झापा ,असोज ५ । नेपाली काँग्रेसको चौधौं महाधिवेशनमा उठ्ने उम्मेद्वारहरुको कित्ता क्लियर हुँदै गएको छ ।

गाउँ र नगर अधिवेशनका उम्मेद्वारहरु को कुन् समूहका हुन् भन्ने सजिलै छुट्याउन सकिन्छ । असोज ९ गतेका लागि तोकिएको गाउँ र नगर अधिवेशनमा उम्मेद्वारहरु आफू फलानो समूहको भनेर खुलेरै मत माग्न थालेका छन । बिर्तामोडको नगर अधिवेशनमा देउवा समूह र सिटौला समूह चुनावी प्रतिष्पर्धामा उत्रिएका छन् । वर्तमान नगर सभापति तथा बिर्तामोड ३ का वडाध्यक्ष भोजराज सिटौला , सिटौला समूह र बितामोड ४ का वडाध्यक्ष कुलप्रसाद संग्रौला देउवा समूहबाट उम्मेद्वार बन्दै आ–आफ्ना नारा र एजेन्डासहित चुनावी मैदानमा उत्रिएका छन् । त्यसअघि वडा अधिवेशनमा पनि प्यानलको प्रतिष्पर्धा हावी भएको थियो । वडा अधिवेशनबाट निर्वाचित वडा कार्य समितिका पदाधिकारी र क्षेत्रीय प्रतिनिधिहरु कुुन समूहका हुन् भनेर सहजै अनुमान गर्न सकिन्छ । काँग्रेसको झापा जिल्ला अधिवेशनमा जिल्ला सभापति पदका लागि अहिलेसम्म उम्मेद्वारी घोषणा गरेका दुईजना देउमान थेबे र राम कट्टेलमध्ये थेबेले आफू सिटौला समूहको भएको स्पष्ट पारिसकेका छन् । केही साताअघि बाहुन्डाँगीमा आयोजित कार्यक्रममा थेबे र कट्टेल दुवैले एउटै सिटौला समूहबाट उम्मेद्वारी दिने जनाइएको थियो । तर, अहिले आएर कट्टेल देउवा समूहतर्फ ढल्किएका छन् । ‘ बाहुन्डाँगीको कार्यक्रममा मलाई मिडियाले सिटौला समूहको उम्मेद्वार भनेर चर्चा गरे ’उनले भने ,‘वास्तवमा त्यो होइन ।’ उनले गत असार १० गते पहिलो पटक जिल्ला सभापतिमा उम्मेद्वारी दिने घोषणा गरेका थिए । त्यसपछि भर्खरै दुई दिनअघि महामन्त्रीका उम्मेद्वार विश्वप्रकाश शर्मासँगै बिर्तामोडमा कट्टेलले फेरि उम्मेद्वारी घोषणा गरेका छन् । विश्वप्रकाश संस्थापन अर्थात देउवा समूहका हुन् । त्यसकै आधारमा कट्टेलले पनि अब देउवा समूहबाटै आफूलाई उम्मेद्वार बनाएको स्पष्ट भएको छ । यद्यपि उनले आफूलाई साझा उम्मेद्वार बताउने गरेका छन् । ‘म विश्वप्रकाश समूहको पनि हो ’उनले भने ,‘मलाई विश्वप्रकाशलगायत केन्द्रीय नेताहरुको शुभेच्छा र हार्दिकता रहेको छ ।’ चौधौ महाधिवेशनमा गुटभन्दा पनि विभिन्न समूहहरु चुनावी प्रतिष्पर्धामा उत्रिएको बताउँदै उनले आफूले कसैलाई नचिढ्याइ स्वस्थ्य प्रतिष्पर्धा गर्ने धारणा राखे । झापामा सिटौला र देउवा समूहबीच मुख्य प्रतिष्पर्धा हुने देखिएको छ । त्यसबाहेक अन्य समूह पनि देखिएका छन् । ती समूहहरुको पनि भूमिका महत्वपूर्ण हुने देखिएको छ । अहिले जिल्ला सभापतिका उम्मेद्वार थेबे र कट्टेल दुवैले चुनावी अभियानलाई तिब्रता दिएका छन् ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्