बिर्तामोड , असोज २० । सैनिकमोडदेखि गोलधापसम्मको सडकका लागि आफ्नो पहलमा ल्याइएकोे बजेटको जश लिन खोज्ने सांसद राजेन्द्र लिङ्देनको नेपाली काँग्रेसले तीब्र आलोचना गरेको छ ।

काँग्रेसका नेता कार्यकर्ताहरुले दुख नगरी सितैमा जश लिने प्रयास नगर्न साँसद लिङ्देनलाई चेतावनी समेत दिएका छन् । बिर्तामोड १० मा बुधबार आयोजित पार्टी प्रवेश कार्यक्रममा बोल्दै नेता कार्यकर्ताहरुले काँग्रेसले ल्याएको बजेटमा उछिनपछिन गर्दै फेसबुकमा जश लिने कार्य बन्द गर्न चेतावनी दिएका हुन् । कार्यक्रमका प्रमुख अतिथि पूर्व जिल्ला उपसभापति तथा जिल्ला सभापतिका उम्मेद्वार देउमान थेबेले झापा क्षेत्र नं ३ र ४ का दुईजना साँसद सुतेर बसेको मान्छेलाई जुरुक्क उठाइदिने खालको भ्रामक प्रचार गर्न माहिर भएको आरोप लगाए । उनले ओली सरकारले सैनिकमोड गोलधाप सडकका लागि छुट्याएको २४ लाख बजेट कटौती गरी देउबा सरकारले ८ करोड दिएको स्पष्ट पारे । जिल्ला सदस्य जलकुमार गुरुङले फेसबुकमा उछिनपछिन नगरी जनताका लागि काम गरेर देखाउन साँसद लिङ्देनलाई सुझाव दिए । कार्यक्रमका अर्का वक्ता भूपाल बस्नेतले सैनिकमोडदेखि गोलधाप जाने बाटोमा भएको खाल्डाखुल्डीका कारण थुप्रै गाडीको सकप भाँचिएको, धेरैको ढाड दुख्ने समस्या देखिएको बताउँदै भने–‘बाटोका कारण धेरैको ढाड भाँचिएको छ, धेरै गाडी बिग्रिएका छन्, उहाँहरुले बनाउनु हुन्थ्यो भने ४ वर्षसम्म बजेट ल्याउन नसक्ने सांसदले कांग्रेसको पहलमा आएको बजेटमा हामीले ल्याएको भनेर भ्रम बाँड्नु लुटाहा प्रबृत्ति हो ।’ सैनिकमोडदेखि गोलधापसम्मको सडकका लागि ८ करोड बजेट भर्खरै विनियोजन भएको हो ।


