झापा , असोज ३ । झापामा आदिवासीहरुको भूमिमाथि तीब्ररुपमा अतिक्रमण बढिरहेकोे भन्दै त्यसप्रति नेपालका आदिवासीहरूको मानव अधिकारसम्बन्धी वकिल समूह ( लाहुर्निप)ले चासो व्यक्त गरेको छ ।
आदिवासीहरुले भोगचलन गर्दै आएको निजी वा सार्वजनिक जग्गामाथि अतिक्रमण गरी उनीहरुलाई विस्थापित गराउने क्रम बढेपछि लाहुर्निपले चासो राखेको हो । देवी गुठीलाई दान दिएको जग्गाबाट दाता डोमालाल राजवंशीका परिवारलाई उठीबास लगाउन खोज्ने षड्यन्त्रदेखि लिएर रेल्बे लाइनको नाममा आदिवासीलाई बिस्थापित गराउने ,बाह्रदशीमा इटाभट्टाका कारण प्रभावित पार्ने , लखनपुरमा आदिबासी रंगशालालाई बजेट नछुट्याउने , काँकरभिट्टामा आदिवासीहरुको समाधिस्थल भत्काउने , मेचीनगर ८ मा आदिवासीहरुको बसोबास भएको स्थानमा ल्यान्डफिल्ड साइट बनाउनेजस्ता घटनाले आदिवासीहरुको बाँच्न पाउने अधिकार हनन भएको भन्दै त्यस्ता कार्य तत्काल रोक्न लाहुर्निपले सम्बन्धित पक्षलाई सचेत गराएको छ । लाहुर्निपले आदिवासीको भूमिसम्बन्धी अधिकारका बारेमा वकालत गर्दै आएको छ ।
अनारमनीको दुर्गा मन्दिरलाई डोमालाल राजवंशीले दान दिएको १२ विगाह जग्गा विभिन्न भूमाफियाहरुले अपचलन गरेको अबस्थामा ती भूमाफियाहरुबाट जग्गा फिर्ता गराई त्यस्तै अर्को समूहले हत्याएर डोमालाल राजवंशीको परिवारलाई आफ्नो जग्गाबाट उठीबास लगाउन खोजिरहेको षडयन्त्रप्रति लाहुर्निपले गंभीर चासो लिदैँ कुनै पनि हालतमा डोमालालका सन्तानलाई उठाउन नहुनेमा जोड दिएको छ । डोमालालले दान दिएको जग्गा र भूमाफियाहरुबाट फिर्ता हुन लागेको विषयमा लाहुर्निपले कागजपत्र खोजी गर्ने लाहुर्निपका कोषाध्यक्ष तथा अधिवक्ता भिम राईले बताए ।
त्यस्तै रेल्वे लाइनको हल्लाका भरमा बिर्तामोड ३ सैनिकमोडका रंगलाल राजवंशी (भीम)को जग्गाजमिन सकिएको घटनाप्रति पनि चासो राखिएको छ । रेल्वे लाइन परेपछि जग्गा नबिक्ने अनि क्षतिपूर्ति पनि नपाइने भनेर त्रास देखाएपछि राजवंशी परिवारले आधाभन्दा बढी जग्गा बिक्री गरिसकेका छन् । ७ विगाह जग्गा रहेको राजवंशी परिवार सैनिकमोड क्षेत्रकै धनी रहेको थियो । रेल्वे लाइन आउने हल्लाको पछि लागेर आफूहरुलाई सस्तोमा जग्गा बेच्न बाध्य पारिएको रंगलालका छोरा भुपाल राजवंशीले बताए ।
राजवंशी परिवारलाई झुक्याएर जग्गा बिक्री गर्न लगाएकाले त्यसको क्षतिपूर्तिको व्यवस्था गरिनुपर्नेमा जोड दिइएकोे महासंघका पूर्व जिल्ला अध्यक्ष प्रेम घिसिङले बताए । त्यस्तै बाह्रदशीमा खोलिएका इटाभट्टाले आदिवासीहरुलाई धेरै प्रभावित पारेको भन्दै अहिले इटाभट्टा बन्द हुने अबस्थामा पुगेपछि प्रभाव कम भएको कुरा कार्यक्रममा उठाइएको घिसिङले जानकारी दिए । लाहुर्निपले भदौ २९ र ३० गते बिर्तामोडमा , ३१ गते काँकडभिट्टामा र १ गते केर्खामा अन्तरक्रियात्मक कार्यक्रम गरेको थियो । बिर्तामोडको कार्यक्रममा देवी गुठी , रेल्वे प्रभावित र इटाभट्टा प्रभावितका विषयमा कुरा उठेको थियो भने काँकडभिट्टामा समाधिस्थल भत्काएको र आदिवासी बस्तीमा ल्यान्डफिल्ड साइट बनाएको घटनाको तीब्र बिरोध गरिएको थियो । त्यस्तै केर्खाको कार्यक्रममा आदिवासी रंगशालाको विषयमा चर्चा गरिएको थियो ।