दमक, असोज १४ । नेकपा माओवादी केन्द्र दमक नगर कमिटीले दमक २ स्थित हिमालय माध्यमिक विद्यालयमा विद्यालय सञ्चालनका क्रममा करोडौं रकम हिनामिना भएको भन्दै त्यसको सत्य तथ्य छानविन गरी दोषीउपर कानुनी कारवाही गर्न माग गरेको छ ।

देशकै नमुना विद्यालयको रुपमा तीनै तहका सरकारबाट ठूलो मात्रामा अनुदान पाउँदै आएको उक्त विद्यालयमा भएको आर्थिक हिनामिनाको घटनामा तीन सदस्यीय विद्यालय व्यवस्थापन समितिको प्रत्यक्ष संलग्नता भएको पाटीद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।
पार्टीका नगर सचिव तीर्थराज बस्नेत (शंकर ) र इन्चार्ज वेदु गौतमद्धारा आज जारी विज्ञप्तिमा भनिएको छ,–‘ शिक्षाजस्तो संवेदनशील विषयमा यति ठूलो आर्थिक दुरुपयोग हुँदा स्थानीय दमक नगरपालिका र शिक्षा हेर्ने जिम्मा पाएको शिक्षा समिति मौन रहनु खेदजनक छ । यस परिस्थितिमा अभिभावकसहितको विद्यालय व्यवस्थापन समितिको अभावमा यी सबै हिनामिना, दुरुपयोग, अनियमितता भईरहेको हुँदा हाल रहेको विद्यालय व्यवस्थापन समिति खारेज गरी कानुन अनुसारको विद्यालय व्यवस्थापन समिति निर्माण गर्न आग्रह गर्दछौं ।’
उक्त विद्यालयमा तीन हजार भन्दाबढी आधारभूत वर्गका छोराछोरीहरू अध्ययन गर्दै आइरहेका भएपनि विद्यालयले भने माध्यमिक तहसम्मको शिक्षा निःशुल्क हुनु पर्ने सरकारको नीति भएकोमा, विद्यार्थीहरूबाट मोटो रकम असुल गर्दै आइरहेकाले त्यस्ता कार्य समेत रोक गर्न माग गरेको विज्ञप्तिमा जनाईएको छ ।
हिमाविमा भएको आर्थिक भ्रष्टाचार छानविन गर्न विषयगत विज्ञसहित नागरिक स्तरको छानविन समिति बनाउन पनि माग गरिएको सचिव बस्नेतले बताए ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्