झापा , असोज १५ । नेकपा एमालेको विधान महाधिवेशन आजदेखि सुरु हुँदैछ ।

नेकपा विभाजन, सत्ताबाट बहिर्गमन र पार्टी विभाजनपछि पहिलो पटक एमालेको ठूलो भेला हुन लागेको हो ।
ललितपुरको गोदावरीमा तीन दिनसम्म हुने विधान महाधिवेशनले नयाँ राजनीतिक परिस्थितिमा पार्टीको नीति र विधि तय गर्ने एमालेले जनाएको छ ।
भेलामा करिब ६ हजार नेता कार्यकर्ता सहभागी हुँदैछन् । आउँदो मङ्सिरको दोस्रो हप्ताका लागि नेतृत्व चयनका लागि पार्टीको दशौँ राष्ट्रिय महाधिवेशन तय गरेको एमालेको विधान महाधिवेशनलाई समसामयिक राजनीतिक दलहरुमध्ये मौलिक विशेषताको भेला मानिएको छ ।
विधान महाधिवेशनको उद्घाटन पार्टी अध्यक्ष केपी शर्मा ओलीले गर्ने विधान महाधिवेशन मूल व्यवस्थापन समितिले जनाएको छ । उद्घाटन सत्रपछि महाधिवेशनको बन्दसत्रमा केन्द्रीय कमिटीको तर्फबाट अध्यक्ष ओलीबाट राजनीतिक प्रतिवेदन, महासचिव ईश्वर पोखरेलबाट सङ्गठनात्मक प्रस्ताव र उपमहासचिव एवं सङ्गठन विभाग प्रमुख विष्णुप्रसाद पौडेलबाट विधान संशोधन प्रस्ताव प्रस्तुत गरिनेछ ।

विधान महाधिवेशनको दोस्रो दिन भोलि समूह छलफल र समूह नेताबाट सुझावको प्रस्तुति गरिनेछ । तेस्रो दिन पर्सि १७ गते दस्ताबेज प्रस्तोताबाट समूह छलफलबाट आएका सुझाव एवं उठेका विषयलाई स्पष्ट पार्दै सारसंक्षेपीकरण गरिने एमालेले जनाएको छ ।
एमालेले विधान महाधिवेशनमार्फत पहिलो शक्ति नै बन्ने कार्यदिशा बनाउनुका साथै पार्टी छोडेका नेता कार्यकर्ता फर्काउने योजना पनि बनाएको छ । नेतृत्वमा ७० वर्षे उमेरहदलाई निरन्तरता दिने, प्रमुख कार्यकारी पदमा दुई कार्यकालभन्दा बढी बस्न नपाइने, पदाधिकारी प्रत्यक्ष निर्वाचित गर्ने, फरक मतलाई सकेसम्म राजनीतिक र साङ्गठानिक प्रतिवेदनमा समेटेर विभाजन रोक्ने लगायतको योजनासहित विधान महाधिवेशन अगाडि बढाएको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्