कमल, असोज १९ । कमल–५ स्थित लगनशील कृषि सहकारी संस्थाले आयोजना गरेको खुला रक्तदानमा ५१ पिन्ट रगत संकलन भएको छ ।

सहकारीले आफ्नो १४ औं साधारणसभाको अवसर पारेर बार्षिक कार्यक्रमअन्तर्गत हरेक बर्ष नियमित रुपमा रक्तदान कार्यक्रम गर्दै आएको र मंगलबार ६ महिलासहित ५१जनाले रगत दान गरेको संस्थाका सचिव भिष्मप्रसाद सिटौलाले बताए । यसरी रक्तदान गर्नेमा संस्थाका पूर्व अध्यक्ष समेत रहेका कमल ५ का वडाध्यक्ष डम्बरबहादुर निरौला,संस्थाका अध्यक्ष एलवी विष्ट ,व्यवस्थापक तिलक कार्की , सचिव सिटौला ,सञ्चालक, कर्मचारी तथा शेयर सदस्यहरु रहेका छन् । ।रक्तदाताहरुलाई कार्यक्रमका प्रमुख अतिथि वडाध्यक्ष निरौलाले प्रशंसापत्र वितरण गरेका थिए ।
संस्थाको कार्यालय प्राङ्गणमा जिल्ला सहकारी संघ भापाका पूर्व उपाध्यक्ष बलराम गजुरेल, सल्लाहकार समिति सदस्य अम्बरबहादुर कार्की, वडा समिति सदस्य गीता गजुरेललगायतको समेत उपस्थिति रहेको थियो । रक्तदान नेपाल रेडक्रस सोसाईटी दमक उपशाखाको रक्तसञ्चार सेवा केन्द्रको प्राविधिक सहयोगमा भएको थियो ।

साधारणसभा यही असोज २२ गते शुक्रबार हुँदैछ । ७ सय ६६ जना शेयर सदस्य रहेको सो संस्थाको गत आवको शेयर पूँजी २ करोड ३३ लाख ४६ हजार २ सय पुगेको छ । त्यस्तै, संस्थाले गएको आर्थिक वर्षमा १४ करोड ५७ लाख ४७ हजार ७ सय ७४ रुपैयाँ बराबरको कारोबार गरेको छ । संस्थाले सदस्यकेन्द्रीत बचत तथा ऋणबाहेक विगत केही वर्षदेखि दूग्ध डेरी सञ्चालन गरेको र हाल सो डेरीमा दैनिक २३७ पशुपालक किसानबाट करिव ७ सय लिटर दुध संकलन गरिरहेको साथै दुग्धजन्य वस्तुहरु विक्रीवितरण गर्दै आएको छ । आगामी दिनमा डेरी उद्योग संचालन गर्ने योजना रहेको पनि प्रतिवेदनमा जनाइएको छ । वार्षिक २ हजार लिटर दूध जम्मा गर्ने किसानको पशु बिमा संस्थाले नै गरिदिने गरेको योजना गरिएको छ । त्यसैगरी सो सहकारीले किसानहरुको सुविधा र हितलाई ध्यानमा राखी युरिया, डिएपी, पोटासजस्ता रासायनिक मल पनि सर्वसुलभ दरमा विक्रीवितरण गर्दै आएको व्यवस्थापक कार्कीले जानकारी गराए ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्