झापा , असोज ८ । दशैँका लागि काठमाण्डौ उपत्यकाबाट बाहिरिनेहरूका लागि यही असोज ११ गतेदेखि लामो दुरीका गाडीको अग्रिम टिकट बुकिङ खुलाइने भएको छ ।

यातायात व्यवस्था विभागले बिहीवार यातायात व्यवसायी, उपभोक्ता अधिकारकर्मी र ट्राफिक प्रहरीसँगको छलफलपछि असोज ११ गतेदेखि लामो दुरीका गाडीको अग्रिम टिकट बुकिङ खुलाउने निर्णय गरेको हो ।
यसअघि वर्षाका कारण सडकमा धेरै क्षति पुगेको र गाडी चलाउन समस्या रहेको बताउँदै यातायात व्यवसायीले सडक मर्मत गरेर मात्र दशैँको अग्रिम टिकट बुकिङ खोल्नुपर्ने बताउँदै आएका थिए ।
शुक्रवार सडक मर्मतको विषयमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका सचिव शिशिरकुमार ढुंगानासँगको छलफलपछि उचित निर्णय लिने सहमति भए पनि अग्रिम टिकट बुकिङ खोल्न तयार भएको नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका महासचिव सरोज सिटौलाले जानकारी दिए । उनले सडकका कारण समयमा गाडी आउन नसके त्यसको जवाफदेही आफूहरू नहुने पनि स्पष्ट पारे ।

महासंघले भाडा समायोजनको विषयमा सङ्घीय सरकारले निर्णय गरेको तर कतिपय प्रदेश सरकारले अझै भाडा समायोजन नगरेकाले तत्काल भाडा समायोजन गर्न माग गरेको छ ।
महासंघका महासचिव सिटौलाले नागरिक सहायता कक्षहरू काठमाण्डौका बसपार्कलगायतका सातै प्रदेश र सबै जिल्लामा राख्न छलफल भएको जानकारी दिए । उनले अनलाइन प्रविधिमाफत बुकिङ गर्न चाहनेले सहजै बुकिङ गर्ने व्यवस्थाको सुरुवात गरेका यातायात कम्पनीहरूबाट सहजै बुकिङ गर्न सकिने बताए ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्