनाइएको छ । कोरोनाको संक्रमणका कारण लामो समय व्यवसाय बन्द हँुदा समस्यामा परेको भन्दै यसअघि वाणिज्य संघले प्रमुख जिल्ला अधिकारी तथा स्थानीय सरकारलाई ज्ञापनपत्र बुझाउँदै ब्यवसायीलाई तत्काल खोप उपलब्ध गराउन माग गरेको थियो ।
स्थानीय र प्रदेश सरकारसंग पटक–पटक खोपको लागि आग्रह गरेपनि ब्यवसायीलाई सरकारले प्राथमिकता नदिएपछि बिर्तामोड उद्योग वाणिज्य संघले आफ्नै पहलमा ब्यवसायीहरुलाई खोप लगाउन लागेको जनाइएको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्