बिर्तामोड , असोज १२ । अनारमनी बिर्ताबजारले एकजना समाजसेवीसँगै इतिहासका ज्ञातालाई गुमाएको छ ।
बिर्ताबजार अनि बिर्तामोडको पुरानो इतिहास जान्ने गौरवती राजवंशीको सोमवार राति १२.३० बजे ८६ वर्षको उमेरमा बिएण्डसी हस्पिटलमा निधन भएको हो । उनी केही समयदेखि अस्वस्थ रहेकी थिइन् । बिर्ताबजारका नामीगामी स्वर्गीय सतानुसिंह राजवंशीकी धर्मपत्नी गौरवतीलाई बिर्ताबजार जंगलोमुलुक हुँदादेखिको अबस्था थाहा थियो । बिर्तामोड ३ स्थित सतानुवारीमा आफ्नो घरसहितको बस्तीबाहेक अरुतिर जंगलै जंगल भएको बेलादेखिको भोगाई थियो उनीसँग । उनलाई संझना भएअनुसार त्यतिबेला सतानुबारीमा उनीहरुको मात्र घर थियो चारैतिर जंगलैजंगल । बिर्ताबजारमा पनि धेरै घर थिएनन् । बिर्तामोड भएको ठाउँमा काशघारी थियो । पछि मात्र शहरीकरण भएको हो । त्यतिबेलाको बिर्ताबजारमा मात्र नभएर झापा जिल्लामै उनका श्रीमान सतानुलाई नचिन्ने कोही थिएनन् । तीनपल्ट प्रधानपञ्च भएका सतानु प्रख्यात थिए । राजनीतिक , आर्थिक , सामाजिक हरेक क्षेत्रले उनी निपुण थिए । अहिलेको सैनिक मोडको सिंगो शहर अवस्थित सम्पूर्ण जग्गा गौरवतीकै थियो । उनको श्रीमानको ख्याति र योगदानकै आधारमा त्यस ठाउँलाई सतानुबारी भन्ने गरिन्थ्यो । बिर्तामोडले एकजना पुराना व्यक्तित्व गुमाएकोमा समाजसेवी राजकुमार पोखरेलले दुख व्यक्त गरेका छन् । ‘उहाँसँग इतिहासका धेरै अनुभव थियो ’ बिर्तामोडको इतिहास तयार गर्न लागेका पोखरेलले भने ,‘ पुराना ब्यक्तिहरु प्रायः सबै स्वर्गबास भइसके ।’
गौरवती पुराना बासिन्दा मात्र नभएर समाजसेवी पनि थिइन् । गौरवती सतानुसिंह राजवंशी स्मृति प्रतिष्ठान र कंचनजंघा हस्पिटलकी संस्थापक अध्यक्ष गौरवतीले विभिन्न सामाजिक कार्य गरेकी थिइन् । प्रतिष्ठानलाई ७ कठ्ठा जग्गा दान दिएकी थिइन् भने प्रतिष्ठानको जग्गामा निर्मित मन्दिर , सामुदायिक भवन , टहरा, पोखरी उनैले बनाइदिएकी हुन् । त्यस्तै कंचनजंघा हस्पिटलमा पनि उनको ठूलो देन रहेको छ । उनले दिएको जग्गामा कंचनजंघा हस्पिटलको नयाँ भवन निर्माणाधिन छ । त्यस्तै महेन्द्र रत्न माविलाई पनि उनले जग्गा दान दिएकी थिइन् भने मेची अस्पतालमा एउटा कोठा निर्माण गरिदिएकी थिइन् । दानवीरको रुपमा कहलिएकी गौरवतीबाट धेरैले जग्गा निशुल्क लिएका छन् । छोराछोरी नभएकी गौरवती आफ्ना श्रीमान सतानुको निधनपछि एक्लै बस्दै आएकी थिइन् । बुढेसकालमा उनी बेसहाराजस्तै थिइन् । धनसम्पति पर्याप्त भएपनि उनलाई स्याहार सुसारको कमी थियो । त्यही अबस्थामा उनको निधन भएको हो ।
केही महिनाअघि उनले आफ्नो टोलको नाम परिवर्तन गरिएकोमा प्रतिदिनसँग ठूलो गुनासो गरेकी थिइन् । आफ्नो श्रीमान् सतानुको नामबाट राखिएको बस्तीको नाम परिवर्तन गरेपछि वयोबृद्धा गौरवती दुखी थिइन् । सतानुबारीलाई नाम परिवर्तन गरी सैनिकमोड टोल विकास संस्था र दरबार चौक टोल विकास संस्था राखिएको हो । ती टोल विकास संस्थाको नाम हटाइ पुरानो ऐतिहासिक नाम सतानुबारी राखिनुपर्ने भन्दै राजवंशी विकास प्रतिष्ठानलगायतका संस्थाहरुले वडा कार्यालयको ध्यानाकर्षण गराइसकेका छन् । गौरवतीको मंगलबार बिहान कन्काई माईमा अन्त्येष्टि गरिएको छ । नेपाली काँग्रेसकी साधारण सदस्य गौरवतीको शवलाई पार्टीका केन्द्रीय सदस्य तथा संविधानसभा सदस्य सुधिरकुमार शिवाकोटी र नगर सभापति भोजराज सिटौलाले पार्टीको झन्डा ओढाइदिएर श्रद्धाञ्जली दिएका थिए ।