गौरीगञ्ज, असोज १ । गौरीगञ्ज गाउँपालिका वडा नं. ६ खजुरगाछीमा स्पोर्टस निर्माणसम्बन्धी उद्योग स्थापना हुने भएको छ ।

शेर्पा आउटडोर स्पोर्टस गुड्स ईण्डस्ट्रीज प्रालिले मुख्य उत्पादन शाखाको रूपमा ६ अर्बको लगानीमा उद्योग स्थापना गर्न लागेको हो । कम्पनीले स्पोर्टससम्बन्धी जुता, भेस्टलगायतका सामग्री उत्पादन गर्ने जनाएको छ ।
प्रारम्भिक पर्यावरणीय परीक्षणका लागि कम्पनीले स्थानीयबाट सुझाव लिन आयोजित सार्वजनिक सुनुवाई कार्यक्रममा पर्यावरणमा कुनै असर नपार्ने र स्थानीयलाई रोजगारी सवालमा पहिलो प्राथमिकतामा राख्ने उद्योगका प्रमुख सञ्चालक काजी शेर्पाले जानकारी गराएका छन् । उद्योग सञ्चालनसम्बन्धी सरकारले बनाएको ऐन र कानुनबमोजिम उद्योग सञ्चालन हुने कुरामा कम्पनी प्रतिबद्ध रहेको बताउँदै कम्पनी प्रमुख शेर्पाले करिब ११ सय जनाले प्रत्यक्ष रोजगारी पाउने बताए ।
करिब ९ विगाह जग्गामा स्थापना हुन लागेको कम्पनीले पालिकाभित्र रहेका योग्य क्षमता भएका युवालाई पहिलो प्राथमिकतामा राखी रोजगारी दिने र सीप नभएकालाई तालिम दिएर भएपनि स्थानीयलाई रोजगारीको अवसर दिने प्रतिवद्वता व्यक्त गरेको छ ।
स्थानीयले आफ्नो गाउँठाउँमा उद्योग स्थापना हुनु खुशीको कुरा भएपनि उद्योगबाट निस्कने फोहोरको सही व्यवस्थापन हुनु पर्नेमा जोड दिएका थिए । मुख्य कार्यालय काठमाडौंमा रहेपनि यहाँ कम्पनीको मुख्य उत्पादन युनिट रहने छ । कार्यक्रममा गौरीगञ्ज गाउँपालिका अध्यक्ष बाबुराजा श्रेष्ठ, प्रमुख प्रशासकीय अधिकृत सन्तोष श्रेष्ठ, कम्पनीका प्रमुख काजी शेर्पा, वडा नं. ६ का वडा अध्यक्ष बद्रीनारायण यादव, कम्पनीका परामर्शदाताका ईन्जिनियर दिनेश साह, समाजसेवी विजय अग्रवाल, पत्रकार आत्माराम राजवंशीलगायत कम्पनीका पदाधिकारी, स्थानीयहरूको उपस्थिति थियो ।