दमक , असोज १३ । खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय झापाले खाद्य स्वच्छताको बिषयमा दमकका सरोकारवालाहरुसंग छलफल गरेको छ ।

खाद्य वस्तुको उत्पादनस्तरदेखि बिक्री वितरण एवम् आयात निर्यातसम्म खाद्य ऐन २०२३ अनुरुप खाद्य गुणस्तर नियमन तथा निरीक्षण र प्रमाणीकरण गर्ने कार्यलाई प्रभावकारी रुपमा कार्यान्वयन गर्ने सम्बन्धमा छलफल भएको हो ।

बजारमा अनुगमनमा देखिएका समस्याहरुको बिषयमा गहन रुपमा छलफल भएको थियो । खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय झापाका कार्यालय प्रमुख भरतबहादुर पुरीले उपभोक्ताको हित संरक्षणमा झापालगायत पूर्वी पहाडी जिल्लाहरुमा आफूहरुले निरन्तर रुपमा कार्य गर्दै आएको जनाउँदै अहिलेसम्मका उपलब्धिहरु सार्वजनिक गरेका थिए ।
दमक उद्योग बाणिज्य संघका बरिष्ठ उपाध्यक्ष गोपाल गुरागाईले बजार अनुगमनका क्रममा देखिएका समस्या र चुनौतीहरुको बिषयमा भनाई राखेका थिए । उनले उपभोक्ताहरुको हितमा ब्यवसायीहरु लाग्नु पर्नेमा जोड दिदै सरोकारकावालाहरु सबैको सहकार्यमा समस्याको समाधान गर्न सकिने जनाए ।
उपभोग्य मिति समाप्त भएका सामग्रीहरु फिर्ताको बिषयमा डिलरहरुबाट ब्यवसायीहरु मारमा परेकाले यस बिषयमा उनले ध्यानाकर्षण गराए । ब्यवसायीहरुले कतिपय असम्भव बिषयहरुलाई लिएर सुधार गर्न भन्दै चेतावनी दिने गरिएको भन्दै ब्यवहारिक पक्ष हेर्न आग्रह गरेका थिए ।
सो अवसरमा खाद्य वस्तु उत्पादन तथा बिक्री बितरण गर्दा अतिआवश्यक लेबलको बिषयमा पनि छलफल भएको थियो । लेवल नभएका सामग्रीहरु बिक्री वितरण गर्नु दण्डनीय हुने भन्दै ब्यवसायीहरुलाई यसमा सचेत हुन भनिएको थियो ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्