कार्यक्रममा बिर्तामोड–१० स्थित चमरधापमा एउटा गाउँ नै कांग्रेसमा प्रवेश गरेको छ । नेपाली कांग्रेस वडा नं.–१० को आयोजनामा भएको पार्टी प्रवेश तथा शुभकामना आदानप्रदान कार्यक्रममा चमरधाप टोलका ५२ बढी नेकपा एमालेसहित अन्य पार्टी परित्याग गरी कांग्रेसमा प्रवेश गरेका हुन् ।
नवप्रवेशीलाई नेपाली कांग्रेस झापाका पूर्व उपसभापति एवं १४ औं महाधिवेशनका लागि उम्मेद्वार थेवेले पार्टी सदस्यता प्रदान गर्दै अविर र खादा लगाएर स्वागत गरेका थिए । दुई पुस्तादेखि एमालेमा सक्रिय रहेका अरुण लिङ्खिम राईले आफ्नो ८ जनाको परिवार नै कांग्रेसमा प्रवेश गरेको बताए । ‘केपी ओली, देवी ओझालाई जिताएर पठायौं उनीहरुले यहाँको विकासका लागि केही गरेनन्’–उनले भने –‘फेरि कम्युनिष्ट र राप्रपाको चुनावी सहकार्य भएपछि पुनः राजेन्द्र लिङ्देनलाई जिताएर पठायौं उनले पनि केही गरेनन् ।’ उनीहरुले भ्रमको राजनीति मात्र गरे अनि कति कम्युनिष्टको भारी बोक्नु भनेर कांग्रेसमा प्रवेश गरेको उनले बताए ।
उनले आफ्ना अगाडिको सैनिक बजार–गोलधाप–चक्लाधाप–रामपुर–सुन्दरपुर हुँदै हुलाकी मार्गसम्म जोडिने बाटोलाई देखाउँदै भने–‘यो बाटोमा शेरबहादुर देउवा प्रधानमन्त्री भएपछि नेपाली कांग्रेस प्रदेश क्षेत्रीय सभापति नवीन विमलीको नेतृत्वमा गएको डेलिगेशनपछि बजेट छुट्टिएको छ । तर एमाले र राप्रपाहरु हामीले बजेट ल्याएको भन्दै भ्रम बाँड्दैछन् । भ्रमको राजनीति बुझेर कांग्रेसमा प्रवेश गरेका हौं । हामीले यही हाम्रो भविष्य देख्यौं ।’ संगै रहेकी सिर्जना राई, दिपेन राई र प्रकाश पाण्डेले पनि समर्थन जनाए ।
शिक्षण पेशामा रहेका प्रकाश पाण्डेले वी.पी.को समाजवादी दर्शनबाट प्रभावित भएर आफू कांग्रेसमा आवद्ध भएको बताए । हालसम्म कुनै पार्टी संगठनमा आवद्ध नभएका उनले भने–‘४ वर्षसम्म कम्युनिष्टले सरकार चलाए पनि विकासका कुनै काम गरेनन् । सरकार सञ्चालनमा समेत लोकतान्त्रिक चरित्र देखाएनन् , त्यसकारण कांग्रेसमा प्रवेश गरेको ।’ उनीहरुसंगै चमरधाप टोलका ५२ जना कांग्रेसमा प्रवेश गरेका छन् ।
सैनिक बजारदेखि गोलधाप हुँदै हुलाकी मार्गसम्म पुग्ने बाटोमा भएको अस्वस्थ राजनीति र छरिएको भ्रमकै कारण सो टोलबासी नै कांग्रेसमा प्रवेश गरेका हुन् । बाटोको पृष्ठभूमिबारे बताउँदै बिर्तामोड नगरपालिका वडा नं.–१० का वडाध्यक्ष दुर्योधन गुरुङले भने–‘शेरबहादुर देउवा प्रधानमन्त्री भएपछि नवीन विमलीको नेतृत्वमा होम चुडाल, म, तुलसी ओली, भूपाल बस्नेतलगायतको टोली डेलिगेशन गयौं, काठमाडौं पुगेर कृष्ण सिटौलालाई भेटेर उहाँमार्फत नै अर्थमन्त्रालयमा पुग्यौं सोही डेलिगेशनपछि भौतिक पूर्वाधार मन्त्रालयबाट सडक विभागमार्फत आठ करोड बजेट छुट्टिएको हो ।’
६१ करोडको उक्त योजना रातो कितावमा लेखिइसकेको र पहिलो चरणमा आठ करोड बजेट छुट्टिएको उनले जानकारी दिए । कार्यक्रममा नेपाली कांग्रेस बिर्तामोड नगर सभापति भोजराज सिटौलाले पनि बोलेका थिए । कांग्रेस झापाका सल्लाहकार तुलसी ओली, क्षेत्र नं.–३ प्रदेश ख का सभापति नवीन विमली, नेपाल प्रेस युनियन झापाका अध्यक्ष इन्दु पूर्वेली, नेविसंघ केन्द्रीय सदस्य सन्तोष उप्रेतीलगायतको सहभागिता रहेको कार्यक्रम वडा सभापति मदन गुरुङको सभापतित्वमा सम्पन्न भएको थियो । वडा सचिव खेमराज राई (अर्जुन) ले स्वागत गरेको कार्यक्रमको सञ्चालन भवानी पाण्डेले गरेका थिए ।

2 वटा प्रतिक्रिया

  1. Haiti hara kangress afno extra KO samsad grihamantri Huda k lati KO Papa hetera baseki thiyo ani while aayena vusyha kukur jasto vukna laai

  2. Huti hara kangress afno xetra KO samsad griha mantri Huda k lati KO Papa herera baseoi thiyo ani ahile aayera vusyha kukur jasto vukna laai…..

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्