झापा, असोज ८ । नेपाली कांग्रेसको १४औं महाधिवेशनअन्तर्गत बिर्तामोड नगर सभापति पदका लागि बिर्तामोड ४ का वडाध्यक्ष कुलप्रसाद संग्रौलाले भोलि उम्मेद्वारी दिने भएका छन् ।
२०१२ साल भाद्र २६ गते पिता हरिप्रसाद संग्रौला र माता स्व. कृष्णमाया, स्व.पवित्रा संग्रौलाका १० छोरा, ८ छोरीमध्ये काइला छोराको रुपमा पाँचथरको साविक पंचमी गा.वि.स. वडा नं ९ सिंबुवा हालको हिलिहाङ गाउँपालिका वडा नं. ४ मा जन्मेका कुलप्रसाद संग्रौला विद्यार्थी जीवनदेखि नै राजनीतिक यात्रामा लागेका थिए । २०४० सालमा पाँचथरकै अमरपुर गा.वि.स. वडा नं. ६ हाल हिलिहाङ गाउँपालिका वडा नं. २ निवासी पिता शिवकुमार न्यौपाने र माता विजयकुमारी न्यौपानेका ३ छोरा २ छोरीमध्येकी जेठी छोरी विमलाकुमारी न्यौपानेसँग वैवाहिक बन्धनमा वाँधिएका संग्रौला एक छोराका धनी छन् । छोरा किरणबावु संग्रौला आफ्नै रोजगारीका लागि अमेरिकाको वासिङ्गटन राज्यको सियाटलमा कार्यरत छन् । २०३३ सालदेखि २०४३ सालसम्म शिक्षण पेशामा आवद्ध भएर समाजसेवामा सक्रिय संग्रौला कसैलाई अन्याय पर्दा खुलेरै न्यायका पक्षमा बोल्ने स्वभावका छन् । नेपाली कांग्रेसको क्रियाशील सदस्यता स्व. नेता कृष्णप्रसाद भट्टराईको हातबाट २०४८ सालमा हासिल गरेका संग्रौला, २०४८ सालमा पार्टीको आठौँँ महाधिवेशनमा पाँचथर जिल्ला क्षेत्र नं. १ बाट क्षेत्रीय प्रतिनिधि सर्वसम्मत चयन भएका थिए । राजनीतिक यात्रालाई थप ब्यवस्थित बनाउँदै २०४५ सालदेखि पाँचथर उद्योग वाणिज्य संघको उपाध्यक्षको जिम्मेवारी पुरा गरेपछि २०४६ सालदेखि २०५६ सालसम्म उद्योग वाणिज्य संघ पाँचथरको अध्यक्ष पद उनले कुशलतापूर्वक सम्हालेका थिए । त्यही समयमा २०४८ साल बैशाख ३ गते सर्बमान्य नेता गणेशमान सिंह , नेपाली कांग्रेस महामन्त्री गिरीजाप्रसाद कोइरालालगायतको पाँचथरको फिदिम सदरमुकाममा भ्रमण हुँदा स्वागत समिति सदस्य बनेर कार्यक्रम सफल पार्न उनले अहम् भूमिका खेलेका थिए ।
२०४८ साल साउन ९ मा नेपाल रेडक्रस सोसाईटीको आजीवन सदस्यता हासिल गरेका संग्रौला, २०४८ साउन २५ गते पूर्वाञ्चल ढुवानी व्यवसायी संघको सदस्य बनेका थिए । त्यसैगरी २०४९ साल बैशाख ५ मा पाँचथर फिदिम माध्यमिक विद्यालयको संचालक समिति सदस्य, २०५० सालमा पाँचथर बहुमुखी क्याम्पसको संचालक समिति सदस्य, २०५० कार्तिक २२ मा नेपाली कांग्रेस फिदिम नगर समिति सदस्य, २०४६ सालको आन्दोलनपछि पाँचथर जिल्ला क्षेत्र नं १ बाट २०४८ सालमा नेपाली कांग्रेस क्षेत्रीय प्रतिनिधि , २०५२ सालदेखि २०५४ सालसम्म नेपाल उद्योग वाणिज्य महासंघको मेची अञ्चलबाट केन्द्रीय सदस्य साथै अञ्चल प्रतिनिधि, २०५२ साल फागुन ६ गते नेपाल स्काउट पाँचथरको सल्लाहकार सदस्य, २०५२ साल असोज ३० गते पाँचथर विद्यावरदान अंग्रेजी बोर्डिङ स्कुलको संचालक समिति सदस्य, २०५२ साल फागुन २ गते राष्ट्रिय खेलकुद परिषदको निर्णयबमोजिम पाँचथर खेलकुद विकास समितिको सदस्य, २०५३ साल साउन ९ मा पाँचथर हेल्पिङ ह्यान्डस् नेपालको संचालक समिति सदस्य, २०५७ साल साउन २ मा पाँचथर बहुमुखी क्याम्पसको गुरुयोजना निर्माण समितिको सदस्य रहेका थिए । हाल उनी संग्रौला वंश समन्वय तथा समाज कल्याण समितिको केन्द्रीय कोषाध्यक्ष रहेका छन् ।
