बिर्तामोड । नेपाली कांग्रेसको १४ औँ महाधिवेशनअन्तर्गत बिर्तामोड नगर अधिवेशनमा कुलप्रसाद सग्रौलाको समूहबाट उपसभापति पदका लागि बलराम कार्कीको उम्मेद्वारी पक्का भएको छ ।

बुबा स्व. विरवहादुर कार्की तथा माता पम्फामाया कार्कीका एक छोरी तथा ७ जना दाजुभाइमध्येका कान्छा छोराको रुपमा २०३० साल भाद्र ९ गते भोजपुर जिल्लामा जन्मेका बलराम कार्की २ वर्षको हुँदा २०३२ सालमा भोजपुरबाट झापाको अर्जुनधारा ५ पानीकलमा बसाई सरी आएका थिए । कार्की विद्यार्थी जीवनदेखि नै नेपाली कांग्रेसको राजनीतिमा सकृय राजनितिज्ञ हुन् । २०५१ सालमा झापाको बिर्तामोड नगरपालिका वडा नं. १ का बुबा रामकुमार रोक्का र आमा हिरादेवी रोक्काका ६ छोरी मध्येकी जेठी छोरी बन्दना रोक्कासँग वैवाहिक बन्धनमा बाँधिएका कार्कीका १ छोरी र १ छोरा छन् ।
कार्की अर्जुनधाराबाट २०४९ सालमा बिर्तामोड नगरपालिका वडा नं. १ मा वसाई सरी आएका थिए । २०६० सालमा नेपाली कांग्रेसको क्रियाशील सदस्य बनेका कार्कीले बिर्तामोड १ मै गणपति गार्मेन्ट स्थापना गरेर २० जनालाई रोजगारी दिएका छन् भने सुगम ट्रेडर्समा थप ७ जनाले रोजगारी पाएका छन् । २०६७ सालदेखि २०७३ सालसम्म झापा उद्योग वाणिज्य संघको अध्यक्ष बनेका कार्की उद्योग वाणिज्य संघ बिर्तामोडको पहिलो निर्वाचित अध्यक्ष हुन् । त्यसैगरी ६ वर्षसम्म झापा गोल्डकपमा बरिष्ठ उपाध्यक्ष भएर खेलकुदको विकासमा समेत राम्रो छवि बनाएका छन् । विर्तामोडको उद्योग वाणिज्य संघमा अध्यक्ष भएर काम गर्नेक्रममा २०७२ सालको भुइचालोबाट क्षति भएको गोरखाको वारपाक क्षेत्रमा ३ ट्रक राहत सामान सम्वन्धित क्षेत्रमा पुर्याउन सफल कार्कीको नेतृत्वले सहयोगस्वरुप ब्यवसायीबाट उठेको बाँकी ३ लाख रकम जिल्ला प्रशासन कार्यालय झापामार्फत प्रधानमन्त्री राहत कोषमा योगदान गरेको थियो । त्यसैगरी ताप्लेजुङ र सप्तरीका अग्नीपीडितहरुका लागि समेत राहत संकलन गरी सम्वन्धित क्षेत्रमा पुर्याउन सफल भएका थिए । बिर्तामोड हुँदै जाने पूर्व–पश्चिम राजमार्गको बिर्तामोड बजारभित्र मध्य भागमा बृक्षरोपण गरी नगरको सुन्दरतामा थप ऊर्जा थपेका छन् । कार्कीको पालामा रोपिएका रुखहरुले शितलता प्रदान गर्न थालिसकेका छन् । त्यसैगरी बिर्तामोड नगरपालिकाभित्र पहिलोपटक घुम्ती शौचालय स्थापना, बिर्तामोडका बाटा छेउमा सोलार वत्ति जडान, अतिथि सदन छेउमा पर्ने अदुवा खोलाको पुल मर्मत, विभिन्न बाटाहरु मर्मतलगायतका कामहरुमा आमनागरिकको मन जित्न सफल छन् कार्की ।
आफ्नो पालामा सम्हालेको बिर्तामोड उद्योग वाणिज्य संघलाई २ पटक जिल्लाकै उत्कृष्टको सूचीमा दर्ज गराएका कार्की बिर्तामोडको वाणिज्य संघलाई चिनाउन सफल भएका छन् । उद्योग वाणिज्य संघमा ब्यवसायीका हकहितका लागि अहोरात्र खटिएका कार्की एक समाज सुधारक तथा सामाजिक अभियन्ता पनि हुन् ।
