सुरेश आले ‘सर्जु’,
बिर्तामोड । कांग्रेस पार्टीका एक निष्ठावान कार्यकर्ता सम्पतलाल राजवंशी यतिबेला अस्वस्थ बनेका छन् ।

एक वर्ष ८ महिनाअघि कम्मर छेउमा हड्डी भाच्चिएपछि उनी अस्वस्थ बनेका हुन् । उनी अहिले खुट्टीको सहाराले मात्र घरभित्र– बाहिर गर्न सक्छन् । उनी बाहिर ननिस्केको लगभग २ वर्ष भईसकेको छ । त्यसकारण उनको साथीभाइसँग भेटघाट छैन । पार्टी र अन्य सम्पूर्ण कामकाज बन्द भएकाले उनी अहिले सास्ती भोगेसरह छन् । उपचार निरन्तर चलिरहे पनि बुढेसकालमा हड्डी जोडिन कठिन भएकोले आफ्नै खुट्टाले भर गरेर हिड्न सकिरहेका छैनन् । उनको अहिलेको यात्रा खुट्टीको भरमा घर आँगनसम्म मात्र सीमित छ ।

१८ बर्षको कलिलो उमेरमा कांग्रेस पार्टीमा प्रवेश गरेर अहिलेसम्म कांग्रेस पार्टीमै निष्ठावान भएर लागिपरेका छन् । यसैमा उनको रस भिज्यो । ‘म कांग्रेस नै हँु अब कांग्रेस नै भएर मर्छु’ उनले ठाने । निष्ठा र प्रतिज्ञाका कारण उनलाई अहिले बुढेसकालले छोइसक्दा समेत कांग्रेस पार्टीप्रतिको मोह बाँकी नै छ । अहिले ८९ वर्षको उमेरमा समेत सम्पतलाल कांग्रेसप्रतिको माया र श्रद्धा पोख्ने गर्छन् ।
१९९१ साल माघ ६ गते सोमबार बिर्तामोड नगरपालिका वडा न.९ साविक गरामनी गाउँ पंचायत ८ बद्रीबारी टोलमा आमा रुपमती राजवंशी र बुबा बद्रीप्रसाद राजवंशीको कोखबाट जन्मिएका थिए सम्पतलाल । उनले कठोर राणा शासन र पंचायती व्यवस्था भोगेका छन् । पंचायती शासनकालमा उनी ४ वर्ष उपप्रधानपंच र पाँच वर्ष प्रधानपंच हुँदै त्यसपछि १० वर्ष सोही पंचायतको ८ नं. वडाको वडा अध्यक्ष समेत बने ।

आफ्नो अगुवाईमा त्यसबेला भएका महत्वपूर्ण कार्यहरुमध्ये धिमाल टोल राजमार्ग निर्माण, विराटपोखरमा विराट आधारभूत विद्यालय स्थापना, नरियाबारीमा विद्यालय स्थापना, बिर्ताबजार शिवमन्दिर स्थापनाआदि भएको उनी संझिन्छन्् । त्यसबेला जनताकै काममा समर्पित भएर बिहान हिडेको मान्छे उनी बेलुकी ८ बजे मात्र घर फिर्थे । तर अहिले उनी अस्वस्थ भएपछि पार्टीका कार्यकर्ता र नेतासंग भेटघाट पुरै बन्द भएको छ ।
गंगाप्रसाद प्रसाई, दधिराम चुँडाल, डिल्ली सिटौला, सिके प्रसाई, रामबाबु प्रसाई, गिरिजाबाबु, मन्डा, भाजीखुवा, पंचम,बानालाल, टेकनारायण राजवंशी, मेथी राजवंशी, भाईया, गोपाल मन्त्री, केरकेरु, धनबीर आदि उनका तत्कालीन साथीहरु थिए । उनीहरुमध्ये कतिले यो धर्ती छोडेर गए, कति जीवित छन् । धेरैजसो चन्द्रगढी बडाहाकिमसंग उठबस हुन्थ्यो । बडाहाकिमसंग बाह्रदशीमा त्यसबेला डाका पक्रन गएको ईतिहास पनि उनीसंग ताजै छ ।

कर्तब्यनिष्ठ ईमान्दार भएकै कारण सम्पतलालले भएको जग्गा समेत बेचेर छोराछोरीको पढाइ खर्च जुटाउनु पर्यो । अंशमा पाएको ३६ विगाह ५ विगाहमा झर्यो । उनलाई कोही कसैले नराम्रो भनेनन् । गाउँघर कसैसंग यो उमेरमा आईपुग्दा समेत उनको नराम्रो भएन । सम्पतलालले राजनीति मात्र गरेनन् ,आफ्नो जातीय उत्थानको लागि पनि मरिमेट्ने काम गरे । ‘अहिलेसम्म आफ्नो संस्कारमा रहेर राजवंशी जातिलाई संस्कारको शिक्षा दिए’ यस्तो मान्छे खोजेर पनि नभेटिने उनका भान्जा सूर्यनारायण राजवंशी भन्छन् । उनले त्यसबेलामा दुःख गरेर पढेर मेट्रिक पास गरेका थिए । आफ्नो नाममा यहाँ केही राख्ने उनको ईच्छा छ । एउटा बाटोको नामै मात्र सम्पतलाल मार्ग नामाकरण गरिदिए उनको इच्छा पुरा हुने थियो । उनको ठाउँको नाम बद्रीबारीलाई सम्पतलालबारी बनाउन कोशिस गरे तर, भएन । उनीसंग ८ दशक लामो कांग्रेसको ईतिहास छ । उनीबाट सिक्नुपर्ने पाठ धेरै छ । उनका छिमेकीसमेत रहेका कांग्रेस क्षेत्रीय प्रतिनिधि गौरीप्रसाद घिमिरे अहिले उनको सहयोगी बनेका छन् । घिमिरेले कांग्रेस केन्द्रीय सदस्य सुधिरकुमार शिवाकोटी र कांग्रेस जिल्ला सभापति उद्धव थापालाई उनको अवस्थाबारे घरैमा लगेर जानकारी गराएको बताए । तर पार्टीले खासै उनको अशक्तताप्रति गम्भीर भएर ध्यान नदिएको घिमिरेको भनाई छ । ब्यक्तिगत तर्फबाट उनले सम्पतलाललाई भरपूर सहयोग गर्ने गरेको बताए ।

सम्पतलालको परिवार ७ पुस्तादेखि बिर्तामोड नगरपालिका ९ बद्रीबारी टोलमा बस्दै आएका छन् । दुईवटा विवाह गरेका उनको दुवै श्रीमतीले संसार छोडेर गए । कान्छीपट्टीको साइला छोरा नकुल राजवंशीसंग उनी बसेका छन् । दुईजना बुहारी पनि कांग्रेसका सक्रिय सदस्य छन् । उनी अहिले पार्टी र आफ्नै रोगले चिन्तित छन् । ‘अहिले अधिवेशन चलिरहेको छ अधिवेशनपछि उहाँहरुजस्ता पुराना पाका कांग्रेस कार्यकर्ताको खोजी गरी सम्मान वा के गर्न सकिन्छ सोच्ने छौ’ बिर्तामोड नगरपालिका वडा न.९ का वडा सभापति बासु अधिकारीले भने ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्