कनकाई,असोज १३ । कनकाई छठ सेवा समाजको अध्यक्षमा राजकिशोर चौधरी सर्वसम्मत रुपमा चयन भएका छन् ।

छठ समाजको छैटौं साधारणसभा एवम् पाँचौं अधिवेशनबाट राजकिशोर अध्यक्षमा सर्वसम्मत चयन भएका हुन् । समाजका वरिष्ठ सल्लाहकार जगतनारायण मण्डलको संयोजकत्वमा संस्थापक अध्यक्ष उपेन्द्र प्रधान र पूर्व अध्यक्ष चन्द्रशेखर (चन्दन) शाह सदस्य रहेको निर्वाचन समितिको पहलमा सर्वसम्मत गरिएको हो । संस्था स्थापना हुनु अघिदेखि नै छठ पूजाका लागि महत्वपूर्ण योगदान दिँदै आएका राजकिशोर छठ समाजको विभिन्न जिम्मेवारी सम्हाल्दै यसअघि वरिष्ठ उपाध्यक्ष रहेका थिए । आगामी कार्यकालका लागि अध्यक्ष पदमा तीनजनाको दावेदारी रहेको भएपनि तीन दिनसम्मको व्यापक छलफलपछि चौधरीको नेतृत्वमा कार्यसमिति सर्वसम्मत चयन भएको बताइएको छ । सामाजिक क्षेत्रमा युवाहरुकाबीच लोकप्रिय बन्दै आएका अध्यक्षका अर्का प्रत्यासी खगेन्द्र महतोलाई आउँदो कार्यकालमा अध्यक्षको जिम्मेवारी दिनेगरी हाल वरिष्ठ उपाध्यक्षमा बस्न समाजका अग्रजहरुबाट सुझाव आएपछि सोहीअनुरुप यस पटक महतो वरिष्ठ उपाध्यक्षको जिम्मेवारीमा रहेका छन् । छठ समाजको स्थापनाकालदेखि नै विभिन्न जिम्मेवारी सम्हाल्दै आएका महतो छठ समाजको पूर्व महासचिव समेत हुन् । त्यस्तै अध्यक्षका अर्का प्रत्यासी शिवशंकर महासेठले समेत आफ्नो उम्मेद्वारी झिकेर सर्वसम्मत नेतृत्व चयनका लागि आफ्नो तर्फबाट त्याग देखाएका थिए ।
यसैगरी कार्यसमितिका नवनिर्वाचित अन्य पदाधिकारीहरुमा उपाध्यक्ष मुन्ना शाह, महासचिव रविन्द्र गुप्ता, सचिव किरण कारक र कोषाध्यक्षमा दिनेश ठाकुर सर्वसम्मत चयन भएका छन् । सदस्यहरुमा नेत्र सोनी, अशोक शाह, विनोद चौधरी, राकेश चौधरी, सञ्जय शाह र महिला सदस्यद्वयमा अन्जु शाह र शोभा शाह पनि सर्वसम्मत चयन भएको निर्वाचन समितिका सदस्य प्रधानले बताए ।