बिर्तामोड , असोज ६ । बहुजातीय साँस्कृतिक संग्रहालयसहितको निर्माणाधीन झापा नाटकघरलाई १ धुर जमिन दान गरी बिर्तामोडका एक दम्पतीले सोेह्र श्राद्धमा आफ्ना पितृहरुको स्मरण गरेका छन् ।

गोमेन्द्र बिर्तामोडेल इङ्गलिस स्कुलका प्रमुख गणेश खनाल र उनकी धर्मपत्नी बुधमाया खनालले प्रदेश नं १ कै पहिलो बहुजातीय साँस्कृतिक संग्रहालयसहितको निर्माणाधीन झापा नाटकघरमा पुगी एक कार्यक्रमबीच समूहका केन्द्रीय अध्यक्ष तथा झापा नाटकघर निर्माण कार्यका अभियन्ता माधब कल्पितसहितको टोलीलाई एक धुर जमिन बराबरको १ लाख १ हजार रुपैयाँको चेक हस्तान्तरण गर्दै सोह्र श्राद्ध प्रारम्भ गरेका हुन् । सबै जातजाति तथा भाषाभाषीको सामूहिक अपनत्व कायम हुनेगरी निर्माण भइरहेको साँस्कृतिक संग्रहालयसहितको नाटकघरले पूर्वीय लोक संस्कार र संस्कृतिको संरक्षण सम्बद्र्धन गर्दै अघि बढेकोमा आफूहरु समेत हर्षित भई यो महान र ऐतिहासिक कार्यमा आफ्ना पितृहरुको स्मरणमा सानो सहयोग गर्न पाएको खुशी लागेको खनालले बताए ।

आफ्नो जीवनकालको ८० बसन्त पार गरी ८१औ वर्षमा प्रबेश भइसकेको र मरेर जानुअघि समाजमा केही गरेर जान पाए हुन्थ्यो भन्ने सोचेर नै आफूले आउँदो पुस्तालाई समेत सेवा, सहयोग, दानधर्मप्रति प्रेरित गर्ने उद्धेश्यले यो श्रद्धारुपी श्राद्धको थालनी गरेको बताए । आफ्ना दुई सुपुत्रहरु गोमेन्द्र बहुमुखी महाविद्यालयका प्रिन्सिपल डा. रुपक खनाल र प्याब्सन बिर्तामोडका नगर अध्यक्ष तथा झापा नाटकघर निर्माण ब्यबस्थापन समितिका सदस्य उत्तम खनालका साथ झापा नाटकघर पुगेका खनाल दम्पतिले प्रतिकात्मक रुपमा आफ्ना सन्ततिलाई समेत पितृहरुप्रतिको श्रद्धा र समाजप्रतिको सेवा सहयोग र समर्पणको भावनालाई आउँदा दिनमा समेत निरन्तरता होस् भन्ने प्रेरणा प्रदान गरेका छन् ।

पूर्वीय संस्कार र संस्कृति बचाउँदै सबै जातजाति तथा भाषाभाषीको समान अपनत्व कायम हुनेगरी निर्माण भइरहेको नगरकै पहिलो नाटक घरको पूर्णताका लागि आफूहरुबाट निरन्तर सहयोग भइरहने र यसले सबैलाई प्रेरणा प्रदान गर्न सक्नेमा आफू पूर्ण आशावादी रहेको गोमेन्द्र महाविद्यालयका प्रिन्सिपल डा. रुपक खनालले बताए । समूहका केन्द्रीय अध्यक्ष माधब कल्पितले सञ्चालन गरेको कार्यक्रममा संस्थाका बरिष्ठ उपाध्यक्ष हरिप्रसाद भण्डारी ,संरक्षक माया सिटौला नाट्य विभाग प्रमुख गजेन्द्र पृथक, केन्द्रीय सदस्य माधवप्रसाद सिटौला ,देवीमाया प्रसाई , समूहका ब्यबस्थापक राजकुमार भट्टराईलगायतको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्