विराटनगर,असोज १९ । ३८ क्वीन्टल सुन तस्करी र सनम शाक्य हत्या प्रकरणमा चूडामणि उप्रेती (गोरे)सहित ६ जनालाई जिल्ला अदालत मोरङले जन्मकैदको फैसला सुनाएको छ।

जिल्ला न्यायाधीश भरत लम्सालको एकल इजलासले गोरेसहित मोहन काफ्ले, टेकराज मल्ल, लाक्पा शेर्पा, नरेन्द्र कार्की र भोजराज भण्डारीलाई जन्मकैदको सजाय सुनाएको हो । यस्तै, राजन कुमारलाई तीन वर्ष र मदनप्रसाद घिमिरेलाई ६ महिना कैद तोकिएको छ।

जिल्ला अदालत मोरङका श्रेस्तेदार टीकेन्द्रवीरजंग राणाले सुन तस्करी र सनम शाक्य हत्याका मुख्य आरोपी गोरेलाई अपहरण तथा शरीर बन्धकमा पनि सजाय तोकिएको जानकारी दिए। फरार २२ अभियुक्तको मुद्दा मुल्तबीमा राखिएको र अन्य आरोपीलाई भने अदालतले सफाइ दिएको उनले जानकारी दिए । गत आइतबार मुद्दाको अन्तिम सुनुवाइ सकिएको थियो।

प्रहरीका उच्च अधिकारीसहित ७७ जना प्रतिवादी

नेपाल प्रहरीका उच्च अधिकारीसहित मुद्दामा ७७ जना प्रतिवादी छन्। प्रतिवादीमध्ये ५५ जना पक्राउ परे पनि २२ जना अझै फरार छन्। मुद्दाका प्रतिवादीमा उच्च प्रहरी अधिकारी, तस्करीको सुनका लगानीकर्ता, त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल र विभिन्न एयरलाइन्समा कार्यरत कर्मचारी तथा गोरे समूहका सदस्यहरू रहेका छन्।

प्रहरीले सुन तस्करी एवं सनम हत्याका मुख्य अभियुक्त गोरे रहेका बताएको छ। उनकै योजना र धनाढ्य व्यापारीको लगानीमा सन् २०१५ जुलाईदेखि २०१६ अगस्टसम्ममा युएईको दुबईदेखि करिब ३८ क्विन्टल सुन तस्करी गरी नेपाल भित्र्याइएको अनुसन्धानबाट पत्ता लागेको प्रहरीले बताएका छन्।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा कार्यरत प्रहरी अधिकारीले भन्सारबाट सुन छिराउन सहयोग गरेका अनुसन्धानमा देखिएको प्रहरीले जनाएको छ। तस्करीको सुन भने अझै फेला परेको छैन सुन भारत पु¥याइएकाले फेला नपरेको बताइएको छ।

दुबईबाट तस्करी गरेर २०७४ माघ ९ गते नेपाल ल्याएको साढे ३३ किलो सुन गायब बनाएको आरोपमा गोरेको समूहले मोरङ उर्लाबारीका सनमको हत्या गरेको हो। २०७४ साल फागुन १८ गते करेन्ट लगाएर यातना दिँदै हत्या गरिएका उनको शव भोलिपल्ट विराटनगरबाट बरामद गरिएको थियो। सनम हत्याको अनुसन्धान गर्ने क्रममा गोरेको समूहले ठूलो परिमाणमा सुन तस्करी गरिरहेको पत्ता लागेको हो। सनम सुन तस्करका भरिया थिए।

घटनाको अनुसन्धान सकिएपछि जिल्ला अदालत मोरङमा २०७५ वैशाख १९ गते ‘आपराधिक समूह स्थापना र सञ्चालन गरी सुन चोरी पैठारी र चोरी निकासीको अवैध कारोवार, अपहरण तथा शरीर बन्धक र कर्तव्य ज्यान’ शीर्षकमा मुद्दा दर्ता गरिएको थियो। सरकारी वकिल कार्यालय मोरङले १७ अर्ब एक करोड ८० लाख ७१ हजार ४०० रूपैयाँ बराबरको ३७ लाख ९९ हजार ५६३ ग्राम (करिब ३८ क्विन्टल) सुन अवैध रुपमा आयात गरिएको भन्दै त्यही बराबरको बिगो मागदाबीसहितको मुद्दा दर्ता गरेको हो।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्