२०५० सालमा झापाको बिर्तामोडमा वसाइ सरी आएका संग्रौला २०७२ साल चैत्र १० मा ज्येष्ठ नागरिक बिर्तामोड नगर समितिको अध्यक्ष बनेका थिए । त्यसैगरी २०७३ चैत्र ६ गते ज्येष्ठ नागरिक जिल्ला संघ झापाको जिल्ला सदस्य बनेका संग्रौला निरन्तर सामाजिक सेवामा तल्लिन छन् । हाल बिर्तामोड नगरपालिका वडा नं. ४ को वडा अध्यक्षको पद सम्हालिरहेका संग्रौलाले देश विदेशका थुप्रै महत्वपूर्ण स्थानहरुको अवलोकन भ्रमण गरेका छन् । १९९६ मा नेपाल उद्योग वाणिज्य महासंघ र जापानको सहयोगमा जापान, थाइल्याण्ड, हङकङको भ्रमण गरी २०७२ सालमा अमेरिकाको विभिन्न राज्यको भ्रमण गर्दै नेतृत्वका लागि राम्रो ज्ञान हासिल गरेका छन् ।
वडामा अध्यक्षको भूमिका निर्वाह गरिरहँदा आमनागरिकको भलाईका लागि विवादरहित काम गर्ने सवालमा अब्वल देखिएका संग्रौलाले वडाको विकासका लागि थुप्रै कामहरु गरिसकेका छन् । बाटो, पुल, कल्भर्ट, विद्युत, खानेपानीलगायतका पूर्वाधार निर्माणका क्षेत्रमा विशेष काम गरेका संग्रौलाले सामाजिक विकासका क्षेत्रमा समेत विभिन्न लक्षित वर्गसँग सम्वन्धित कार्यक्रम सञ्चालनमा समेत उत्तिकै ध्यान दिएका छन् । लक्षित वर्गका लागि सीपमुलक, खेलकुदलगायतका विभिन्न रचनात्मक कार्यक्रमलाई विशेष प्राथमिकतामा राखेर वडावासीहरुको हितमा कार्यक्रमहरु सञ्चालन गर्न संग्रौलाले कुनै कसर बाँकी राखेका छैनन् । नगरका हरेक गतिविधि नजिकबाट नियाल्ने गरेका संग्रौला कार्यपालिका बैठकमा समेत नागरिकको पक्षमा अडानयुक्त विचार राख्ने मध्येमा पर्छन् । पहिला नागरिकको सेवा त्यसपछि मात्र अन्य विषयलाई प्राथमिकता दिने संग्रौलाको नगर सभापतिको उम्मेद्वारी नगर समितिभित्रको वेथिति तथा विसंगतिविरुद्ध पार्टीलाई सुदृढ र ब्यवस्थित गर्ने लक्ष्य रहेको उपसभापतिका उम्मेद्वार पशुपति राजवंशीले बताए ।
बिर्तामोडमा कांग्रेसको भावी स्वरुप कस्तो बनाउने संकल्प गर्नु भएको छ ? भन्ने प्रश्नमा नेता संग्रौलाले भने “लोकतान्त्रिक विधि, विधान र पद्धतिमा चल्ने गुटबन्दीरहित संगठन कल्पना गरेका छौं । नगर समितिमा वैचारिक , कुशल , असल आचरण र आर्थिक पारदर्शितासहितको नेतृत्व आबश्यक छ । नगरको समृद्धि, राजनैतिक स्थिरता र लोकतान्त्रिक संविधानको रक्षार्थ लड्ने राजनीति, त्यसैगरी महंगी, कालोबजारी, भ्रष्टाचार एवम् सामाजिक विकृति र विसंगतिविरुद्ध लड्ने समाजको परिकल्पनासिहत नैतिकवान, निष्ठावान, अनुशासित एवम् इमान्दार कार्यकर्ताहरुको बिर्तामोड कांग्रेस निर्माण गर्ने हाम्रो लक्ष्य रहेको छ ।”
संग्रौलाको समूहवाट बिर्तामोड नगर समितिकोे लागि उपसभापतिमा बलराम कार्की र पशुपति राजवंशी सचिवमा दिपेन्द्र राउत र अच्युत दाहाल, सह–सचिवमा धर्मेन्द्र सिटौला र अमोद दाहालको टिम नगर अधिवेशनमा उत्रिएको छ ।