बिर्तामोड कांग्रेसको उपसभापति पदका दावेदार कार्की सभापतिका उम्मेद्वार कुलप्रसाद कार्की समूहमा छन् । सवैले अपनत्व महसुस हुनेगरी सम्पूर्ण कार्यकर्ता, बुद्धिजीवि, विद्यार्थीलगायत सम्पूर्ण पक्षलाई अटाएर संगठन विस्तार गर्ने कार्कीको दावी छ । गुट तथा उपगुटको राजनीति समाप्त पार्दै नेपाली कांग्रेस बिर्तामोडलाई एउटै मालामा एकत्रित गर्ने कार्कीको योजना छ । कुलप्रसाद संग्रौलाको नेतृत्वमा ‘एक ब्यक्ति एक पद एक ब्यक्ति एक कार्यकाल’को नारा लिएर आफूहरु चुनावी मैदानमा उत्रिएको काकीको भनाई छ । आफ्नो समूह निर्वाचित भए नगरका सम्पूर्ण क्रियाशील सदस्य तथा नागरिकहरुको हकहितमा काम गर्दै नेपाली कांग्रेसका दिवंगत कार्यकर्ताहरुको सपना साकार पार्न गुरुयोजना वनाएर अगाडि बढ्ने कार्कीले प्रतिबद्धता जनाएका छन् ।
कुशल युवा राजनितिज्ञ राउत
भेदभावरहित राजनीतिको विकासका लागि कुलप्रसाद संग्रौला नेतृत्वको समीकरणमा सचिव पदमा अटाएका दिपेन्द्र राउत विद्यार्थी राजनीतिवाट उदाएका एक कुशल युवा राजनितिज्ञ हुन् ।
२०३४ सालमा झापाको साविक अनारमनी गा.विस. वडा नं. २ हालको बिर्तामोड नगरपालिका वडा नं. ४ मा पिता स्व.मचिन्द्र राउत तथा माता भिमकला राउतको कोखबाट २ दाजुभाइमध्ये जेठा छोराको रुपमा जन्मेका राउतले राजनीतिशास्त्रमा काठमाण्डौको रत्न राज्य क्याम्पसबाट स्नातक तह उत्तीर्ण गरेका छन् । अखिलको गढ मानिने रत्न राज्य क्याम्पसबाट नेपाल विद्यार्थी संघको राजनीतिमा सामान्य कार्यकर्ता भएर उदाएका राउत २०६२ सालमा चितवनका स्वर्गीय ललितबहादुर खड्का र माता मनषा खड्काकी एकल छोरी अर्चना खड्कासँग वैवाहिक वन्धनमा बाँधिएर १ छोरा र १ छोरीका धनी छन् ।
अध्ययनपश्चात् युनिलिभर नेपाल लिमिटेडमा १० वर्षसम्म जागिरे जीवन ब्यतित गर्दै सक्रिय राजनीतिको पाटो पनि सँगसंगै अगाडि बढाएका थिए । त्यसपछि हार्डवेयर ब्यवसायबाट राम्रो आम्दानीको श्रोत ब्यवस्थापन गर्न सफल राउतको अग्रसरतामा २०६७ सालमा शिखर साकोस स्थापना गरियो । शिखर साकोसको अध्यक्ष भएर गरामनी, बिर्तामोड र राजगढमा शाखा विस्तारका साथै शिखर बजार र आइसक्रिम ल्याव स्थापना गरी ४० जनालाई प्रत्यक्ष रोजगारी दिन सफल भएका छन् । जसले गर्दा युवालाई देशमै संरक्षण गर्ने राज्यको दायित्वमा समेत योगदान गरेका छन् । राउतको डिजाइनमा नेपाली कांग्रेस झापाका कुशल स्वर्गीय नेता लक्ष्मण खड्कालगायतका दिवंगत नेता कार्यकर्ताको सपना साकार पार्ने अठोटका साथ संग्रौला समूहले विभिन्न क्षेत्रमा योजनावद्ध कामको थालनी गरिरहँदा लक्ष्मण खड्का जो उहाँको काका हुनुहुन्थ्यो, उहाँको जग्गामा लक्ष्मण मार्केट निर्माणाधिन अबस्थामा रहेको छ । हरेक कार्यकर्ता ब्यावसायिक बन्नु पर्छ र ब्यवसायबाट आर्जन गरेको केही अंश राजनीतिमा खर्च गर्नुपर्ने बिर्तामोड सिटी सेन्टर स्थापना गर्ने सेयर होल्डर समेत रहेका राउतको धारणा छ ।
विशेष गरेर नेपाली कांग्रेसको राजनीतिमा बाबुदेखि छोरा हुँदै नातिसम्म पुरानो राजसँस्थाको प्रथाजस्तो पार्टीको नेतृत्वभन्दा पनि दक्ष तथा सक्षम नेतृत्वको विकास गर्दै पार्टीमा वदलाव ल्याउनु पर्ने विचार राख्ने राउत युवाका आकर्षण पनि हुन् । नेपाली काग्रेसमा जुझारु युवाहरुको सहभागिता वढाउँदै आर्थिक उपार्जनका लागि स्वावलम्वी बनाउन पार्टीले भूमिका खेल्नु पर्ने उनी तर्क राख्छन् । तर राजनीति नै ब्यवसायिकरण हुन नहुने उनको तर्क छ । क्रियाशील सदस्यलाई गर्व हुने तवरले पार्टीका गतिविधि सञ्चालन गर्ने सवालमा बिर्तामोडको पुरानो नेतृत्व चुकेको बताउँदै यसको विकल्पमा आफ्नो टिम कुलप्रसाद संग्रौलाको नेतृत्व बनाएर अगाडि बढेको उनको भनाई छ ।
