झापा, असोज २० । शिक्षासेवी एवं धिमाल समुदायका अगुवा नरेशमान धिमालले धिमाल जातिको जातीय परिकारसहितको होटल संचालन गर्ने भएका छन् ।

मेचीनगर–१३ चारआलीमा रहेको आर्यन प्लाजामा पूर्वी पहाडी जिल्लाका उपभोक्तासमेतलाई लक्षित गरी धिमाल र नेवारी परिकारसहित शुद्ध शाकाहारी खाना तथा खाजाका लागि ओदान स्वीट्स एण्ड भेज ग्यालरी संचालन गर्न लागेका हुन् । तयारी अबस्थामा रहेको सो खाजा घर भोलि घटस्थापनाबाट सञ्चालनमा आउने भएको हो ।

बिर्तामोड ५ स्थित टावर टेम्पल अंग्रेजी स्कूलका संचालक शिक्षासेवी धिमालले मंगलवार ओदान परिसरमा पत्रकार सम्मेलन गर्दै घटस्थापनाका दिनदेखि आफूले व्यवसायिक रुपमा खाजा घर सञ्चालनमा ल्याउन लागेको जानकारी दिए । जहाँ सुक्खा रोटी, तन्दुरी, सादा भात, दाल फ्राई, मटर पनिर, राज्मा तथा विभिन्न परिकारका हाइजेनिक खाना खान पाइने सञ्चालक धिमालले बताए । धिमाल समुदायका खाजा परिकार गेन्द्रो, तोले, पेरपेरी साथै पुरी, छोला, तरकारी, विभिन्न किसिमका मिठाइ ,कोदो र फापरको मम अर्गानिक खाजाका परिकार पसलमा उपलब्ध हुने बताइएको छ । समाजसेवीका रुपमा समेत परिचित उनी धिमाल जाति विकास केन्द्रका पूर्व केन्द्रीय उपाध्यक्ष हुन् । ३० लाख रुपैयाँको लागतमा शुरु हुन लागेको उक्त होटलमा नेपाली भेज खानाका परिकार, ग्राहकको माग अनुसार कोदोको ढिँडो पनि उपलब्ध हुने सञ्चालक धिमालले बताए । चारआलीस्थित आर्यन प्लाजा भवनको भुइँतलामा रहेको पसल बिहान ६ देखि बेलुका ८ बजेसम्म सञ्चालन रहने उनले बताए ।