झापा, भदौ ३१ । कोरोना संक्रमणदर र मृत्युदरमा कमी आएसँगै झापा जिल्लामा जारी निषेधाज्ञा हटाइएको छ ।

गत वैशाख २२ गतेदेखि जारी गरिएको निषेधाज्ञालाई विस्तारै विस्तारै खुकुलो बनाउँदै आएको कोभिड व्यवस्थापन समिति (डीसीसीएमसी) जिल्लामा निषेधाज्ञा हटाउने निष्कर्षमा पुगेको हो ।
बिहीबार जिल्ला प्रशासन कार्यालय झापामा बसेको डीसीसीएमसी बैठकले असोज १० गतेसम्म निषेधाज्ञालाई कायम राख्दै मेला, जात्रा र महोत्सव जस्ता भीडभाडजन्य सञ्चालन गर्न नपाउनेमा मात्र रोक लगाउने निर्णय गरेको छ । अन्य गतिविधिको हकमा सबै खुलाउने निर्णय गरेको छ ।
खाद्यान्न, फलफूल, तरकारी, बीउविजन, दुग्धजन्य पदार्थ, कपडा, हार्डवेयरलगायतका अन्य सबै प्रकारका पसलहरू बेलुका ८ बजेसम्म खुला गर्न पाउने निर्णय गरेको छ । होटेल, रेस्टुरेन्ट, खाजा घरहरु बेलुका ६ देखि बेलुका ९ बजेसम्म खुला गर्ने निर्णय गरिएको झापाका प्रमुख जिल्ला अधिकारी श्रवणकुमार तिमिल्सिनाले जानकारी दिए ।
बैठकले कोभिडले लामो समयदेखि बन्द रहेका सिनेमा हलहरू अल्टरनेट सिट खाली राखेर सञ्चालन गर्न पाउने, हाट बजार बेलुका ६ बजेसम्म सञ्चालन गर्न पाउने, पार्टी प्यालेसहरूले तोकिएको क्षमता भन्दा ५० प्रतिशतसम्म ग्राहक भेला गरी स्वास्थ्य सुरक्षाको मापदण्ड अपनाएर बेलुका ८ बजेसम्म सञ्चालन गर्न पाउने, शैक्षिक संस्था विद्यालयले भौतिक रुपमा पठनपाठन सञ्चालन गर्दा स्मार्ट लकडाउन सम्बन्धी कार्यविधि अनुसार विद्यालय व्यवस्थापन समितिको सिफारिसमा स्थानीय तहले डीसीसीएमसीसँग समन्वय गरी सञ्चालन गर्न पाउने, मेची बहुमुखी क्याम्पस सञ्चालन गर्ने र काँकडभिट्टा नाकाबाहेक अन्य सबै नाका बन्द राख्ने निर्णय गरेको छ । संक्रमणदर थपघट भएमा जुनसुकै बेला पुनरावलोकन गर्न सकिने निर्णय समेत गरिएको छ । संक्रमणदर शून्यको अवस्थामा आएमा आउँदो बैठकमा पूर्णरुपमा निषेधाज्ञा हटाउने सकिने जनाइएको छ ।