संग्रौलाको नेतृत्वलाई सहयोग गरेर नेपाली कांगे्रस बिर्तामोडलाई अगाडि बढाउन बिर्तामोड नगरपालिकाका वडाका प्रतिनिधि साथै क्षेत्रीय प्रतिनिधिहरुलाई आग्रह गर्दै अवको चार वर्षमा बिर्तामोडको काँग्रेसलाई देशकै नमूना बनाउने लक्ष र अठोट रहेको युवा नेता राउतले जानकारी दिए । नेपाली कांग्रेसको सुविधासम्पन्न नगर कार्यालय भवन निर्माण गर्ने योजनासँगै क्रियाशील सदस्यहरुलाई प्रत्यक्ष अनुभूति हुने तवरका गतिविधिलाई प्राथमिकतामा राखेर कार्ययोजनासहित आफ्नो टिमले काम गर्ने राउतको दावी छ । उनी भन्छन् ‘नयाँ मान्छे पार्टीमा अगाडि बढ्ने भयो भन्ने मानसिकतालाई चिर्नुपर्छ । पार्टीको लागि जसले नयाँ भिजन, दिशानिर्देश गर्नसक्छ, उसलाई स्वागत गर्नु नै साँचो लोकतन्त्र हो । अनि सच्चा कार्यकर्ताको धर्म हो । हामी लालगेडी हुन सकियो भने मैले यो गरे, त्यो गरे भन्न आबश्यक छैन , जनताले आफै मुल्यांकन गर्छ , जनताले रुचाए भने कसैले छेक्न सक्दैन ।’ चुनावी मैदानमा उत्रिएका राउत आफ्नो टिमको भिजन र मिसन क्लियर हुँदा मतदाताहरुले विश्वास गर्ने राम्रो आधार स्तम्भ तयार भएको बताउँदै ४ बर्षको कार्यकालमा बिर्तामोड कांग्रेसभित्र आमुल परिवर्तन गर्दै आफूहरुले परिकल्पना गरेको कांग्रेस कस्तो हुन्छ भन्ने स्पष्ट भिजन रहेको दावी गर्छन् । आफूहरुको उम्मेद्वारी परिवर्तनका लागि मात्र नभएर कस्तो नेपाली कांग्रेस बनाउने भन्ने स्पष्ट भिजन रहेको उनी बताउँछन् ।
नेपाली कांग्रसलाई राम्रो बनाउने , सुदृढीकरण गराउने समय भनेको अधिबेशन हो । बिगत, बर्तमान र भविष्यको सम्पूर्ण सदस्यहरुलाई एकत्रित र गतिशील बनाउँदै विस्तारका लागि आफ्नो टिमले ४ वर्षे कार्ययोजना बनाएर अगाडि बढेको राउतले जानकारी दिए । कुलप्रसाद संग्रौलाको टिम आर्थिक, सामाजिक एवम् सांगठनिक हिसावमा पनि बिर्तामोडका लागि आवश्यक रहेको हुँदा ४ वर्षको कार्यकालपछि पार्टीको मुहार परिवर्तन हुने उनको दावी छ ।
सचिव पदका राउत सफल ब्यावसायिक यात्राले आर्थिक पक्ष मजबुत भएका राजनितिज्ञ हुन् । राजनीतिलाई पेसा नबनाई भ्रष्टाचाररहित संग्रौलाको टिम निस्वार्थ समाजसेवामा लाग्ने समेत उनी बताउँछन् ।
‘सवै अट््ने देश, सवैलाई जोड्ने कांग्रेस’ भन्ने सिद्धान्तलाई यथार्थतामा लागु गर्नुपर्ने विचार राख्ने राउत पार्टीपंक्तिका युवाहरुमध्ये पनि फरक विचार राख्ने, पार्टीभित्र हुने अन्याय र गुटबन्दीको विरुद्धमा विद्रोह गर्ने मध्येमा अग्रपंक्तिमा पर्ने गरेका छन् । जेष्ठ नागरिक, युवा, बालबालिका साथै विद्यार्थीहरुका क्षेत्रमा समेत विशेष कार्यक्रम सञ्चालनको भिजनसहित संग्रौलाको टिम मतदाताहरुलाई मतका लागि आग्रह गर्दै घरदैलो अभियानमा जुटेको छ । संग्रौलाको टिमले आफूहरु १४ औँ महाधिवेशनमा निर्वाचित भए अर्को कार्यकालका लागि नयाँ नेतृत्व चयन हुने समेत घोषणा गरिसकेको छ । जसले गर्दा पार्टीमा क्रियाशील नयाँ अनुहारहरुले सञ्चालनको अवसर पाउने देखिन्छ ।