झापा , असोज ५ । ग्यास सिलिन्डर लिक भएर आगलागी हुँदा घाइते भएका झापा अर्जुनधाराका एक दम्पत्तिको उपचारको क्रममा मृत्यु भएको छ ।

ग्यास लिक हुँदा भएको आगलागीमा परी अर्जुनधारा ७ पुष्पलाल मार्गका रोम खनाल, उनकी श्रीमती दुर्गा खनाल र छोरा पंकज खनाल घाइते भएका थिए ।काठमाण्डौको किर्तिपुर अस्पतालमा उपचारका क्रममा खनाल दम्पत्तिको निधन भएको छिमेकी तथा सामाजिक अभियन्ता कमल पोख्रेलले जानकारी दिए ।उनका अनुसार उपचारकै क्रममा सोमबार राति पौने ८ बजे रोम खनालको निधन भएको थियो भने राति ११ः१५ बजे दुर्गा खनालको निधन भएको हो । छोरा पंकजको अवस्था भने सामान्य रहेको जनाइएको छ ।सामान्य अवस्थामा रहेका छोरा पंकजलाई अस्पतालले भोलि बुधबार डिस्चार्ज दिने जानकारी आएको छिमेकी पोख्रेलले बताए ।गत भदौ २६ गते शनिबार साँझ ग्यास लिक हुँदा आगजनी भएको थियो ।

आगलागीमा परी चारजना घाइते भएका थिए । रोम खनालको घरमा भएको सो आगलागीमा परी रोमसहित, उनका श्रीमती दुर्गा खनाल, छोरा पंकज खनाल र आमा मंगलादेवी खनाल घाइते भएका थिए ।मंगलादेवी सामान्य घाइते भएकी थिइन् भने बाँकी तीन जना गंभीर घाइते भएका थिए । आगलागीमा परी रोमको शरीरको ५० प्रतिशत, दुर्गाको ३० प्रतिशत र पंकजको १५ प्रतिशत भाग जलेको थियो ।खनालको परिवारमा मृतक रोमका आमा, एक छोरा र एक छोरी छन् । उनीहरु अहिले छिमेकीको घरमा बसिरहेका छन् ।यसैबीच, मृतक खनाल दम्पत्तिको काठमाडौँमै अन्त्येष्टि गरिने पोख्रेलले जानकारी दिएका छन्

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्