बिर्तामोड, भदौं २९ । झापाली महिला पत्रकारहरुको छाता संगठन नारी संचार गृह झापाको नवौं वार्षिक साधारणसभा मंगलबार सम्पन्न भएको छ ।
बिर्तामोडस्थित संस्थाको आफ्नै कार्यालयमा संस्थाका अध्यक्ष भीमा शिवाकोटीको अध्यक्षतामा नवौं वार्षिक साधारणसभा सम्पन्न भएको हो ।
साधारणसभामा संस्थाका सचिव भूमिका सुब्बाले सांगठनिक प्रतिवेदन र आर्थिक प्रतिवेदन कोषाध्यक्ष ज्योस्ना श्रेष्ठले प्रस्तुत गरेका थिए ।
कार्यक्रममा संस्थाका संस्थापक अध्यक्ष सावित्रा दाहाल, नेपाल प्रेस युनियन झापाका सभापति इन्दु पूर्वेली, रेडियो विराटका प्रबन्ध निर्देशक लीला अनमोल, बिर्तामोड नगरपालिकाका न्यायिक फाँटका अधिकृत टिका लामिछानेलगायतले शुभकामना मन्तव्य राखेका थिए ।
साथै मंगलबार नै बन्दसत्रसमेत सम्पन्न भएको छ । तीन सदस्यीय अध्यक्ष मण्डलका संयोजक तथा संस्थाका निवर्तमान अध्यक्ष अम्बिका भण्डारीको अध्यक्षतामा सम्पन्न बन्दसत्रमा संस्थाका सचिव र कोषाध्यक्षद्वारा प्रस्तुत प्रतिवेदन संशोधनसहित पारित भएको सहसचिव सुशिला संग्रौलाले जानकारी दिइन् । कार्यक्रममा स्वागत उपाध्यक्ष रेजिना गौतमले गरेकी थिइन् ।